समाचारसोमवार, आश्विन २३, २०७४

लेखक जगदीश शम्शेर राणाको निधन

हिमालखबर

लेखक तथा नेपाली कला–संस्कृति र पुरातत्वका ज्ञाता जगदीश शम्शेर राणाको आज, २३ असोज दिउँसो निधन भएको छ ।

८६ वर्षीय राणाको भारतको चण्डिगढ अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतबाट थाहा भएको छ । केही महिनाअघि हृदयघात (माइल्ड स्ट्रोक) भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

‘नरसिंह अवतार’ नामक ग्रन्थका लागि २०३७ सालको मदन पुरस्कार प्राप्त गरेका राणाको २०६० सालमा प्रकाशित आख्यान ‘सेतो ख्याक’ पनि चर्चित भएको थियो ।

लामो समयदेखि भारतको सिमला, मसोब्रामा बस्दै आएका राणा बर्सेनी नेपाल आउँथे । नेपालको संस्कृति, कला लगायतका क्षेत्रको विकासका लागि केही परियोजनामा काम गरिरहेका राणाको निधनले अपूरणीय क्षति पुगेको उनी निकटका लोचन रिजाल बताउँछन् ।

राणाले भूकम्पपछि काभ्रेपलाञ्चोकको थाक्लेलाई पर्यटकीय गाउँको रुपमा विकास गर्ने योजनाअनुरुप काम अगाडि बढाउँदै थिए । त्रिपुरेश्वरको शिव मन्दिरलाई पुनःनिर्माण गरी त्यहाँ परम्परागत कला र संगीत प्रतिष्ठान स्थापना गर्ने योजनालाई पनि उनले अगाडि बढाएका थिए । नेपालमा संगीत विश्वविद्यालय खोल्ने पनि उनको धोको थियो ।

भारतमा रहँदा पनि राणा सँधै नेपालबारे चिन्तन गरिरहन्थे, भारतीय सभ्रान्त समाज र राजनीतिज्ञमाझ राम्रो पहिचान बनाएका राणा त्यहाँ पनि नेपालको संस्कृति, कला र सभ्यताका पक्ष दृढतापूर्वक राख्थे ।

उनका डान्सेस अफ भक्तपुर, दश दृष्टिकोण , साठी वर्ष अघि र पछि, महाकवि देवकोटाको वैचारिक पक्ष, काव्यको रचनामा शिल्पकारिताको भूमिका लगायतका कृति साथै थुप्रै फुटकर रचना प्रकाशित छन् ।

पछिल्लो समय उनले नेपालको कला, संस्कृति र सामाजिक क्षेत्रका विषय समेटेर ‘अनफूलफिल्ड ड्रिम्स’ नामक कृति लेखिरहेका थिए ।

तत्कालीन गोरखा परिषद (राजनीतिक दल) बाट राजनीति थालेका राणा २०५१ सालमा राष्ट्रियसभा सदस्य समेत भएका थिए ।

राणाप्रधानमन्त्री चन्द्र शम्शेरका पनाति जगदीश शम्शेर शिक्षाविद् मृगेन्द्र शम्शेर राणाका छोरा हुन् । उनका एक छोरा र तीन छोरी छन् ।

उनको २४ असोज मध्याह्न १२ बजे चण्डिगढकै सेक्टर–२५ स्थित घाटमा अन्त्येष्टि गरिने तय भएको छ ।

* सच्याइएको ।

प्रतिकृया दिनुहोस