कला/साहित्यबिहिवार, आश्विन १९, २०७४

सरको घडी

हिमालखबर

 

बिहानै मोबाइलमा आएको मेसेजले अक्क न बक्क बनायो। घनश्याम सर बित्नुभएछ ! 

मैले तुरुन्त वीरेलाई फोन गरेर सोधें, “साँच्चै हो ?”

“घनश्याम सर रहनुभएन...”, उसले रुन्चे आवाजमा भन्यो। पक्का भएको खबरले मनलाई उद्वेलित बनायो । आँखा रसाए ।

स्कूलमा राष्ट्रिय गानको बेला म कहिल्यै पुगिनँ। जहिल्यै कक्षा शुरू हुनेबेला पुग्थें। पहिलो कक्षा घनश्याम सरको थियो ।

“मे आइ कम इन् सर ?”

उनी पहिले आफ्नो नाडीको घडी हेर्थे। ठूलो चश्मा आँखामा हुन्थ्यो। अनि झन् ठूला आँखा पार्दै भन्थे, “आज पनि ढिला आइस् ।”

भित्र पस्न इशारा गर्दै फेरि भन्थे, “भोलिदेखि चाँडै आएस् !”

खासमा घनश्याम सर स्कूलका सबभन्दा राम्रो पढाउने र कडा शिक्षकमा गनिन्थे । उनी विद्यार्थीले धेरै मिहिनेत गर्नुपर्छ भन्थे। उनले परीक्षामा कहिल्यै, कसैलाई बढी नम्बर दिएनन्। उनको विषयमा कोही फेल पनि हुन्नथे ।

घनश्याम सरको कक्षा कोही अब्सेन्ट पनि हुँदैनथे। उनको पढाउने तरीका नै बेग्लै हुन्थ्यो, सुनेपछि पुग्ने । पढाएको पाठको गृहकार्य दिइहाल्थे । त्यति गरेपछि दिमागमा पाठको छाप नै बस्थ्यो ।

म सधैं प्रार्थना सकिएपछि हतार–हतार स्कूल पुग्थें ।

एकदिन घनश्याम सर अलि कड्किए, “तँ सधैं किन ढिला हुन्छस् हँ ? भोलिदेखि चाहिं यसरी हुँदैन है !”

तर, भोलिपल्ट म झ्न् ढिला पुगें। सरले मलाई पहिलो घण्टीभरि कुखुरा बनाए । दिउँसो चौरमा बोलाएर घनश्याम सरले भने, “पढाइमा राम्रै छस्, किन सधैं ढिला आउँछस्? के समस्या छ ?”

यति सोधेर मलाई हेर्न थाले। मैले घोसेमुन्टो लगाएँ ।

“सर, बिहान चाँडो उठ्न सक्तिनँ ।”

“भोलिदेखि बिहान मेरो घर आउने ।”

आदेश दिएर उनी अफिसतिर लागे ।

बूढाले किन बोलाको होला ? कसरी जाने ? किन जाने ? कसरी छिटो उठ्ने ?

भोलिपल्ट बिहान उठ्नासाथ घनश्याम सरको घरतिर दौडिएँ । म पुग्दा आठ बजिरहेको थियो । सर कतै निस्किसकेछन् । म त्यसै फर्किएँ ।

“तँ बिहान किन मेरो घर नआ'को ?” स्कूलमा सरले सोधे ।

“म ग'को थिएँ सर ।”

“कुन बेला पुगिस् ?”

“आठ बजेको थियो होला सर ।”

“त्यतिबेला आएर हुन्छ ? भोलि चाँडै आएस् । अनि पढ्नु पर्‍यो ।” बस्न इशारा गर्दै उनले भने ।

त्यसपछिका दिनहरूमा पनि मलाई उठ्न ढिलै हुन्थ्यो । म पुग्दा सर हिंडिसकेका हुन्थे ।

“ओइ, तँलाई था छ ? घनश्याम सरको त अर्को पनि स्वास्नी छ रे !” वीरेले एकदिन खासखुस गर्‍यो ।

यति असल मान्छेले कसरी दुइटी स्वास्नी राख्ला र ! शुरूमा मलाई त्यस्तै लाग्यो। त्यै पनि सोधें, “तँलाई कसले भन्यो ?”

