ब्लगसोमवार, आश्विन १६, २०७४

बैसाखी र बाडुली

शेखर खरेल

पढाइ चाँडै सिध्याएर यूरोपका भव्य शहरहरू घुम्ने मेरो सपना एउटा यस्तो सन्की दुर्घटनाको शिकार भयो, जसले मसामु दुई चीज मात्र बाँकी राखिदियो– बैसाखी र बाडुली।

ती दिनहरू २४ स्याण्डी हिल, ऊलवीच र ग्रीनवीच डिस्ट्रिक्ट हस्पिटलबीच बाँडिएका थिए। 

सन् २०००, अप्रिल, केही दिनअघि मात्र दीक्षान्त समारोहका लागि तीन सय पाउण्ड दाखिला गरेपछि, मनमा रहरका स्वप्निल महल ठडिएका थिए, जसलाई निमेषभरको दुर्घटनाले भताभुङ्ग बनाइदियो।

स्कटल्याण्डका प्रस्तर किल्ला, मेडिटेरानियन सामुद्रिक तट, भेनिसका वाटर क्यानल र ग्रीसका गल्लीहरू नाप्न उद्यत मेरा गोडाहरू अचानक बैसाखीमा झुण्डिन पुगे।

डिजर्टेसन नामको प्राज्ञिक बहीखाता बन्द गरेर दीक्षान्तपछिको यायावरी चोला जिउने मेरो इच्छामा अचानक ब्रेक लाग्न पुगेको थियो। त्यस कार वा मोटरसाइकल चालकले बेलैमा ब्रेक थिचिदिएको भए, मेरो योजनामा ब्रेक लाग्ने थिएन। र, दिनहरू कैद हुने पनि थिएनन्।

समय योजना मुताविकै चलिरहेको थियो। ग्रीनवीच विश्वविद्यालयमा स्नातकोत्तरको विषय 'लिटरेचर एण्ड क्रिटिसिजम्' को नियमित कक्षा अन्ततिर आइरहेकाले धेरै समय ऊलवीच कलेजको पुस्तकालयमै बितिरहेको थियो।

तर, मे १ को बिहानीले यूरोप यात्राको मेरो राजमार्गलाई अचानक अस्पतालतर्फ मोडिदियो। यो यस्तो 'टर्निङ प्वाइन्ट' बन्यो, जसले मेरा निम्ति एउटै मात्र गन्तव्य तय गरिदियो– झोला तुम्बी बोकेर घर फिर्ती।

त्यस दिन प्लम्स्टिड हाइस्ट्रिटको फूटपाथमा बज्रिनु अघिसम्म स्वप्निल कल्पनाहरूले मनमा कावा खेलिरहेका थिए। सेप्टेम्बरतिरको दीक्षान्त कार्यक्रमसम्मको बाँकी चार महीनामा जति चाँडो 'डिजर्टेसन' बुझायो, उब्रेको समय घुमफिरका निम्ति बोनस हुन सक्थ्यो।

उसो त अर्को एक वर्षसम्मै भिसा बाँकी रहेकाले फर्किहाल्नुपर्ने कानूनी अड्चन पनि थिएन। तर पनि एकडेढ महीनाभित्रै डिजर्टेसन बुझाउन सकिए, अर्को त्यति नै समय घुमघामका लागि छुट्याउन सकिन्थ्यो।

लण्डनको वर्ष दिन लामो बसाइमा प्रशस्तै साथीसंगति बनिसकेका थिए। स्पेन, इटाली, ग्रीसदेखिका ती संगतिहरूले आआफ्ना शहर भ्रमणको खुला निमन्त्रणा दिएका थिए।

यस बाहेक यूरोपका केही शहरमा चिनारू र दौंतरी पनि थिए। दुई साताअघि मात्र इस्टरको विदामा डेढ साताको पेरिस बसाइ सकेर फर्किएको थिएँ। त्यहाँ पुराना मित्र राजेश खतिवडाले आतिथेय प्रदान गरेका थिए। भाषा विज्ञानका विद्यावारिधि र इनाल्को (इन्ष्टिच्यूट न्यासियोनाल दे लङ्ग ए सिभिलाइजेसियों ओरियान्टाल) का अध्यापक राजेश तिनताक एउटा गैरसरकारी संस्थामा काम गर्दथे।

