पर्साको धोबिनीमा शपथग्रहण कार्यक्रममा विवाद, समाजवादी फोरमका प्रतिनिधिद्वारा तोडफोड
पर्साको धोबिनी गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम संघीय समाजवादी फोरमका पदाधिकारीले बहिस्कार गरेका छन् ।
उपाध्यक्ष पदमा निर्वाचित संघीय समाजवादी फोरम नेपालका पारशनाथ कुर्मी सहित तीनवटा वडाका अध्यक्ष र सदस्य गरी १७ जना निर्वाचित प्रतिनिधिहरुले आफूहरुको बेग्लै शपथ ग्रहण हुनुपर्ने भन्दै कार्यक्रम बहिस्कार गरेका हुन् ।
गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुको शपथग्रहण निर्वाचन अधिकृत गजेन्द्रराज पन्तले गराउने र बाँकी प्रतिनिधिहरुलाई गाउँपालिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले शपथग्रहण गराउने कार्यक्रम रहेको थाहा पाएपछि प्रमाणपत्र लिएर फूलमाला र अबिर लगाईसकेका फोरमका प्रतिनिधिहरुले कार्यक्रमस्थल तोडफोड गरी बाहिरिएका हुन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित सुरेशप्रसाद कुर्मी नेपाली कांग्रेस समर्थित हुन् ।
फोरम प्रतिनिधिहरुले निर्वाचन कार्यलयको मञ्च, पण्डाल, त्रिपाल र कुर्सिहरु समेत फालाफाल गरेका थिए ।
दुईवटा वडाका अध्यक्ष र सदस्यहरुले भने शपथ ग्रहण गरेका छन् ।
यता निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना प्रकाशित नभएसम्म शपथग्रहणको कार्यक्रम स्थगित गरिएको सूचना प्रकाशित गरेको छ ।
जियालाल साह, पर्सा