समाचारबुधवार, आश्विन २५, २०७४

न्यायालयबाट न्याय हराउँदैछः डा केसी

हिमालखबर

स्वास्थ्य क्षेत्र सुधारका लागि अनशनरत डा.गोविन्द केसीले न्यायपालिकाबाट पनि न्याय हराउन थालेको बताएका छन् ।

सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको अनशन बसिरहेका डा.केसीले न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्नु पर्ने बताए ।

उनले भने, “न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुुनुपर्ने न्यायपालिकाका न्यायकर्ताले हाकिम बनेर शासन गर्न हो भने न्याय खोज्न जनता कहाँ जाने ?”

डा.केसीले आफूले सदैव चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सबै नेपालीका लागि सहज हुनुपर्छ भनेर चिकित्सकका हैसियतमा लडाइँ लडिरहेको बताए ।

उनले सरकारका सबै अंगलाई सम्मान गर्ने भन्दै त्यसलाई सञ्चालन गर्ने राजनीतिक व्यक्ति र राजनीतिक दलले खराब बनाएको आरोप लगाए ।

डा. केसीले संशोधनसहित तत्काल चिकित्सा शिक्षा विधेयक पारित गर्न अनुरोध गरेका छन् । आउदो ४ कात्तिकमा व्यवस्थापिका संसद्को कार्यकाल सकिदैछ ।

डा.केसीले अनसन थालेको छैटौँ दिनसम्म सरकारका तर्फबाट कुनै किसिमको प्रतिक्रिया आएको छैन । रासस

प्रतिकृया दिनुहोस