वामपन्थी पार्टीहरुको तालमेलले ‘ओलीगार्की’ लाई बढावा दिने विवेकशील साझाको आशंका
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको एकता मूल्यमान्यता र विधिको राजनीतिका लागि नभई सत्ताका लागि भएको र यसले भ्रष्टाचार र अल्पतन्त्र (ओलीगार्की) लाई बढावा दिने विवेकशील साझा पार्टीले आरोप लगाएको छ ।
“खासगरी विभिन्न अमिल्दा र कतिपय राजनीतिक मुद्दाहरुमा परस्पर विपरित धारणा समेत राख्दै आएका दलहरु बीचको हठात तालमेल तथा एकता प्रक्रिया मूल्य-मान्यता, संस्कार र विधिको राजनीति गर्ने दिशातर्फ होइन, पार्टीलाई शक्तिशाली र सरकार बनाउने दिशातर्फ मात्र लक्षित हो कि भन्ने देखिन्छ,” विवेकशील साझाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वमपन्थी दलहरुको यो तालमेल र एकता प्रक्रियाले एकातिर, नेपाली राजनीतिमा देखिएको भ्रष्टाचारी, अपारदर्शी तथा दोहनकारी चरित्रलाई अझ बलियो बनाउने संभावना रहेको र राज्य संचालनको तहमा अल्पतन्त्र (ओलीगार्की)लाई अझ वढि संस्थागत गर्ने जोखिम देखिएको उक्त पार्टीले ठहर गरेको छ ।
“आसन्न निर्वाचनको मुखैमा चाहेर वा नचाहेर वर्तमान राजनीतिक ध्रुविकरणले निम्त्याउन सक्ने राजनीतिक अस्थिरताको जोखिमलाई समेत मध्यनजर गरेर सबै राजनितिक दलहरुलाई जिम्मेवार र सतर्क रहन समेत हामी आग्रह गर्न चाहान्छौं,” विज्ञप्तिमा भनिएको छ ।
नयाँ परिस्थितिमा नेपालमा निष्ठा, आदर्श र सुसंस्कृत राजनीतिको औचित्य र आवश्यकता अझै बढेर गएको पनि विवेकशील साझाले जनाएको छ ।
यद्यपी सानो सानो मुलुकमा धेरै संख्यामा राजनीतिक पार्टीहरु क्रियाशील रहेको पृष्ठभूमीलाई हेर्दा उस्तै राजनीतिक विशेषता बोकेका दलहरुबीचको एकतालाई भने सकारात्मक रुपमा लिइएको पनि विवेकशील साझाले उल्लेख गरेको छ ।