अन्तर्वार्ता/विचारसोमवार, आश्विन २३, २०७४

‘लिग नहुँदा राष्ट्रिय टीम कमजोर’

हिमालखबर

दुई दशकदेखि मनाङ मस्र्याङ्दी क्लबलाई प्रशिक्षण दिइरहेका छिरिङ लोप्साङले पहिलो पटक राष्ट्रिय टोली यू–१८ को कमान समाल्ने मौका पाएका थिए, यहि वर्ष । ११ असोजमा यू–१८ साफ च्याम्पियनसिपको उपाधि भित्र्याएपछि एएफसी यू–१९ च्याम्पियनसिप छनोटको तयारीमा जुटेका प्रशिक्षक लोप्साङ भन्छन्, “देशको प्रतिनिधित्व गर्दा गौरव त महसूस हुन्छ नै ठूलो भारी बोकेजस्तो हुँदोरहेछ।”

भूटानसँग हार्यौं, भारतलाई हराएर उपाधि जित्यौं । युवा टोली बलियो भएको हो कि अरु कमजोर भएका हुन् ?
भूटानसँगको हारलाई लिएर युवा टोली कमजोर छ कि भनेर शंका गरिएको होला । त्यो खेलमा हामीले ५/६ गोल गर्नुपर्थ्यो, चुक्यौं । फूटबलमा यस्तो भइरहन्छ । तर, हामी भन्दा बलिया देशलाई पनि हरायौं । कमजोर भए त उपाधि जित्ने थिएनौं । हाम्रो युवा टोलीमा सुधार आएको छ, विगतको भन्दा बलियो छ ।

यस्तै एक–दुई प्रतियोगिता जित्दा राष्ट्रिय टोलीको पनि खूब प्रशंसा गरिएको थियो, अहिले त हालत देखियो नि !
जुन रुपमा हामीले प्रगति गर्नुपथ्र्यो, भएन । हामीसँगैका अरु देशले धेरै प्रगति गरिसकेका छन् । राष्ट्रिय टोली कमजोर नै छ । प्रशंसा अनुरुप काम पनि गर्नुपर्छ । त्यसका लागि एक–डेढ महीनाको प्रशिक्षणले कुनै पनि टोली बलियो हुँदैन, नियमित प्रशिक्षण हुनुपर्छ ।

लिग प्रतियोगिता नहुँदा कति फरक परेको छ ?
फूटबलको मेरुदण्ड भनेकै लिग प्रतियोगिता हो । लिगमा नयाँ खेलाडी आउने र पुरानाले आफूलाई सुधार्ने मौका पाउँछन् । राष्ट्रिय टोली कमजोर हुनुको पहिलो कारण लिग प्रतियोगिता नहुनु हो । लिग नहुँदा नयाँ खेलाडी आउन पनि सकेनन् । स्थिति यस्तै रहे अब राष्ट्रिय टोलीमा खेलाडी अभाव हुन्छ । यसले झन् कमजोर बनाउँछ । लिग प्रतियोगिता नगरी नहुने भइसकेको छ ।

युवा टोलीमा एन्फा एकेडेमीको उत्पादनले कत्तिको भरथेग गरेको छ ?
एन्फा एकेडेमीमा रहने भनेको १५ वर्षसम्म मात्रै हो । त्यसपछि आफैं खेल्छन् । अहिलेको युवा टोलीमा पनि बाहिरकै खेलाडी धेरै छन् । त्यहाँबाट आएका पनि दुई वर्ष त अन्य क्लबहरुमा आफैं खेलेर बसेका छन् । त्यसैले युवा टोलीमा एन्फाको भरथेग भन्न गाह्रो छ । यो टोलीका खेलाडीहरु गत जेठमा भएको ललित स्मृति यू–१८ प्रतियोगिताबाट छानिएका हुन् ।

युवा टोलीबाट कत्तिको आशावादी हुनुहुन्छ ?
यू–१८ साफ च्याम्पियनसिप खेलेको टोली नै ७–२२, कात्तिकमा यू–१९ एएफसी च्याम्पियनसिप छनोट प्रतियोगिता खेल्दैछ । घाइते भएका तीन/चार जना फेरबदल होलान् । २२ असोजदेखि बन्द प्रशिक्षण शुरु गर्छौं । हाम्रो समूहका अन्य देशहरु प्राविधिक रुपमा पनि बलिया छन् । दशैंका बेला यू–१८ टोलीको तर्फबाट साफ च्याम्पियनसिपको उपाधि उपहार भयो । अर्को उपहारको आशा त गर्नै प¥यो नि !

प्रतिकृया दिनुहोस