ब्लगशनिवार, आश्विन १, २०७३

'कर्णाली लोक संस्कृति' को गुणगरिमा

कमलमणि दीक्षित

पाँच जना विद्वानको संयुक्त प्रयासबाट आएको 'कर्णाली लोक संस्कृति' ले कुनै क्षेत्रको अध्ययन अथवा सर्वेक्षण कसरी गर्नुपर्छ भन्ने बाटो समेत देखाएको छ।

२०१३ सालको मदन पुरस्कार 'हाम्रो लोक संस्कृति' ले पाएपछि सत्यमोहन जोशीजी अकस्मात् संस्कृतिविद् भनेर चिनिन थाल्नुभएछ। तत्कालीन श्री ५ को सरकारले नयाँ बनाएको संस्कृति विभागमा उहाँ पहिलो डाइरेक्टर भएर सरुवा–बढुवा हुनुभयो। तर, त्यहाँ गएर गर्ने के हो भन्ने नबुझेर सत्यमोहनजी तत्कालीन गृहमन्त्रीकहाँ सोध्न जानुभएछ।

मन्त्रीजीले उल्टो उहाँलाई नै भन्नुभयो रे, “तपाईंले संस्कृतिमा मदन पुरस्कार पाएको होइन? तपाईं नै भन्नुस् न के के गर्नुपर्छ त्यहाँ?” मन्त्रीको त्यो भनाइ भविष्यवाणी नै भैदियो, त्यसपछि त सत्यमोहनजी नेपाली संस्कृतिका विशेषज्ञ नै बन्न पुग्नुभयो।

त्यसको प्रत्यक्ष प्रमाण हो– 'कर्णाली लोक संस्कृति', आजको हाम्रो 'पुस्तक सम्पदा' को विषयवस्तु बन्नु।

हुन त, यो सत्यमोहनजीको मात्र कृति होइन। उहाँ बाहेक अरू चार जनाको पनि उत्तिकै योगदान छ यसमा। एउटा–एउटा विषय एक–एक जनाले समातेर यो पुस्तक तयार भएको छ, सामूहिक रूपमा।

पहिलो भाग सत्यमोहनजीले लेख्नुभएको छ, त्यहाँको इतिहास र त्यसले सिर्जेको संस्कृतिबारे विस्तृत विवेचना गरेर। दोस्रो भाग स्थिरजङ्गबहादुर सिंहको हो। त्यसमा भूगोल समेटिएको छ। तेस्रो भागका लेखक हुन्– बिहारीकृष्ण श्रेष्ठ।

बिहारीजीले त्यहाँको नृवंशीय (एथ्नोलोजिकल) अध्ययनका साथै सामाजिक विधि–व्यवहारको विश्लेषण गर्नुभएको छ।

चौथो भागमा डा. चूडामणि बन्धुले कर्णाली भेकको भाषा र साहित्यको विवेचना गर्नुभएको छ भने पाँचौं भागको जिम्मा गायक प्रदीप रिमाललाई दिइएको छ।

उहाँले त्यहाँ प्रचलित चाडपर्वका गाना–बजाना, गीत, लय र तालहरू हेरिबुझी, केलाई तिनको संरक्षण कसरी गर्न सकिन्छ भनेर सुझाउने अभिभारा पाउनुभएको देखिन्छ। त्यो काम उहाँले आफ्नो बुद्धि–बर्कतले भ्याएसम्म गर्नुभएको छ।

'कर्णाली लोक संस्कृति' का यी पाँचै भाग एकमुष्ट हाम्रो 'पुस्तक सम्पदा' हुन्। त्यस पुस्तकको आयोजना नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले गरेको हो। त्यसका संयोजक त्यहाँका सदस्यसचिव सत्यमोहन जोशीलाई बनाइएको छ।

प्रज्ञा प्रतिष्ठान भनेको नेपालको साहित्य तथा संस्कृति क्षेत्रको शिरताज निकाय हो, ती सबको संवाहक तथा संरक्षक। तर, प्रतिष्ठान निर्जीव भएकाले आफैं केही गर्न सक्दैन, कसैले त्यसलाई संचालन गर्नुपर्छ। त्यस बेला सदस्यसचिव भएका नाताले त्यो संचालन गर्ने कार्यको जिम्मा सत्यमोहनजीलाई सुम्पिएको थियो।

