टिप्पणीशनिवार, आश्विन २१, २०७४

नेपाली मुद्रणको २०० वर्ष

हिमालखबर

सन् १८२० देखि १९५० सम्मको १३० वर्षमा नेपाली भाषाका करीब १५०० पुस्तक प्रकाशित भए।

दीपक अर्याल

मदन पुरस्कार पुस्तकालय

नेपाली भाषामा पुस्तक मुद्रण हुन थालेको १९७ वर्ष भयो। मुद्रण प्रविधि भित्रिएर पुस्तकहरू छापिन थालेपछि त्यसले नेपाली समाजमा कस्तो प्रभाव, कसरी पर्‍यो भन्ने विषयमा अध्ययन भएका छैनन्।

यसका आर्थिक, सामाजिक, सांस्कृतिक वा भाषिक पक्षमा पनि त्यति काम भएका छैनन्, फरक–फरक पक्षबाट, फरक विषयमा छरिएका स–साना काम भए पनि। 

लामो समयदेखि नेपाली भाषाको विकास, विस्तार कसरी भयो, कसले कस्तो भूमिका खेल्यो, राज्यको भूमिका कस्तो रह्यो र त्यसले समाज, यहाँका अन्य भाषा–भाषिकालाई के असर गर्‍यो भन्ने विषयको बहस जारी छ र अझ केही दशक रहिरहनेछ।

नेपाली भाषाको विकास―विस्तारमा राज्यले खेलेको भूमिकाका पक्ष वा विपक्षमा तर्क गर्ने क्रममा सबभन्दा धेरै नाम आउने संस्था गोर्खा भाषा प्रकाशिनी समिति हो।

वि.सं. १९७० मा स्थापित यस संस्थाको मूल उद्देश्य नेपाली भाषामा प्रकाशनयोग्य पुस्तक तयार गर्ने, प्रकाशनका लागि प्राप्त पुस्तकको मूल्याङ्कन गर्ने र ती सामग्री प्रकाशनका लागि स्वीकृति दिने/नदिने, अनुवाद गर्ने र पुस्तकको प्रकाशन गर्ने थियो।

तर, यसले १९९० सालमा आफ्नो नाम फेरेर नेपाली भाषा प्रकाशिनी समिति हुँदासम्म (२० वर्ष) मा जम्माजम्मी ३२ वटा पुस्तक प्रकाशित गर्‍यो। त्यसपछि नेपाली भाषा प्रकाशिनी समितिमार्फत केही पुरानै पुस्तक पुनःमुद्रित भए भने थप पुस्तक प्रकाशन गर्ने कामलाई तीव्रता दिइयो।

मदन पुरस्कार पुस्तकालयले २००७ साल पूर्व मुद्रित पुस्तकको सूची बनाउने काम थालनी गरेको छ। प्रारम्भिक तथ्याङ्कले सन् १८२० मा मुद्रित जे. ए. एटनको ग्रामर अफ दी नेपालीज ल्याङ्ग्वेज र १८२१ को द होली बाइबल लाई सबभन्दा पुराना मुद्रित पुस्तक मान्दा १९५० सम्मको १३० वर्षमा करीब १५०० पुस्तक प्रकाशित भएको देखाउँछ। पक्कै पनि संख्या योभन्दा धेरै छ।

नेपाली बाहेक नेपाल भाषा, मैथिली, संस्कृत र अन्य मातृभाषाहरूमा पनि पुस्तक प्रकाशन हुने क्रमको विकास भइसकेको थियो, त्यसबेला।

रमाइलो तथ्य के छ भने यी १५०० मध्ये ११०० पुस्तक नेपाल बाहिरबाट मुद्रित/प्रकाशित भएका थिए। यीमध्ये कम्तीमा ७१० पुस्तक बनारस र १८० पुस्तक कलकत्ताबाट प्रकाशित हुन्।

त्यसबाहेक मुम्बई, इलाहावाद, पटना, कालिम्पोङ, गोरखपुर, सिक्किम, आसाम, कानपुर, सिलोङ, मधुवनी, मुजफ्फरपुर, लखनऊ, वरोदा, दिल्ली, मुङ्गेर, सीतामढी, बलरामपुर, मोतिहारी तथा बर्मा, सिङ्गापुर र यूकेबाट पनि केही पुस्तक मुद्रित/प्रकाशित भएका छन्।

