कला/साहित्यबुधवार, आश्विन १८, २०७४

साथे

हिमालखबर

- दुर्गा कार्की
टाढाटाढाका धामीका अनेक जुक्ति फेल खाएपछि अन्त्यमा गाउँकै भवानी पण्डितले कात्तिकमा रुद्री लाइदिएपछि जन्मेको थियो रुद्रे। 

रुद्रे। रुद्रबहादुर थापा। मेरो एक्लो छोरो। हाम्रो एक्लो छोरो।

“पू ष ण ठ हस्ता... चौथो पाउ भेट्यो... नक्षत्रबाट त ठबाट ठगबहादुर भने नि भो, बोलाउने नाम के राख्छौ त केशरे?” भवानी पण्डितले सोध्दा उसले फ्याट्ट भनेकी थिई, “रुद्र!”

मैले थपेको थिएँ, “राशि नाम पनि ठगबादुर नराख्नी, ठम राख्दिनुस्।”

पण्डितले नाम ठमबहादुर राखेर अलि पछि चिना बनाइदिए। र भने, “ठूलो मान्छे बन्च तिम्रो छोरो। तर क्यार्नी, बाउआमाको ग्रहले पिर्च भन्च।”

त्यतिबेला उसको अनुहार अँधेरो भएको थियो।

मैले भित्र्याउँदा पार्वती १८ वर्षकी थिई, म २८ को। निकै जेठो र जागिर पनि नभएकोले उसका दाइहरूले मलाई उति रुचाएका थिएनन्। आठ पास गर्नासाथ लाहुरे हुन इन्डिया हानिएको म, सकिनँ।

घर फर्किहाल्न लाज लाग्यो, चार–पाँच वर्ष उतै हल्लिएँ। अझ कति हल्लन्थें, बाउले घर फर्काएर खेती गर्न थालें। दुईचार ठाउँबाट केटीका कुरा आएका थिए, तर २८ नटेकी मेरो लगन आएन। सानाबाउले साथीको नातो लाएर मागेपछि उसका बाले नाईं भन्न सकेनन्। त्यसरी मेरी भएकी थिई पार्वती।

बिहेपछि फेरि इन्डिया गएर जागिर खाएँ। सातौं वर्षमा बा खस्नुभो। हाम्रा सन्तान पनि भएका थिएनन्। इन्डिया फर्कन मन लागेन।

त्यसपछिका तीन वर्ष हामीले सन्तानका लागि मरिमेट्यौं। मेरो आश मरेको थिएन। पार्वतीले भने पछाडि कुरा काट्ने आफ्ना र परकाबाट हार खाइसकेकी थिई। घरधन्दा सकेर ओछ्यानमा आउँदा मैले छुन खोजें भने रुन्चे स्वरमा भन्थी, “आ, हुने केही होइन... आर्को ब्या गर्नु तपैं।”

घुँडोमुन्टो एकैठाउँ जोतेर मपट्टि ढाड फर्काएर सुतेको सानो गाँठीको उसलाई देख्ता असाध्यै माया लाग्थ्यो, चपक्क च्यापेर सुत्थें। उसको रुवाइ मेरो हातले चोलोको बाहिरैबाट थाहा पाउँथ्यो।

छोरालाई राम्ररी नै हुर्कायौं। श्रीकृष्ण जसरी दूध–घ्यूमा हुर्क्यो ऊ। सानैदेखि सन्तोकी, मिजासिलो र मिहिनेती थियो। घरका काम सघाउँथ्यो। लायक र गुनी छोरो हेरेर पार्वती भन्थी, “कुनचाहिं भाग्यमानी नकच्चरीको भागाँ पर्नी हो यो!”

“तँ मेरो भागाँ पर्‍या जस्तै...?” म जिस्काइदिन्थें।

ऊ हाँस्थी।

छोराले राम्रो नम्बर ल्याएर एस्एल्सी गरेका दिन त्योभन्दा मीठो हाँसो हाँसेकी थिई, ऊ। तर, त्यो धेरै टिकेन। छोरोलाई काठमाडौं जाने साइतको टीको लगाइदिंदै गर्दा आँखा टिलपिल पारेर उसले बिस्तारै भनेकी थिई, “ह्यँइ पढेन्त हुन्थो नि! ट्यूसन स्यूसन हाल्दिनुन्थो बाले।”

छोरो हिंडेको बेलुका खाना खानेबेला हामी जोइ–पोइको गला अड्क्यो। धेरै पछि त्यस रात पार्वती मेरो छातीमा मुन्टो राखेर रुँदै निदाई। ऊ निदाएपछि म पनि रोएँ।

पार्वती क्याचक्याच नम्बर थिच्नुपर्ने मोबाइलमा भकुण्डोको चित्र खोजेर दिनको दुईफेर रुद्रलाई फोन गर्थी। कुरा गरिराखे पनि हामीलाई सबभन्दा नरमाइलो चाहिं खानेबेला लाग्थ्यो। मासु पाकेका दिन त भात खेलाउँदै ऊ पिल्ल रोइदिन्थी, “उल्ले चाउचाउ उमालेर खा'छ कि भोकै सुत्या'छ...।”

उसले त्यसो भनेपछि मेरो पनि गाँस अड्कन्थ्यो। अनि हामीले मासु खानै छोडिदियौं।

एकदिन छोरोको कलेजबाट फोन आयो– 'रुद्र बिरामी छ।'

'भेटेर आइहाल्छु' भनेर म एक्लै जान खोजें, ऊ मानिनँ। भैंसीबाख्रा पर्तिर बुहारीलाई जिम्मा लाएर घिउ र तिउनताउन पोको पारेर मेरा अघि लागी। मैले उसैलाई पछ्याएँ।

साथीको बाइकबाट लडेर छोरोको हातखुट्टामा ददारेको रहेछ। चार दिनमा अस्पतालबाट निस्केपछि हामीलाई कोठामा लग्यो। साँघुरो कोठा, छड्के पानी झयालबाट छिरेर कार्पेट जम्मै भिजेको। प्लाष्टिकको बाटामा चार दिनअघिका जूठा भाँडा। कराईको चाउचाउ ढाडिएर गड्यौलाजस्तो भएको।

पार्वतीले भाँडा माझी, भुईं पुछी, कुनाकुनासम्म कुचो लगाई। छोरासित ग्याँस बाल्न सिकेर भात पनि आफैं पकाई। तीन जना बसेर भात खाँदा मलाई धेरैपछि अघाउन्जेल खाएजस्तो भो। पार्वतीलाई झन् कस्तो भयो होला?

भोलिपल्ट गाईबस्तु सम्झाएर मैले घर जाने कुरो गर्दा उसले भनी, “छोरो यस्तरी बस्याछ, तपैंलाई भैंसीको पीर! ” पार्वतीले निर्णय गरी, बेंसीको खेत बन्धकी दिने।

गाममा जेठाजुका सन्तानले गरे गर्छन्, नगरे बाँझै रहला। गएर गाईबस्तु बेचेर आउने, बूढाबूढीले यतै सानोतिनो पसल राख्ने। दिन काट्न पनि सजिलो, अलिअलि आम्दानी पनि हुने।

बाक्लो हुस्सु लागेको हिउँदको एक बिहान मुटुमा गाँठो पारेर मैले मूलढोकामा ताल्चा ठोकें। काखमा लुटपुटिन आइपुगेको बाख्राको पाठो सुम्सुम्याएर पार्वतीले बरर्र आँसु झरी।

पार्वतीपट्टि हेर्न नसकेर मैले दाइलाई भनें, “यसो कोही बस्नी मान्छे पाए बुझनु, झार उमारेर राख्नभन्दा...।”

हामी सिरानचौतारा पुग्दासम्म पनि भैंसी दाम्लो चुँडालौंला गरी कराइरह्यो। पार्वतीले एकताल पनि फर्केर घरतिर हेरिनँ।

मलाई पार्वती यति आँटिली होली भन्ने कहिल्यै लागेको थिएन। मै पनि यति आँटिलो हुँला भन्ने कहिल्यै लागेको थिएन।

काठमाडौंमा किराना पसलसहितको सटर किन्यौं। सटरको भाडा महँगो भएकाले दुईटा कोठा लिने आँट आएन। सटर पनि फराकिलो नै थियो।

पसलको आम्दानीले खान पुग्थ्यो। वरपरका मान्छे चिन्दै गयौं। छोरोसँगै बसेर पार्वतीले पकाएको खान पाइएकै थियो, तर मेरो मन कत्ति पनि रम्न सकेको थिएन। एउटै कोठामा तीनजना कोच्चिएर बस्नुपर्दा, सानो कुरामा पनि घरबेटीसित डराउनुपर्दा फराकिलो घरआँगन झल्झली हुन्थ्यो।

पार्वतीसित लुकेर बिंडी खा'को सम्झ्न्थें। झमझम पानी पर्दा टीनको छाना बजेको, झयाउँकिरीको झ्याईंझ्यार्इं सुन्न मन लाग्थ्यो। कतै गएर आइपुग्दा भैंसीले आईऽऽऽ गरेको झ्ल्को लाग्थ्यो, दही–मोहीको तिर्सना जाग्थ्यो। थालमा एकगाँस भात बाँकी रहँदा काले कुकुर सम्झ्न्थें।

यी सब याद गरिराखेकी पार्वतीले एकसाँझ् भनी, “तपैंलाई कत्ति मन पर्‍या छैन है ह्याँ?”

मलाई भन्न मन थियो– 'तँलाई चाहिं मन पर्‍या छ र?' तर भनिनँ। ढोकानेर झुण्ड्याएको काठको मन्दिरमा बिहान पाँचै बजे घण्टी बजाएर ऊ के माग्थी मलाई थाहा थिएन, तर कहिलेकाहीं पसलमा बत्ती कात्दाकात्दै फरियाको फेरले किन आँखा पुछ्छे, त्यो चाहिं थाहा भएझैं लाग्थ्यो। उसलाई थप रुवाउन मलाई मन थिएन।

छोराले राम्रो नम्बर ल्याएर बाह्र सक्यो र सरकारी कलेजमा इन्जिनियरिङमा नाम निकाल्यो। पछि उसलाई पढाउन चाहिन्छ भनेर राम्रो दाम पाउँदा पनि बेंसीको खेत बेच्न नमानेकी पार्वती खुशीले रोई। गाउँ छोडेपछि पहिलोचोटि म पनि खुशी भएँ।

एक वर्षपछि पार्वती बिरामी परी, जचाउँदा पित्तथैलीमा पत्थरी देखियो। तुरुन्तै अपरेसन गर्‍यौं। त्यतिन्जेल छोराले नै भात पकायो, आमाका लुगा धोयो। उसले मध्यरातसम्म चित्र बनाएर बसेको पार्वती नबुझे पनि हेरिरहन्थी।

मलाई भने बत्ती बलुन्जेल निद्रा लाग्दैनथ्यो, आँखा चिम्म गरेर घरको फराकिलो खाटमा पार्वतीलाई खुट्टो चढाएर सुतेको सम्झ्ँदै पल्टिरहन्थें।

“तपैंलाई सुत्न साह्रै गाह्रो भो, दुइटा कोठा लिनी त?” एकदिन पार्वतीले भनी। “भाडा क्यारेर तिर्चेस् नि?” मैले उसको मन विचारें।

“बेंसी खेत बेत्दिम्ला... अब छोरोलाई खर्च गर्न परेन केरे”, उसले ढुक्कसित भनी।

“दुःखबिमार परे क्यार्नी नि? मेरो आम्दानी छैन, पिन्सिन पनि छैन।” “मोर्चु भन्याथें बाँचिहालें, अब के होला र?”

“मलाईन्त, मलाई?”

“तपैंलाई केप्पनि हुन्न”, उसले उस्तै ओठ लेप्य्राएर ढुक्कसित भनी।

तर पित्तथैलीको अपरेसन गरेको दुई वर्ष नबित्दै उसको पेट बेस्सरी दुख्न थाल्यो। छोराले यो र त्यो अस्पताल दौडायो। कसैले ग्याँस्ट्रिकको त कसैले दुखाइ कम हुने ओखती दिए।

एकसाँझ दुखाइले नराम्ररी छटपटाई। अस्पताल लगेर अनेक जाँच गरेपछि थाहा भो, एपेन्डिसाइटिस् भइसकेको रहेछ। २४ घण्टाभित्र गरिसक्नुपर्ने अपरेसन गर्न निकै ढिला भइसकेकोले डाक्टर नै डराएजस्तो थियो।

अपरेसनलाई तुरुन्तै डेढ लाख रुपैयाँ चाहियो। म आत्तिएँ, छोराले मावली गुहार्‍यो। पैसा त जम्मा भयो, तर पार्वती अपरेसन गरुन्जेलसम्म पनि टिकिन।

उसलाई छोरोको कमाइ खाने कत्रो धोको थियो, तर ऊ इन्जिनियर भएको देख्न नपाउँदै मरी। कुनै भाग्यमानी नकच्चरीले छोरो आफ्नो भागमा पारेको देख्न नपाई गई।

ऊसँगै मरे छोराले पढाइ सकेपछि गाउँ गएर बस्ने मेरा सपनाहरू। उसले ओठ लेप्य्राएर हाँसेको हेर्ने, उसलाई लिएर एकफेर काशी पुगेर आउने रहर सबै गए। 'मोर्चु भन्याथें बाँचिहालें, अब के होला र?' भन्थी, निठुरीले झुक्याई!

पार्वती गएपछि मलाई सिङ्गै शहरसित दिक्क लाग्यो। गाउँ गएँ, तर धेरैदिन बस्न सकिनँ। आँगनको छप्पनीका कापकापमा उम्रेका झार उखेलेर फर्किएँ। कोठामा ब्यूँझ्दा कान उसले घण्टी बजाइरहेको सुन्न तड्पन्थे।

छोराले पसल बेचेर कलेज नजिकै डेरा सार्‍यो। यसपालिको कोठामा दुइटा ठूल्ठूला झ्याल थिए, घाम मजाले कोठाभित्रै पस्थ्यो। तर, जीवनै अँध्यारो भएपछि बाहिरी घामको के महत्व हुँदोरै'छ र?

छोराले पढाइ सक्यो। टोपी ओढेका दिन अरूका छोराछोरीले बाउआमासँग फोटो खिचाए। मेरो छोराले मलाई 'बा, आऊ फोटो खिचाम्' भन्न सकेन। कोठामा फर्केपछि धेरै बेरसम्म ट्वाइलेटबाट निस्केन। मेरो मुटु फुट्लाझैं भयो।

मलाई बेलै नभई बुढ्यौलीले गाल्न थालेको थियो। राम्ररी पिसाब नआउने, आइहाले पनि खलास् नहुने हुन थाल्यो। छोरालाई भन्न सकेको थिइनँ। छिनछिनमा ट्वाइलेट गएको उसैले याद गरेछ, सोध्यो, “सन्चो छैन क्या बा तपाईंलाई?”

आमा गएदेखि ऊ अलि बढी नै मेरो ख्याल राख्थ्यो। भोलिपल्टै अस्पताल लग्यो। मैले भवानी पण्डितको वाक्य सम्झें, “बाउआमाको ग्रहले पिर्च।”

आमाको वर्षदिन कट्नासाथ रुद्रलाई मावलीले बिहेको दबाब दिए। उसले पढाइ सकेर भर्खरै जागिर थालेको थियो। यति छिटै बिहे गर्ने रहर नहुँदा नहुँदै पनि नाइँ भन्न सकेन। बिहे भने आफैंले रोजेकीसँग गर्‍यो।

मैले धेरै तामझाम नगरी चिटिक्क परेको तीनकोठे फ्ल्याटमा चिटिक्क परेकी बुहारी भित्र्याएँ। इन्डियाको कमाइले जोडिदिएका पार्वतीका पुराना गहना लगाएर ऊ भित्र छिर्दा मेरो मन पार्वतीलाई सम्झेर फेरि हुरुक्क भयो।

