रिपोर्टसोमवार, आश्विन २३, २०७४

सिद्धबाबाः बेवास्ताको पहिरो

हिमालखबर

दीपक ज्ञवाली, बुटवल
सिद्धबाबा क्षेत्रमा पहिरोमा परी वर्षेनि यात्रुहरू ज्यान गुमाइरहेका छन्, तर सरकार रत्तिभर जवाफदेही देखिन्न । 

तस्वीरहरु: दीपक ज्ञवाली

गुल्मी, बलेटक्सारका तिलकराम भण्डारी (५१) लाई दशैंसँगै छोराको विवाहको चटारो थियो । ७ असोजमा दशैं र विवाहका लागि एकैपटक सामग्री जोहो गर्न श्रीमती राधिकासँगै बुटवल आउने क्रममा उनको ‘रिजर्भ’ कार अचानक सिद्धबाबा मन्दिर क्षेत्रको पहिरोमा पर्‍यो । ढुंगे पहिरोमा भण्डारी र चालक यमलाल ज्ञवालीको मृत्यु भयो ।

त्यही दिन सिद्धबाबाकै पहिरोमा परी ना ३ ख ६१९१ को ट्रकमा सवार तिनाउ गाउँपालिका पाल्पाका माधव राना (२८) ले पनि ज्यान गुमाए ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चिडिया खोलाबाट पाल्पा दोभानसम्मको सात किलोमिटर सडकखण्डलाई पहिरोको जोखिम क्षेत्र मानिन्छ । त्यसमा पनि दोभानस्थित सिद्धबाबा मन्दिर वरपरको तीन किलोमिटर क्षेत्र सबैभन्दा खतरनाक रहँदैआएको छ । पानी परोस् वा घाम लागोस्, यहाँ पहिरो झरिरहन्छ ।

पहिरोकै कारण दशैंको कुनै दिन पनि यो सडक राम्ररी खुलेन । हरेक दिनजसो पहिरो खस्यो । तीन जनाको त मृत्यु नै भयो भने, १३ जना घाइते भए । दर्जनभन्दा बढी सवारी साधनमा क्षति पुग्यो । प्रहरी र स्थानीय पहिरो पन्छाउन लागिपरेका छन् । सयौं यात्रु कहिले बाटो छिचोल्ने भन्ने प्रतीक्षामा देखिन्छन् । पहिरो क्षेत्रमा सवारी व्यवस्थापन गर्न निकै सकस परिरहेको छ ।

पहिरोको पर्याय बनेको तीन किलोमिटरको यो सडकखण्डमा वर्षेनि यात्रुहरूले ज्यान गुमाइरहेका छन् । पहिरोमा थुप्रै जीप, बस र मोटरसाइकल पनि पुरिएका छन् । पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बञ्जाडे संघका दर्जनभन्दा बढी बस कामै नलाग्ने गरी पहिरोमा पुरिएको बताउँछन् ।

पहिरोले नदीमा खसालेका कतिपय सवारी साधन त अझैसम्म फेला पनि परेका छैनन् । २०५० सालमा सिद्धबाबाको झ्रनामा धुँदै गर्दा पहिरोले सोहोरेर तिनाउ नदीमा पुर्‍याएको बस अहिलेसम्म हराइरहेको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–तानसेन खण्डको सिद्धबाबाहुँदै दैनिक सानाठूला झ्ण्डै पाँच हजार सवारी साधन गुड्छन् ।

कुरैमा सीमित विकल्प
‘मृत्यु मार्ग’ का रूपमा बदनाम सिद्धबाबा क्षेत्रको यो सडक खण्डको विकल्प नभएको भने होइन । तर, सरकारी निकायमा देखिएको हदैसम्मको लापरबाहीले यात्रुको मृत्यु ‘स्वाभाविक’ बनिरहेको छ । सिद्धबाबाको बाटोको विकल्पमा तीन वटा अन्य बाटो प्रयोग गर्न सकिन्छ, सुरुङ्ग मार्ग पनि बनाउन सकिन्छ । तर, ती बाटामध्ये कतिको काम थालिएकै छैन । थालिएका पनि ढिलासुस्तीले थलिएका छन् ।

सिद्धबाबा सडकको सट्टा बेलवासहुँदै नुवाकोट–झुम्सा जोड्ने शान्ति मार्गको निर्माण गत वर्ष नै सकिनुपर्ने थियो । जंगलको शान्त सडक हँुदै सिद्धार्थ राजमार्गमा जोडिने भएकै कारण सडकको नाम शान्तिमार्ग राखिएको हो । तर, रु.१३ करोड लागतको सडकको काम १० प्रतिशत मात्र सकिएको छ ।

“मान्छेको ज्यान गएको गयै छ, तर ठेकेदार र सडक विभागको लापरबाही उस्तै छ”, पूर्व उद्योगमन्त्री एवं पाल्पा–२ का सांसद् सोमप्रसाद पाण्डे भन्छन् । यो बाटोसँगै जोड्न गत पुसमा दोभान खोलामा पुलको शिलान्यास भएको थियो । त्यसको काम पनि सुस्त छ ।

जोखिम क्षेत्र छल्न रूपन्देहीको खैरेनीबाट गोठादी, झ्डेवाहुँदै पाल्पाको बाँसटारीस्थित राजमार्गमा जोड्ने सडक, र चरंगेबाट ज्यामिरेहुँदै झ्ुम्सा जोड्ने सडकलाई पनि विकल्पका रूपमा हेरिएको छ । तर, यी कुरैमा सीमित छन् । “यी लामा बाटाभन्दा व्यावहारिक सुरुङ्ग मार्ग नै हो”, पाण्डे भन्छन् ।
पाण्डेकै पहलमा सडक बाटोको विकल्पमा केपी ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा सुरुङ्ग मार्ग अध्ययन र निर्माणका लागि रु.५ अर्ब बजेट विनियोजन गरेको थियो । तर, सरकार परिवर्तनसँगै सुरुङको कुरा पनि सेलाएको छ । “अहिले त त्यो बजेट नै देखिंदैन”, पाण्डे भन्छन् ।

सिद्धबाबा पहिरोबाट बच्न ‘रकफल—रकनेट’ प्रविधि पनि प्रयोग गर्न सकिने भूगर्भविद् डा. रञ्जनकुमार दाहाल बताउँछन् । दाहालले यससम्बन्धी स्थलगत अध्ययन समेत गरिसकेका छन् । पाइलट परीक्षणका लागि २७ वर्गमिटर चौडाइ र १२० वर्गमिटर लम्बाइमा संरचना समेत बनेको छ । नेपालमा अन्त कतै प्रयोग नभएको यस्तो विधि पहिरो रोक्न सफल हुने दाहालको तर्क छ ।

विकल्पबारे वर्षौंदेखि कुरा गरिरहे पनि कुनै प्रगति नभएकोमा स्थानीयवासी चिन्तित छन् । “सिद्धबाबा क्षेत्र भोट मागिखाने भाँडो भएको छ” तिनाउ गाउँपालिका, दोभानका राजेन्द्र थापा भन्छन्, “दिनदिनै मानिस पुरिंदा पनि कसैको मन पोल्दैन ।”

सांसद् पाण्डे भने सरकारले बेवास्ता गरेका कारण अब आफू अनशन बस्ने तयारी गरिरहेको बताउँछन् । “जनधनको क्षति रोक्न संकल्प नै गर्नुपर्छ भन्ने लागेको छ, काम अघि नबढे अनशन बस्नेछु”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस