नेका केन्द्रीय समिति बैठकः कांग्रेस हतोत्साहित र विचलित भएको छैन
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा १० र २१ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियाबारे छलफल शुरु भएको छ ।
पार्टीले उम्मेदवार छनोटको मापदण्ड तय गर्दा स्थानीय निर्वाचनमा उम्मेदवार भएका, उक्त निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध उठेका, उनीहरुलाई सहयोग नगरेका र यस अगाडि समानुपातिक सांसद रहेकालाई टिकट नदिने विषयमा मोटामोटी सहमति भएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यले प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा पार्टीको उम्मेदवार चाँडै छनोट गर्न जोड दिएका थिए ।
उनीहरुले वाम एकताले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनलाई नै कमजोर पार्ने चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक एकताको खाँचो औँल्याए ।
बैठकले यही असोज २५ गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्न नेतृत्व वर्गलाई सुझाव दिएको नेकाका केन्द्रीय सदस्य दिलेन्द्र बडूले जानकारी दिए ।
बैठकपछि नेकाका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, “वाम एकताले नेका विचलित र हतोत्साहित हुने छैन, बरु नेकाको नेतृत्वमा वामबाहेकका शक्तिबीच एकता र सहकार्य हुनेछ ।”
अर्का केन्द्रीय सदस्य महेश आचार्यले वाम एकताले शान्ति प्रक्रियाका बाँकी काम र संविधान कार्यान्वयनमा जटिलता थपेको उल्लेख गर्दै यसले अतिवादी सोचलाई प्रश्रय दिएको धारणा व्यक्त गरे ।
अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले वाम एकताले लोकतन्त्रलाई नै खतरामा पार्ने भन्दै लोकतन्त्र बचाउने दायित्व पुनः कांग्रेसको काँधमा आएको दाबी गरे ।
केन्द्रीय समितिको अर्को बैठक आजै साँझ बस्नेछ ।
रासस