हामीभन्दा हुनेखानेकी छोरी, बुहारी उजेली थिइन्। बैगुन थिएनन्। उनी आएदेखि घर थोरै भए पनि रमाइलो भएको थियो। तर, साह्रै कम बोल्थिन्, कामै परे मात्र। भान्सामा तरकारी केलाइदिने निहुँले केही बोलूँ कि जस्तो लाग्थ्यो, फेरि 'यो बूढो कति आउँदोरै'छ विनाकाम, खानेबेला नआएर' भन्छिन् कि भनेर हच्कन्थें।

बिहान एउटै मोटरसाइकलमा निस्केपछि छोराबुहारी एकैचोटि बेलुकी आउँथे। सँगै बसेर दुःखसुखका बात मारिदिने साथे चाहिएको थियो मलाई, पायो छोराले।

दिनभर म एक्लो हुन्थें। टीभी हेरिरहन पनि झर्को लाग्थ्यो। भित्तामा पार्वतीको फोटो हेरेर टोलाउँदाटोलाउँदै कहिले त्यहीं घुप्लुक्क निदाउँथें।

कहिलेकाहीं सपनामा थालभरि मकै र गिलासमा मही बोकेर 'रुद्रेका बा' भन्दै आउँथी ऊ। ब्यूँझँदा घरबेटीकोमा काम गर्ने कमला 'अंकल' भन्दै खाजा बोकेर च्यानल गेट हल्लाइरहेकी हुन्थी।

अहिलेका घरबेटी साह्रै असल थिए। छोराबुहारी मेरैैजस्तो बिहान जान्थे, बेलुका आउँथे। घरमा ७०/७५ की बूढी र कमला मात्र हुन्थे। मलाई ती बूढीको ठाउँमा बूढा भइदिएको भए बोल्ने साथे हुन्थ्यो जस्तो लाग्थ्यो। लाग्न त मलाई मेरो ठाउँमा पार्वती बाँचिदिएको भए हुन्थ्यो भन्ने पनि लाग्थ्यो।

राति निद्रा लाग्दैनथ्यो। कहिलेकाहीं बरण्डामा निस्केर चुरोट खान्थें। एकदिन ट्वाइलेट जाँदै गर्दा छोराले भनेको सुनें, “बा साह्रै एक्लो हुनुभो, बच्चा भए टाइमपास गर्न सजिलो हुन्थ्यो...।”

“तिम्ले भनेर झ्न् रेडी नै नभई बिहे गरें, अब बाको लागि अहिल्यै बच्चा पाउन त सक्दिनँ... मेरो आफ्नो लाइफ हुँदैन र?”

छोरो बोलेन, मलाई बोलोस् जस्तो पनि लागेन।

तीजको दिन थियो, बुहारी फ्रिजभरि खानेकुरा राखिदिएर माइत गइन्। छोरो एक हप्ताको लागि फिल्ड हिंड्यो। बाहिर झ्झर्री पानी परिरहेको थियो। मलाई तीज यति निरस कहिल्यै लागेको थिएन। बिहान एघारै बजे रक्सी लिएर बसेको थिएँ, कमलाले च्यानल गेट बजाई।

“ओहो, ब्यान्ब्यानै? तीज त तपाईंलाई पो आएछ!” उसले करेलाको अचार टेबुलमा राखिदिंदै भनी।

“तिमी माइत गइनछ्यौ त?”

“घर भएपो माइत अंकल...” उसले बानी परेको लवजमा भनी।

पार्वतीले कति तीज म एक्लै हुन्छु भनेर माइत नगएरै मनाएकी थिई। जाँडको रमरममा मैले कमलालाई मनमा गुम्सिएका व्यथा कहें। उसले ज्ञानी बालकले जसरी सुनिरही।

“मसित ब्या गर्छ्यौ कमला?”