उहाँकै योजनामा निर्माण भएको थियो कर्णाली क्षेत्रको 'इन–डेप्थ' अध्ययन गर्ने ६ महीने अभियान। अध्ययन टोलीको चयन पनि उहाँले नै गर्नुभयो प्रत्येक जनाको ज्ञान र गुणको ख्याल राखेर। त्यस बखतमा नेपालमा प्राप्य तत्तत् विषयका विशेषज्ञहरूको समूह थियो त्यो। त्यस बेला त्योभन्दा बढिया समूह गठन गर्न सकिंदैनथ्यो होला।

'कर्णाली लोक संस्कृति' सारै लोकप्रिय भएर अथवा धेरै बिकेर यस स्तम्भमा छिरेको होइन, यसको गुणगरिमा अर्कै प्रकारको छ। यो किताब पथप्रदर्शक हो।

कुनै क्षेत्रको अध्ययन अथवा सर्वेक्षण कसरी गर्नुपर्छ भन्ने बाटो यसले देखाएको छ। त्यस्ता कुराको योजना बनाउनेदेखि कैले, कल्ले के–के गर्ने (क्यालेण्डर अफ अपरेसन) भन्नेसम्मका समयबद्ध तालिका बनाएर चल्ने ज्ञान दिन्छ। त्यस हिसाबले नेपाली किताबहरूको संसारमा यो ग्रन्थ एउटा माइलखुट्टी नै हो, हाम्रो 'सम्पदा' हो।

भनिदिएर पुग्दैन, प्रमाण पनि दिनुपर्छ। पाँच जना विज्ञ विद्वानहरूको संयुक्त प्रयास हो यो ग्रन्थ भनिसकियो, पाँचओटा पुस्तकहरूको सम्मिलन। ती पाँचै पुस्तक समान स्तरीय छन्? भन्ने प्रश्न स्वतः उठ्छ। त्यस प्रश्नको उत्तर पनि उसै बेला दिइसकेको रहेछ मदन पुरस्कार गुठीले।

२०२८ सालको मदन पुरस्कार 'कर्णाली लोक संस्कृति' ले पाएको हो, पाँचमध्ये कुनै एउटा पुस्तकले होइन। उहाँहरू पाँचै जना संयुक्त रूपमा सम्मानित हुनुभएको थियो, त्यस साल। पाँचै जनाले एकैनासे प्रमाणपत्र पाउनुभएको र पुरस्कारको रकम पनि पाँचै जनामा बाँडिएको थियो समान रूपले।

त्यस पुरस्कार समारोहमा बालकृष्ण सम तथा राजेश्वर देवकोटा जस्ता विद्वानरुहरूले किताबको प्रशंसा गर्नुभएको थियो। अनि पाँचै जना 'ब्यौला' हरूको प्रतिनिधि भई सत्यमोहनजीले बोल्नुभएको थियो। त्यहाँ अरू कुराका अतिरिक्त त्यस ग्रन्थको जन्म–कथा बताउनुभएको थियो र आफ्नो प्रवचन टुंग्याउँदै भन्नुभएको थियो, “यो पुस्तकको नाम सम्पूर्णमा 'कर्णाली लोक संस्कृति' भए पनि वास्तवमा यो नेपाली संस्कृतिकै एक ज्वलन्त उदाहरण भएको छ किनभने यो नेपाली मात्रको साझा सम्पत्ति हो।”

समयाभावले हामी ती पाँचै ओटा पुस्तकको बखान यहाँ गर्न सक्दैनौं तर एक–दोटाका बारेमा अलिकति कुरा उदाहरणका रूपमा भनिहालौं। जस्तो, स्थिरजङ्गबहादुरजीको किताबमा त्यहाँको भूगोल जसरी वर्णित छ त्यो मौलिक छ, पुरानो नेपालमा त्यसैगरी बताइन्थ्यो भौगोलिक अवस्थिति। भनूँ न त्यो मौलिक नेपाली 'ओरल जोग्राफी' हो!

अर्को एउटा कुरा गर्‍यो यस किताबले उसै बेलादेखि। त्यसको भने श्रेय जान्छ बिहारीकृष्ण श्रेष्ठजीलाई। उहाँले सिंजा उपत्यकामा दुई–तीन सय वर्षदेखि चलिआएको 'जचौरी कुलो' को सामूहिक निर्माण व्यवस्था अध्ययन गरेर लेख्नुभएको परिच्छेदले वन उपभोक्ता समूह, आमा–समूह जस्ता सत्प्रयासको थालनी गरेको हो।

त्यो हामीले मान्नुपर्छ र त्यसका लागि 'कर्णाली लोक संस्कृति' र बिहारीकृष्णजीलाई जश दिनुपर्छ।

प्रतिकृया दिनुहोस