नेपालभित्र पुस्तक मुद्रण/प्रकाशन परम्परा तुलनात्मक रूपमा कमजोर रह्यो। वितरण र उपभोगमा यसको प्रभाव पर्‍यो नै। नेपाली भाषाका पुस्तकहरूको प्रचारप्रसार गरेर लोकप्रिय बनाउने काममा सरकारी संयन्त्र वा प्रकाशनको भन्दा निजीस्तरको सहभागिता र भूमिका महत्वपूर्ण रह्यो, त्यो पनि नेपाल बाहिर।

नेपाली भाषाको प्रचारप्रसार र उन्नतिका निम्ति खोलिएको गोर्खा भाषा प्रकाशिनी समितिले वि.सं. १९९० सम्ममा ३२ वटा पुस्तक प्रकाशन गर्दा नेपालभित्र र बाहिरबाट निजीस्तरमा कम्तीमा ३२८ पुस्तक प्रकाशन भइसकेका थिए।

गोर्खा भाषा प्रकाशिनी समितिका अध्यक्ष राममणि आ.दी.ले आफ्नो संस्मरण 'प्राचीन संस्मरण' मा समितिमार्फत प्रकाशितमध्ये एक–दुईवटा किताब पाँच संस्करणसम्म निस्किएको उल्लेख गरेका छन्।

यसका अतिरिक्त उनले पुस्तकहरू माग्नेलाई सरकारकै खर्चमा पठाउने व्यवस्था गरिएको जानकारी दिएका छन्। सरकारका तर्फबाट भएको यो प्रयासले पनि नेपाली भाषाको प्रचारप्रसारमा केही सहयोग गर्‍यो, तर कुन पुस्तक कहाँबाट, कति प्रकाशित र बिक्रीवितरण भए भन्ने कुरालाई आधार मान्ने हो भने नेपाली भाषाको प्रचारप्रसार र समग्र मुद्रण संस्कृतिको विकास तथा विस्तार भने निजी क्षेत्रबाट भयो र त्यसको केन्द्र बनारस रह्यो।

२०० वर्षको मुद्रण इतिहासमा पुनःप्रकाशनलाई पुस्तकहरूको उत्पादन, बिक्री–वितरण र उपभोग बढेको तथा त्यसैले राज्यले चाहेजस्तै वा राज्यको नीति अनुरूप नेपाली भाषालाई विस्तार गर्न मद्दत पुगेको मान्ने हो भने कुन पुस्तक, कहाँबाट, कसले, कति प्रकाशन गर्‍यो र ती कति लोकप्रिय थिए भन्ने कुरालाई एउटा आधार मान्न सकिन्छ।

यसरी हेर्ने हो भने २००७ साल अगाडि कम्तीमा १४१ वटा पुस्तक पुनःमुद्रण/पुनःसंस्करण भएको देखिन्छ। यीमध्ये बनारसबाट प्रकाशित/मुद्रित ८१ वटा पुस्तक पुनः मुद्रित भएका थिए भने काठमाडौंबाट प्रकाशित २३ वटा, दार्जीलिङबाट ४ र मोतिहारी, आसाम र इलाहावादबाट प्रकाशित १–१ पुस्तक पुनःमुद्रित भएका थिए। यीमध्ये सवाई, लहरी र वर्णमाला सबभन्दा लोकप्रिय थिए।

धेरैजसो पुस्तक नेपाल बाहिरबाट मुद्रित/प्रकाशित भएका थिए। प्रकाशित लहरीहरूको सूचीमा कम्तीमा २० फरक लहरी पाइन्छ, जसका नाम लहरी, मदन लहरी, नयाँ मदन लहरी, प्रेम लहरी, उत्तम प्रेम लहरी, असली प्रेम लहरी आदि छन्।

धेरैपटक पुनःमुद्रित हुने पुस्तकमध्ये सुब्बा होमनाथ केदारनाथको असली कृष्ण चरित्र सन् १९३१ सम्म २६औं पटक पुनःमुद्रित भइसकेको थियो।

यो पुस्तक बनारस, कलकत्ता र काठमाडौंमा पाइन्थ्यो। सन् १९५५ सम्म भानुभक्तको रामायण ७३ पटक पुनःमुद्रित भइसकेको थियो। करीब पाँच लाख जनसंख्या साक्षर भएको १९५० को समयमा यो पुस्तक एक लाखभन्दा धेरै प्रति छापिएर बिक्री भएको थियो।

रामायणलाई न नेपाल सरकार न त नेपालभित्रको कुनै प्रकाशन गृहले प्रवर्धन गरेको थियो। यो बनारसमै प्रकाशित भयो र त्यहींबाट नेपालका विभिन्न क्षेत्रमा फैलियो। अर्थात् यो पुस्तकले प्रकाशक र वितरकलाई नाफा दियो।

सन् १९२९ मा प्रकाशित श्री देवीभागवत १९५३ सम्म पुग्दा २०औं पटक सर्वहितैषी कम्पनी बनारसबाट मुद्रित भइसकेको थियो। १९२५ मा प्रकाशित नरेन्द्र मोहनी १९५३ सम्ममा २०औं पटक पुनःमुद्रित भइसकेको थियो।

त्यस्तै, बनारसमा सुब्बा होमनाथ केदारनाथबाट प्रकाशित ठूलो गोर्खा र ठूलो भूगोल को २०औं संस्करण सन् १९४९ मा कलकत्ताबाट प्रकाशित भएको थियो। त्यसैगरी मधुमालतीको कथा, लालहीराको कथा, लालहीरा जस्ता पुस्तक १० पटकभन्दा बढी मुद्रित भइसकेका थिए।

विद्यालयस्तरीय किताबका हकमा भने गोर्खा भाषा प्रकाशिनी समितिबाट सन् १९२१ मा प्रकाशित शिशुबोधिनी पहिलोपल्ट नै ५ हजार प्रति र १९३४ मा छैटौं संस्करणका रूपमा ७ हजार प्रति प्रकाशित भयो। यो नै गोर्खा भाषा प्रकाशिनी समितिबाट प्रकाशित सबभन्दा लोकप्रिय पुस्तक थियो।

सन् १९५० अर्थात् २००७ सालसम्म नेपालभित्र पुस्तक प्रकाशनका लागि आर्थिक, प्रशासनिक र प्राविधिक झ्मेला थियो जसका कारण नेपाली मुद्रण संस्कृति नेपाल बाहिर फैलियो र केही हदसम्म यसले व्यावसायिक रूपमै सफलता पनि पायो।

नेपालमा सरकारी नीतिनियमकै कारण मुद्रण संस्कृति फस्टाउन सकेन। नेपाली भाषाका पुस्तक प्रकाशनमै दुःख भएको सो समयमा अन्य भाषाका पुस्तकहरू स्वतः कम प्राथमिकतामा परे।

काठमाडौंमा निजी क्षेत्रले धेरै प्रेस ल्याइसकेकाले नेपाली तथा नेपाल भाषाका पुस्तकहरू केही हदसम्म प्रकाशित भए पनि काठमाडौं बाहिरका लागि बनारस वा भारतका कतिपय शहरहरू नै नेपाली पुस्तक मुद्रण तथा प्रकाशनका केन्द्र बनिरहे।

किताब प्रकाशनमा विस्तारै भएको वृद्धि नेपालभित्र कम र भारतका विभिन्न क्षेत्रमा ज्यादा भए। कलकत्ताबाट शुरू भएको नेपाली प्रकाशन र मुद्रण गतिविधिको सबभन्दा ठूलो केन्द्र २००७ सालसम्म बनारस रह्यो।

त्यसपछि नेपालमा राजनीतिक हिसाबले केही खुला परिवेश सृजना भए पनि निजीस्तरका लेखक, प्रकाशक मात्र होइन सरकारी निकायका सामग्री मुद्रणका लागि पनि भारत र विशेषगरी बनारस सबभन्दा उपयुक्त स्थान रह्यो।

त्यो कालखण्डमा बनारसको दीपक प्रेस र मोडर्न दीपक प्रेसमा मात्र करीब १ हजार किताब मुद्रित भएको देखिन्छ।

प्रतिकृया दिनुहोस