कुन रन्कोमा मैले त्यसो भनें थाहै पाइनँ। च्यानल गेटैनेर पुगेकी कमलाले फरक्क फर्केर पुलुक्क हेरी अनि सरासर माथि उक्ली।

भोलिपल्ट दिउँसो खाजासँगै जिन्दगीप्रतिका आफ्ना केही थान गुनासा लिएर ऊ नछिरुन्जेल मेरो मनमा शान्ति भएन।

४० को हाराहारीकी कमला खाइलाग्दी थिई। चार छोरी जन्माएपछि बाउले अर्की ल्याएर उसकी आमालाई छोडिदियो। उसलाई सानिमाले शहरको एउटा घरमा काम गर्न राखिदिइन्। ऊ एक्लैले तीन बहिनी पढाइ, बिहेदान गरिदिई। आमा मरिन्, उसको उमेर ढल्कियो।

ऊ काम गर्ने घरमै प्लम्बर काम गर्न आउने एउटा केटोले पछ्यायो। उसले बिहे गरी। एउटा छोरो पनि पाई। सुखदुःख गरिखाने भनेर उनीहरू गाउँ फर्किए। मध्य असारमा ऊ आफन्तकोमा गएको राति पहिरोले गाउँ लग्यो। लग्यो, उसका चुरापोते र कोखको सन्तान पनि।

एकसाँझ् मैले भएभरको आँट जुटाएर कमलालाई बिहे गर्ने कुरा गर्दा छोराले खाँदाखाँदैको भात छोडेर हात चुठ्यो। राति ट्वाइलेट जाँदा बुहारी बोलेको सुनें, “६५ लागिसक्दा नि के तरुनी स्वास्नी चाहिएको?”

अघि चापिसक्यो जस्तो भएको पिसाब दुईताल तुरुक–तुरुकभन्दा झ्रेन। आफ्नो ज्यान आफैंलाई दिक्कलाग्दो भयो, आँखा रसाए। पार्वतीलाई सोध्न मन लाग्यो, “तँलाई पनि मलाई तरुनी स्वास्नी नै चाहिएको जस्तो लाग्छ?”

त्यसपछि मैले कमलाका कुरा गरिनँ। बुहारीले दिएको खान्थें, ओछ्यानमा पल्टन्थें। अब बाँच्नु कति नै छ र!

तलमाथि गर्दा कमलाले हेर्थी। त्यो नजरमा कति माया कति दया थियो, म जान्दिनथें। एकदिन च्यानल गेट बाहिरैबाट भनेर गई, “यस्तो ज्यूँदो लाश भएर कतिदिन बाँच्छौ? मलाई नगर्ने भए नगर, तर एउटा साथे खोज बूढा। तिम्रो पीर तिम्लाई बाहेक कल्लाई थाछ?”

त्यसैरात सपनामा पार्वतीले भनी, “घर जाऊ रुद्रेका बा, कमलालाई लेर जाऊ।” मलाई त्यति भए पुग्यो। मंसीरको पहिलो हप्ता नजिकैको मन्दिरमा कमलासित बिहे गरें। गलाको माला झोलामा राखेर हामी त्यतैबाट गाउँ गयौं।

कमला मसित हिंडेको देख्दा गाउँलेहरू आँखैआँखाले कुरा गर्थे। एक्लै भेट्दा प्याच्च भन्थे पनि, “काँडी ल्याउनुभो यस्ती काइदाकी...'

मेरो छातीमा चस्स बिझथ्यो। कमला यस्ता कुरा एउटा कानले सुनेर अर्कोले उडाइदिन भन्थी। छोराले प्रोष्टेटको कुरा त सोध्छ कि भन्दै कुरिरहें, तर फोन आएन।

कमलाले खेताला खोजेर मक्किएको बाख्राको खोर बनाई। हातको बाला बेचेर लैनो भैंसी किनी। उसले घ्वार्रघ्वार्र दही मथेको सुन्दा भान्सामा पार्वती छे झैं भो।

उसले दिएको एक अम्खोरा मही मैले एकैचोटिमा सकें। राता गाला अनि पुष्ट छातीमा दङ्ग परेर मैलाई हेरिरहेकी कमला निकै राम्री देखिई। मैले उसका आँखैमा हेरेर भनें, “कमला, म मरेपछि झ्ट्टै अर्को साथे खोज्नू है!”

प्रतिकृया दिनुहोस