“घरमा बाले आमासँग भनेको मैले सुनेको ।”

“त्यैट् !”

त्यसपछिका दिनमा पनि मेरो बिहान उठ्ने समयमा सुधार आएन । म पुग्दा सर घरबाट बाहिरिसकेका हुन्थे । फेरि एकदिन झपार्दै भने, “तेरो पढाइ ठीक छ । बिहान चाँडो उठेर मकहाँ आएस् । आठ बजे होइन, ६ बजे नै ।”

घनश्याम सरले नाडीमा चम्किरहेको घडी हेर्दै फेरि भने, “कुरा बुझिस् हैन ?” मैले टाउको हल्लाएँ । त्यसपछि म कसरी बिहान चाँडै उठ्ने भन्ने ध्याउन्नमा लागें । उपाय सुझयो घडीकै । बालाई घडी किनिमागें ।

“केलाई चाहियो घडी ? मैले उठा'को बेला उठे भइहाल्यो नि !”, बाले उल्टै झपारे ।

भोलिपल्ट पनि ढिलै भयो । सरको घर गइनँ । घरमै पढ्न थालें ।

त्यसदिन सर स्कूलमा आएनन् । वीरेले उही खासखुस् गर्‍यो, “बुझिस्, घनश्याम सर अब केही दिन आउनुहुन्न ।”

अर्को दिन बाले शहरबाट घडी किनेर ल्याइदिनुभो, झण्डै–झण्डै घनश्याम सरको जस्तै । म दंग परें । बाले मलाई माया गर्नुहुँदोरहेछ भन्ने लाग्यो । सोचें, अब म घनश्याम सरजस्तै बन्छु । त्यो साँझ् नयाँ घडी हेर्दै र सुम्सुम्याउँदैमा बित्यो । राति बिउँझेर पनि घडी हेरें, २:३० बजेको थियो । भोलिपल्ट झन् ढिला उठें ।

स्कूलमा पहिलो घन्टीभर सबैले मेरो घडी सुम्सुम्याउन भ्याए । म त्यति मक्ख कहिल्यै भएको थिइनँ ।

भोलिपल्ट म बिहान सातबजे घनश्याम सरको घर पुगें, तर बूढा फर्केका रहेनछन् ।

त्यसको दुई हप्तापछि सर स्कूल आए, तर पुरै बदलिएर । सर कक्षामा रिसाउन छाडे। मलाई पनि पहिला जस्तो वास्ता गर्न छाडे। हामी सबै अचम्म मानिरहेका थियौं ।

अचानक गाउँमा हल्ला फैलियो– घनश्याम सरको अर्की स्वास्नी र एक छोरा घरमा आएका छन् रे !

त्यसदिन वीरेले मलाई यसरी हेर्‍यो, मानौं उसले बाजी मारेको छ। यो खबरले मलाई निराश बनायो। वीरेले मलाई घरीघरी गिज्याएझ्ैं हेरिरहेजस्तो लाग्थ्यो । त्यसदिन म स्कूलबाट चाँडै घर फर्कें ।

घनश्याम सरले शुरूका आठ वर्ष दुर्गममा पढाएका रहेछन् । कट्टर बाहुन परिवारका उनले उतै क्षेत्रीकी छोरी बिहे पनि गरेका रहेछन् । दुर्वासा स्वभावका बाबुलाई भन्न सकेका रहेनछन् । यता बाबुले बिहे गराइदिनु अघि उनी बेलाबेला पहाड गइराख्थे ।

म बिहान सबेरै उठ्न थालेको थिएँ । यो परिवर्तन देखेर बा–आमा खुशी थिए । यति हुँदाहुँदै पनि म सरको घर जान सकिनँ । एक दिन सरले कक्षामा सोधे, “तँ अचेल चाँडै आउन थालिस् नि ?”

