कला/साहित्यमंगलवार, आश्विन १७, २०७४

सियोको टुप्पो

हिमालखबर

छम गुरुङ

म भीडमा बसी आफ्नै अनुहार सम्झेर चुइँगम चपाइरहेछु 

केही न केही सोचिरहेछु

डर लाग्छ मलाई

सबसे डराउनेसँग डर लाग्छ

भीडमा नाजुक बेलुन बन्छ अनुहार पनि

परिचयहीन


कथा नमारिने कवितामा पनि गतिहीन डरले गल्ती गर्छु

यत्ति डर लाग्छ कि गल्ती गरेको खुशीले पनि बाँचेको छु

गतिशील गल्ती मन पर्छ

हिंडिरहने गल्तीभन्दा थपक्क बसिरहने सही

हुन सक्छ सर्पको दाँत

पाँच रुप्पेको चुइँगम चपाउँदा बनेको बेलुन

कति बलियो?

जस्तो कि यहाँ मेरो हराइएको इतिहास कति कमजोर?

केही लेख्दालेख्दै

केही न केही सोच्दासोच्दै

एउटा पेन्टिङ लेख्दैछु, यसरी बोल्दैछ यो―

धागो सियोहरुको साँघुरो आँखाबाट पार भएको छ

हजारौं कुर्सीका एकेक खिया लागेको काँटीमा एक छेउ बाँधिएको छ

अर्को छेउ धागोले मलाई बाँधेर जीवन दिएको छ

लाखौं सियोहरुको भीडमा

धागोले बाँधिएको बेलुन, म यस्तो हुँ

कति अण्डकण कति वीर्यकणको तौलमा म बनेको हुँ

जेलिएर धागोहरुको एउटा कोक्रो तयार भएको छ

कोक्रोले आकाश छेकिएको छ

सियोहरु असंवैधानिक नाचिरहेका छन्

कोक्रोमा बेलुन माकुराको आहाराझै अल्झिएको छ

अब सास थुनिएर बाँचेजस्तो बाँचेको छु

भनिहाल्न धेरै सजिलो भएको छ

केही न केही

कोही न कोहीले बाँधेर नै यहाँ

म जिउँदो छु किन?

म भाग्दैछु

मलाई संसारले लखेट्छ

म पनि संसारलाई लखेट्न सक्छु

पेन्टिङ सकियो

म चुइँगम फालेर

पृथ्वीसँगै घुम्दै नयाँ उँचाइमा ब्यूँझेको छु―

मलाई बेलुन बनाएको कोही अरुले नै हो

के मेरो लागि तिमी सियोको टुप्पो हौ?

प्रतिकृया दिनुहोस