कार्यालयले उनलाई पेरिसका सम्भ्रान्तहरू बस्ने रू दु बाँकमा अपार्टमेन्ट उपलब्ध गराएको थियो, जहाँबाट प्रसिद्ध लुभ्र संग्रहालय केही मिनेटको मात्र दूरीमा थियो।

यूरोपमा मित्र पाउनुको अर्थ यात्रालाई आर्थिक र मनोवैज्ञानिक दृष्टिले मजबूत बनाउनु हो। त्यसमाथि पनि विद्यार्थीको हैसियतमा पार्टटाइम मात्र गर्नेहरूका लागि शहरैपिच्छे होटलमा बास बस्नु भनेको आफ्नो थैली सुकाउनु हो।

प्लम्स्टिड हाइस्ट्रिटस्थित मिस्टर पटेलको फोन बुथबाट घरमा फोन गरेर ब्रेकफास्टका सामल किन्न केही अघि मात्र के बढेको थिएँ, अकस्मात् कुनै वेगवान वस्तुले पछाडिबाट हिर्कायो। कुनै ढलेको वृक्षको भाँती सडकपेटीमा बजारिएँ।

बिहानीपखको शान्त सडकको ठूलो आवाजले पैदल यात्रु र पसलेहरूको ध्यान खिच्यो। रगतपच्छे भुइँमा पछारिएको म भीडद्वारा घेरिएको थिएँ। देब्रे खुट्टा र टाउकोमा असह्य पीडा भइरहेको थियो। टाउकाबाट निस्किएको रगत निधार र गाला हुँदै चिउँडोसम्म बगिरहेको थियो। देब्रे पैताला मानौं पछाडि फर्किएको थियो। देब्रे नलीखुट्टा उठ्न सक्ने अवस्था थिएन।

तर पनि म शतप्रतिशत होशमा थिएँ। घेर्नेहरू बीचको एउटा अनुहार मैले चिनें। फेटाधारी शिख मिस्टर सिंह मैले पार्टटाइम काम गर्ने ऊलवीचको पिज्जा हटका नियमित ग्राहक थिए।

उनले मेरा साथीहरूबारे सोधखोज गरेपछि मैले आफू बस्ने ४१ ग्रिफिथ स्ट्रिटका आइभरी कोस्टका साथी ब्राओलाई बोलाइदिन अनुरोध गरें।

निमेषभरमै ब्राओ देखा परे र चिनारू सुशील थापा पनि। यसैबीच साइरनको आवाजले नराम्ररी कान छेड्यो। कुनै दुर्घटना वा भवितव्य पर्दा एम्बुलेन्स, प्रहरी भ्यान र दमकल एकसाथ पुग्ने हुँदा ती सवारीका साइरनका कारण वातावरण कोलाहलमय बन्न पुगेको थियो।

एम्बुलेन्सका दक्ष स्वास्थ्यकर्मीले मलाई कुनै फूल उठाए सरी मुलायम पाराले स्ट्रेक्चरमा उठाए र एम्बुलेन्समा हाले। अस्पतालको आकस्मिक कक्ष झैं लाग्ने एम्बुलेन्सभित्र सबै खाले आपत्कालीन उपचार उपलब्ध रहेकाले उनीहरूले मेरो प्राथमिक र जीवनदायिनी (लाइफ सेभिङ) उपचार शुरू गरे।

वायुवेगमा निमेषभरमै ग्रीनवीच डिस्ट्रिक्ट हस्पिटलको 'ए एण्ड ई' (एक्सिडेन्ट एण्ड इमर्जेन्सी) कक्ष पुर्‍याए।

त्यहाँ पुगेपछि मात्र मैले दुर्घटनाको कारण र आफ्नो स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी पाएँ। प्रहरीका अनुसार, एउटा मोटरसाइकललाई अर्को कारले केही अघिदेखि पछ्याउँदै आइरहेको रहेछ।