“अचेल बिहान चाँडै उठ्छु सर ।”

“राम्रोसँग पढेस्”, सर मुस्कुराए। म मक्ख परें ।

मैले राम्रो अंक ल्याएर एसएलसी पास गरें। नतिजा आएको दिन गाउँभरि खुशीको लहर छाएको थियो । हाम्रो स्कूलबाट एसएलसी दिने सबै पास भएका थिए । सबभन्दा बढी नम्बर घनश्याम सरको विषयमै आएको थियो ।

सरले मलाई धाप मार्दै भने, “तँ मेरो राम्रो विद्यार्थी होस्, साइन्स पढ् ।” म साइन्स पढ्न शहर जाने भएँ, तर कहाँ, कसरी भन्ने अन्योल थियो । मेरो अन्योल फुकाउँदै सरले भने, “आइतबार म शहर जाँदैछु। सँगै हिंड्, साइन्स कलेज देखाइदिन्छु। भर्नाको कुरा पनि बुझिदिउँला ।”

म घनश्याम सरसँग शहर जाने भएँ । आइतबार बिहानै उठेर नुहाएर खाजा खाएँ अनि बाआमाको हातको टीका लगाएर हिजै तयार पारेको झोला बोकेर घरबाट निस्किएँ ।

ठीक आठ बजे घनश्याम सरले भनेको दोबाटोमा पुगेर उभिएँ । तर, सर आएनन्। बूढा आज ढिला भएछन् भन्ने लाग्यो, कुर्न थालें । तर, बीस मिनेट कुर्दा पनि सर आएनन् ।

त्यहीबेला ज्यान हल्लाउँदै वीरे टुप्लुकियो ।

“कसलाई कुरेको ?”

“घनश्याम सरलाई ।”

“सर त अघि नै गैसक्नुभो त ।” धत्तेरीका ! सरले दिएको समयमा म आज पनि ढिला भएछु । आफैंलाई गाली गर्दै लुरुलुरु बाटो लागें ।

समय बित्दै गयो। मैले पढाइ सकेर शहरमै जागिर शुरू गरें। यसबीचमा घनश्याम सरलाई सम्झे पनि कहिल्यै भेट भएन । आज बिहानै आएको मेसेजले मलाई एकै पटक कृतघ्नता र अपराधबोध गरायो ।

बाइकमा सधैंभन्दा एक घन्टा चाँडो तीन घण्टामा गाउँ पुगें । बाटोभरि घनश्याम सम्झिरहें । उनले मलाई सधैं उत्प्रेरित गरे, कुखुरा बनाए, बिहान ढिला उठ्ने बानीमा सुधार गरे ।

बाइक घरमा छाडेर अलिकति उकालो सरको घरतिर लाग्दा बाटोमा वीरे भेटियो । ऊ सरकैबाट फर्किंदै थियो ।

“ए, आइस् ?”

“अँ ।”

आज ऊ पहिलेभन्दा फरक थियो । मसँगै फेरि उकालो लाग्यो। सरको पार्थिव शरीरलाई घाट लैजाने तयारी हुँदै रहेछ ।

त्यो आइतबार सँगै शहर जाने भनेको सरलाई मैले बल्ल आज भेटें। पहिला घरमा कहिल्यै भेट्न नसकेको सरलाई आज आँगनमा भेटें । सर सौम्य, शान्त, सन्तुष्ट पल्टिएका थिए । आँखा रसाए ।

कात्रोमा बेर्दा घनश्याम सरका पुराना वस्त्रहरू निकालियो । घडी पनि निकालियो ।

त्यही घडी, जसलाई हेरेर घनश्याम सरले मलाई कुखुरा बनाए, त्यो आइतबार छोडेर हिंडे । सरको घडी पन्ध्र मिनेट छिटो थियो ।

प्रतिकृया दिनुहोस