कला/साहित्यबुधवार, आश्विन २५, २०७४

काठमाडौंमा जाजमाण्डु उत्सव

सृजना श्रेष्ठ

संगीतका लागि एशियाकै उत्कृष्टमध्येको मानिने ‘सूर्य नेपाल जाजमाण्डु’ उत्सवको १५औं संस्करण २६ असोजदेखि उपत्यकामा हुने भएको छ । सातदिने यो उत्सवमा विश्वभरका प्रतिभावान जाज संगीतकर्मीहरु उपत्यकामा भेटिनेछन् ।

पालुस जाज प्रोजेक्ट, अमेरिका ।

जाजमाण्डुमा यो वर्षको विशेष आकर्षण चर्चित जाज गायिका जुलिया सार क्वारतेतको उपस्थिति हुनेछ । सेनेगलमा बाल्यकाल बिताएकी फ्रान्सेली जुलियाको स्वरलाई दक्षिण अफ्रिकाको ताजा र आधिकारिक स्वरका रुपमा लिइन्छ ।

यसका साथै स्वीट्जरल्याण्ड, माली, नेपाल र अमेरिकाका संगीतकर्मीको व्याण्ड फिल्ट्रोन एम (नेपामाली), फ्रान्सको इलेक्ट्रिप, जर्मनीको सामुएल वुटन ‘टोय स्टोरी’, अमेरिकाको पालुस जाज प्रोजेक्ट, अमेरिकी कलाकार डेभिड पारान्तेको साथ पाएको थाइल्याण्डको तेरापोज प्लिटाकुल ट्रिओ छन् । यसबाहेक नेपालका र रविन लाल ट्रिओ, गन्धर्वज्, काडेन्जा कलेक्टिभ र कान्ता डब डबले आफ्नो प्रस्तुति दिनेछन् ।  

जुलिया सार क्वारतेत, फ्रान्स ।

जाजमाण्डुमा पहिलो पटक सहभागी हुने तयारी गरिरहेका पालुस जाज प्रोजेक्टका एलन ग्याम्बरलिङ काठमाडौंको प्रस्तुतिलाई लिएर आफू उत्साहित भएको बताउँछन् । ”यो संगीतसँगै नेपाली संस्कृति जान्ने अभूतपूर्व अवसर हो”, उनी भन्छन् ।

काडेन्जा कलेक्टिभ, नेपाल ।

सन् २०१२ को जाजमाण्डुमा पनि सहभागी थाइल्याण्डका तेरापोज प्लिटाकुल नेपालको माया मार्न नसकेर नै आफू पुनः जाज उत्सवमा भाग लिएको बताउँछन् । “वास्तविक संगीत सुन्ने एशियाकै उत्कृष्टमध्येको यो उत्सव साँच्चै नै अद्भुत अवसर हो”, उनी भन्छन् ।

फिल्ट्रोन एम (नेपामाली) । स्वीट्जरल्याण्ड/माली/अमेरिका ।

सन् २००२ मा काठमाडौं जाज फेस्टिभलका नामबाट थालिएको उत्सव विस्तारै जाजमाण्डु नामले चर्चित बनेको थियो । काठमाडौंको द जाज अपस्टेयर्स बारका छेन्डुप बम्जन र ड्रमर नवीन क्षेत्रीको सक्रियतामा स्थापित यो उत्सव आरम्भताका काठमाडौंस्थित फ्रान्सेली केन्द्र (एएफके) का विद्यार्थीका लागि मात्र केन्द्रित गरिएको थियो । “यो उत्सवले अन्तर्राष्ट्रिय कलाकारलाई मात्र भेला पारेको छैन, नेपाली प्रतिभा उत्पादनमा पनि सहयोग पु¥याइरहेको छ”, स्थापनाकालदेखि नै उत्सवलाई सहयोग गरिरहेको एएफकेकी निर्देशक भेरोनिक बिकिया भन्छिन् ।

रविन लाल ट्रिओ,नेपाल

 

प्रतिकृया दिनुहोस