कहिले मोटरसाइकल अघि त कहिले कार अघि हुँदै ती सवारी प्लम्स्टिड हाइस्ट्रिटसम्म आइपुगेछन्। र, ठीक यसैबेला कारले मोटरसाइकललाई पछाडिबाट धक्का दिएपछि मोटरसाइकल फूटपाथतर्फ उछिट्टिएछ। अनि संयोगवश त्यसले मलाई पछाडिबाट पछारेछ।

दुर्घटनाबाट मोटरसाइकल चालकलाई सामान्य चोट लागे पनि मेरो चाहिं देब्रेखुट्टाको नलीहाड (टिविया) को मल्टिपल फ्य्राक्चर भएको रहेछ। मैले 'ए एण्ड इ' मा ड्राइभिङ सूट लगाएका तिनै चालक पनि देखें।

तर, त्यो व्यक्तिले कहिल्यै पनि मतिर टाउको फर्काएन, सहानूभूतिको शब्द त परै जाओस्। प्रहरीको वृत्तान्तबाट ती मोटरसाइकल चालक र कार चालकबीच पुरानै दुश्मनी वा सडकमा सवारीका दौरान वैमनश्य (रोड–रेज) भए जस्तो बुझिन्थ्यो।

कार चालक भने फरार भइसकेको थियो। धेरैपछि मैले थाहा पाए अनुसार, कार चालकले अन्त कतै कार छाडेर आफ्नो सवारी चोरी भएको उजुरी हालेको थियो रे। यता, प्रवासमा कसूरदारलाई न्यायको कठघरामा ल्याउनु भन्दा पनि उपचार नै पहिलो प्राथमिकता रहेकाले मैले को दोषी भन्नेबारे चासो दिइनँ।

औपचारिकताका लागि डिस्चार्ज भएपछि प्रहरी चौकीमा निवेदन चाहिं दाखिला गरें। त्यसपछिको तीन महीनाको लण्डन बसाइमा न प्रहरीबाट मलाई कुनै सूचना प्राप्त भयो न त मैले नै 'फलोअप' गरें।

शल्यक्रिया गर्नु परेकाले मैले पाँच दिन अस्पतालमा विताएँ। बेलायत एउटा लोककल्याणकारी राज्य रहेकाले औषधि उपचारदेखि अस्पताल रहँदासम्मको खानपिन निःशुल्क थियो।

बैसाखीमा आफ्नै भरमा मात्र बस्न असम्भव भएपछि ४१ ग्रिफिन रोडको डेरा छाडेर अनन्य मित्र महेश रेग्मीको सदासयतामा उनको २४ स्याण्डी हिल, ऊलवीचमा अस्थायी डेरा जमाएँ।

साथीभाइको स्नेही व्यवहार र बेलायतको अब्बल स्वास्थ्य सेवाका कारण तङ्ग्रिंदै थिएँ। भयानक दुर्घटना हुँदाहुँदै पनि चोट घुँडामुनि लाग्न गएकाले सुरक्षित हुनसकेको रहेछु। होइन भने हजार सीसीको मोटरसाइकलबाट आँधीको भाती ठोक्किंदा ज्यान जोगिने कुनै गुञ्जाइस नै थिएन।

यायावर बन्ने सपना तुहिएपछि घर फर्किने दिन गन्न थालें। तर, सरक्कै अर्को दिन टिकट काटेर फर्कनु पनि संभव थिएन। किनकि, उपचार जारी थियो।

बैसाखीमा झुण्डिएका मेरा गोडाहरूले ऊलवीच र ग्रीनवीच डिस्ट्रिक्ट हस्पिटलबीचको दूरी तय गर्न थाले। यसै बेला मलाई घर सम्झेर बाडुली लाग्न थाल्यो।

दिन जति बढ्दै जान्थ्यो, बाडुली पनि बढ्दै जान्थ्यो। तीन महीना डेरा र अस्पताल गर्दै बिताएपछि म एकजोर बैसाखी च्याप्दै घर फर्किएँ।

प्रतिकृया दिनुहोस