समाचारआइतवार, आश्विन २२, २०७४

छैन पोलियो विरुद्धको खोप

हिमालखबर

पोलियो विरुद्धको खोप इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाउन गत साउनमा झपाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएका ६१ शिशुलाई खोप नलगाई फर्काउनुपर्‍यो । “माथिबाटै खोप आएको छैन, कहिले आउँछ पनि थाहा छैन”, केन्द्रकी अनमी गीता मगराती भन्छिन् ।

धेरैलाई थाहा नहुन सक्छ, तर झापामा गत साउन मात्र होइन, एक वर्षदेखि नै यो खोप आएको छैन । झापामा मात्र होइन, पूरै देशभर नै आईपीभी खोप छैन । तर, स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई खोप अभावको कुनै जानकारी दिएको छैन । शिशु नौ महीना पुगेपछि दिइने यो आईपीभी अन्तिम खोप मानिन्छ ।

जनस्वास्थ्य कार्यालय झापाका अनुसार, राष्ट्रिय खोप तालिकाअन्तर्गतको यो खोप नआइपुगेका कारण आर्थिक वर्ष २०७३/७४ मा १९ हजार ८०८ जना शिशु खोपबाट वञ्चित भए । “मन्त्रालयबाटै खोप आएको छैन”, जनस्वास्थ्य कार्यालयका खोप सुपरीवेक्षक बालकृष्ण भण्डारी भन्छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारी भने, विश्वकै धनाढ्यमध्येका माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सको स्वामित्वको ग्लोबल भ्याक्सिन अलायन्स (जीभीए) ले अनुदानमार्फत दिंदै आएको आईपीभीलगायतका खोपको आपूर्ति रोकेको बताउँछन् ।

विश्वका धेरैजसो मुलुकबाट उन्मूलन भइसके पनि नेपालमा सन् २०१० मा पछिल्लोपटक पोलियो देखिएको थियो । त्यसपछि सरकारले राष्ट्रिय खोप तालिकामा खोप र थोपा खुवाउने कार्यलाई निरन्तरता दिंदै खोप दिवस नै मनाउन थालेको थियो । तर, मन्त्रालयको खोप महाशाखाको तथ्यांक अनुसार, गत आवमा देशभरका ६ लाख ५० हजार शिशुले आईपीभी लगाउन पाएनन् ।

मन्त्रालयको खोप महाशाखाका अधिकृत जगन्नाथ दंगाल जीभीएले अनुदान रोकेपछि विकल्पमा फ्य्राक्सनल इनएक्टिभेटेड पोलियोभाइरस भ्याक्सिन (एफआईपीभी) सञ्चालनको तयारी भइरहेको बताउँछन् । यसका लागि मन्त्रालय र जीभीएबीच २०१७—२०२१ सम्मका लागि ३८ करोड अमेरिकी डलरको सहयोग सम्झैता हुने प्रक्रियामा छ । “सम्झौतापछि खोपले निरन्तरता पाउनेमा आशावादी छौं”, दंगाल भन्छन् ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस