ब्लगशनिवार, आश्विन २१, २०७४

पदयात्राका सिकाइ

हिमालखबर

-जीवन क्षेत्री

एक 
प्रेम (अ डल्स हाउस, हेनरिक इब्सेन)

नोरा र उनका पति हेल्मरको आदर्शजस्तो देखिने सुखी परिवारका निकटतम मित्र डा. र्‍यांक एक दुखी मानिस हुन्। नोरा र हेल्मर दुवैसित उनको मित्रता घनिष्ठ छ। दिनहुँ आउजाउले उनी अब घरकै सदस्य जस्ता बनिसकेका छन्।

सबै कुरा ठिकठाक चलिरहेको छ, तर आफ्नै विगतका कारण सघन मानसिक द्वन्द्वमा रहेकी नोराले एक दिन डा. र्‍यांकसँग अनायासै भन्छिन्, “हेल्मरले मलाई यति धेरै, यति गहिरो माया गर्छन् कि उनी मेरा लागि ज्यानै दिन तयार हुनेछन्।”

डा. र्‍यांक (नोराति झुक्दै): नोरा, तिमीलाई लाग्छ कि हेल्मर मात्रै...? नोरा (अक्मकिंदै) के मात्रै?

डा. र्‍यांकः तिम्रा लागि ज्यान दिने एक जना मात्रै?

नोरा (निराश हुँदै): कुरा त्यही हो?

डा. र्‍यांकः म जानुअगाडि भन्नै पर्ने थियो, र यो कुरा गर्ने योभन्दा राम्रो अवसर अब आउने पनि छैन। नोरा, अब यति जान– तिमी मलाई अरू जो कसैलाई जति विश्वास गर्न सक्छ्यौ।

(एकछिनमा)

नोराः प्रिय डा. र्‍यांक, तिमीले त्यो भयंकर कुरा गर्‍यौ।

डा. र्‍यांकः तिमीलाई अरू कसैले जति माया गर्नु भयंकर कुरा थियो?

नोराः नाईं, त्यो कुरा मलाई भन्नु भयंकर थियो। त्यो भन्ने आवश्यकता नै थिएन।

दुई
हास्य (एन आइडियल हस्बेण्ड र दी इम्पोर्टेन्स अफ बिइङ अर्नेस्ट, ओस्कार वाइल्ड)

लर्ड गोरिङः मलाई बाले एक घण्टा अगाडि नै सुत्न भन्नुभयो। म अब यही सल्लाह तिमीलाई किन नदिऊँ? म जहिले पनि राम्रो सल्लाह पाएपछि त्यो अरूलाई दिने गर्छु। त्यसलाई गर्ने नै त्यही हो। त्यो आफूलाई कहिल्यै काम लाग्दैन।

आधुनिक जीवनमा अरूका श्रीमतीबाट कुरा लुकाउनुपर्छ। क्लबमा जो यी कुरा बुझने गरी तालुखुइले भइसकेका छन्, कम्तीमा उनीहरू यसै भन्छन्। तर, आफ्नी श्रीमतीसित कुरा लुकाउनुहुँदैन। तिनले यो पत्ता लगाएरै छाड्छिन्।

महिलाहरूमा त्यो आश्चर्यजनक इन्द्रिय हुन्छ, जसले गर्दा उनीहरू आँखा अगाडि छर्लङ्ग देखिनेबाहेक सबै कुरा पत्ता लगाउँछन्।

लेडी ब्राक्नेलः ... वर्ष ३५ एकदमै आकर्षक उमेर हो। लण्डनको समाज उच्च कुलका राजीखुशी ३५ वर्षे महिलाहरूले भरिभराउ छ। लेडी डम्बल्टनकै उदाहरण लिऊँ। मैले जानेसम्म उनी ४० वर्षको उमेरमा यहाँ आएकी हुन् र आएकै पनि धेरै वर्ष भइसक्यो।तर, उनी निरन्तर ३५ वर्षे छिन्।

तीन
पीडा (द सिगल, आन्तोन चेखव)

मेद्भेमेन्कोः किन सधैं शोक मनाउने पोशाकमा हुन्छ्यौ?

माशाः म आफ्नो जिन्दगीसित ताल मिलाउन कालो लगाउँछु। म दुःखी छु।

मेद्भेमेन्कोः केलाई दुःखी हुनुपर्‍यो र? (केही सोचेपछि) म बुझिदनँ। तिमी स्वस्थ छौ। तिम्रो बुवा धनी नभए पनि सबल छन्। मेरो जीवन तिम्रोभन्दा निकै कठिन छ। जम्मा बाइस रुबलमा महीना कटाउनुपर्छ, तैपनि म शोकको पोशाक लाउँदिनँ।

(दुवै बस्छन्)

माशाः खुशी र धनसम्पत्तिबीच कुनै तालुक छैन। बरु गरीब मानिस खुशी हुन्छन्।

मेद्भेमेन्कोः भन्नलाई हो, तर व्यवहारमा त्यस्तो हुँदैन। मलाई नै हेर, आमा, दुई बहिनी र सानो भाइ अनि म सबै जना कसै गरी मासिक२२ रुबलले बाँच्नुपर्छ। त्यसैबाट खानु, पिउनुपर्छ। ... तिमी र मबीच मिल्ने कुरा केही छैन। तर म तिमीलाई माया गर्छु।

घरमा छट्पटी र निराशा चरम भएपछि ६ माइल हिंडेर यहाँ आउँछु,तिम्रो तिरस्कारको सामना गर्न। म गरीब छु, ठूलो परिवार छ। मजस्तो आफैं पेटभर खान नसक्ने मानिससँग तिमीले केका लागि सम्बन्ध राखौली र?

माशाः त्यसो हैन। तिम्रो भावनाबाट म प्रभावित छु तर त्यही भावना फर्काउन सक्दिनँ, त्यत्ति हो।

अंग्रेजीमा शब्द छ– सब्लाइम। तपाईंले गीत सुन्नुभयो, त्यसको मधुरताले मुग्ध पार्‍यो। कुनै खेल हेर्नुभयो,खेलाडीकोखेलकौशलले तपाईंलाई चुम्बकले झैं तान्यो।

चित्र हेर्नुभयो, त्यो यति सुन्दर छ कि त्यहाँभन्दा सुन्दर र पूर्ण चित्र होला भनेर कल्पना गर्न सक्नुभएन। नाटक हेर्नुभयो, त्यो अभिनय हो भनेर पत्याउनै गाह्रो भयो। यस्तो खालको गहन सौन्दर्य जनाउन 'सब्लाइम' शब्द प्रयोग हुन्छ।

विख्यात नर्वेली नाटककार हेनरिक इब्सेनले 'अ डल्स हाउस' मा त्यस्तै 'सब्लाइम' प्रेमकथा सिर्जेका छन्, जसको अंश माथि उद्धृत छ। माथि उल्लिखित ओस्कार वाइल्डका दुई र आन्तोन चेखवको एक नाटक मानव जीवनका अनेक आयाम उधिनेर छर्लङ्ग पारिदिने त्यस्तै कृतिहरू हुन्।

तर, मञ्चनको ध्येयबाट सिर्जित नाटकहरू पढेर वास्तविक मज्जा लिन सकिन्छ त? ती चारै नाटकको स्वाद मैले त्यस्तो माध्यमबाट लिएँ, जुन पढ्नुभन्दा धेरै खुट्किलो माथि र थिएटरमा गएर नाटक हेर्नुभन्दा केही खुट्किलो तल छ। त्यो हो श्रव्य माध्यम– अडियोबुक्स।

२०७३ सालभर म अन्दाजी डेढसय घण्टा कार्यालय–घर नियमित हिंडें। अर्को चानचुन डेढसय घण्टा लामा–छोटा पदयात्राको क्रममा हिंडियो। त्यस्तो समयमा गरिने एउटा मुख्य काम भनेको संगीत सुन्नु हो।

तर, पछिल्लो समय मेरो सिकाइ के रह्यो भने हिंड्दा त्यसभन्दा बढी आनन्द आउने अरू धेरै कुरा गर्न सकिन्छ। जस्तो कि, अडियोबुक्स एप्लिकेसनबाट किताबहरूको वाचन सुन्नु। अरू विधामा वाचन त्यति धेरै प्रभावकारी नभए पनि नाटकलाई जीवन्त बनाएको हुन्छ।

कुनै बेला थियो, हप्ताभर जेसुकै भए पनि शनिबार दिउँसो साढे एक बजे रेडियो नेपालमा बज्ने आधा घण्टे नाटक हामी कसैगरी छुटाउँदैनथ्यौं। गहिरो प्रभाव छाड्ने ती बाल्यकालीन दिनमा शनिबार बस्तुभाउ चराउन पाखातिर जाँदा पनि रेडियो बोकेर हिंड्थ्यौं। अडियो नाटक सुन्दा अहिले पनि मलाई दृश्यको अभाव खासै खट्किंदैन।

दोस्रो र करीब असफल सिकाइ चाहिं फोन एप्लिकेसनको मद्दतले पीडीएफ टेक्स्ट वाचन सुन्ने रह्यो। वाचन हुने गति र आफूले बुझने गतिमा तालमेलको अभाव, नबुझिएको वाक्य दोहोर्‍याएर सुन्दा हुने झन्झट र यान्त्रिक वाचनको एकोहोरोपनले गर्दा केही दिनमै मैले त्यो विधिलाई त्यागिदिएँ।

काराओके धुन डाउनलोड गरेर गीत गाउँदै हिंड्ने तेस्रो सिकाइ चाहिं अलि सफल रह्यो। खासगरी पर्वत–बुटवल पाँचदिने एकल पदयात्रामा त्यो विधि असाध्य उपयोगी भयो। यस्तो अभ्यासबाट व्यावसायिक गायक बन्ने सम्भावना त छैन तर त्यसले दिने मनोरञ्जन चाहिं अपूर्व खालको हुन्छ।

चौथो र सम्भवतः सबभन्दा गहन सिकाइ चाहिं भिडियो सुन्नु थियो। टाइपिङजस्तो एकोहोरो काम गर्दा यूट्यूबबाट गीत सुन्न थालेको धेरै भइसक्यो, तर भिडियो डाउनलोड गरेर सुन्दै हिंड्ने विधिले चाहिं मेरो हिंडाइलाई मनोरञ्जक मात्र बनाएन, सिकाइको नयाँ क्षितिज नै खोलिदियो।

पब्लिक ब्रोड्कास्टिङ सर्भिस (पीबीएस) जस्ता विशाल अमेरिकी कम्पनीले बनाएर यूट्यूबमा हालेका उच्च गुणस्तरका वृत्तचित्रलगायत अनगिन्ती सामग्री अचानक मेरो पहुँचमा आइपुगे।

जिसस क्राइस्टको जीवनी, अन्धकार मानिने मध्ययुग, 'क्रुसेड्स' भनिने शताब्दीयौं लामा धर्म युद्धहरू र प्रोटेस्टेन्ट सुधार अभियानदेखि एन्लाइटनमेन्ट, औद्योगिक क्रान्ति, फ्रान्सेली क्रान्ति, बोल्शेभिक क्रान्ति, स्टालिनको शासन, विश्व युद्धहरू, हिटलरको शासन, माओ शासन, भारत, चीन, पाकिस्तान र बाङ्लादेशको इतिहाससम्मका अनेक विषयमा मैले दर्जनौं गहन वृत्तचित्र सुनें। गीत वा नाटकभन्दा धेरै रोचक यो सुनाइले मलाई विश्व इतिहासबारे गनेर नसकिने नयाँ कुराहरू सिकायो।

अडियोबुक्समा निश्चित संख्याका मन छुने किताबहरू भेटिएपछि त्यस्तै रोचक नयाँ किताबको अभावमा मैले माथि उल्लिखित चार नाटक दर्जनौं पटक सुनें। अडियोबुक्स खोला थियो भने यूट्यूब समुद्र थियो, जहाँ रोचक सामग्रीहरू सिद्धिने सम्भावना नै थिएन।

पश्चिमा विश्व र इसाइ धर्म–सभ्यताबारे दर्जन जति वृत्तचित्र सुनेपछि म भारतमा केन्द्रित भएँ। नेहरू र गान्धीबारे इतिहासकार रामचन्द्र गुहाका दर्जन जति भाषण वा कार्यक्रम अनि इन्दिरा गान्धी र सन् १९७५ को संकटकालबारे केही वृत्तचित्र सुनेपछि झ्ण्डै तीन दर्जन भिडियो समकालीन भारतबारे सुनें।

अहिले पनि त्यो क्रम जारी छ। त्यसो गर्दा खास गरी न्युजलण्ड्री नामक समूहले भारतको मिडियालाई खोतलखातल पारेर बनाउने कार्यक्रम, अनेक थरी पुस्तकका लेखक र सामयिक विवादका पात्रहरूसित लिने अन्तर्वार्ता मेरो प्राथमिकतामा पर्ने गरेका छन्।

बाटोमा लुरुलुरु हिंडिरहँदा कति कार र मोटरसाइकलहरू हुँइकिंदै अगाडिको मोडमा अलप हुन्छन्। ती पक्कै पनि मभन्दा पहिले घर पुग्लान् भनेर म गम खान्छु।

तर विस्तारै यात्रामा मैले लिइरहेको जीवनका अनेक छटाहरूको स्वाद के मोटरसाइकलको ह्याण्डल वा कारको स्टेयरिङमा हात लगाएर गतिवान् भइरहेकाहरूले पाएका होलान्? तर, म जेमा रमाउँछु, सबैले त्यसमै रमाउनुपर्छ भन्ने पनि के छ र?

जब बाटोमा पर्ने अनेक भट्टी अगाडिबाट गुज्रन्छु, त्यहाँ आनन्द भोगको अर्कै लीला चलिरहेको हुन्छ। त्यो आनन्द भोग गरिरहेकाहरूले परिवारका बाँकी सदस्यहरूको खुशी रित्याइरहेका त हुँदैनन्?

यो प्रश्नले मलाई घोच्छ र म छिटो–छिटो पाइला चाल्छु।अनि विकिपेडिया, पत्रपत्रिका र जर्नलका लम्बेतान लेखहरू पढेर धेरै मिहिनेतपछि मात्र हासिल गर्न सकिने अनेक ज्ञान खाली जाने समयमा विना मिहिनेत त्यो पनि मनोरञ्जनसहित पाएकोमा आफैंलाई अलिकति बाठो पनि ठान्छु।

प्रतिकृया दिनुहोस