बाघको आक्रमणबाट एक जनाको मृत्यु
पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
१६ असोज बिहान वनमा निउरो टिप्न गएकी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको स्थानीय बासिन्दाले बताए ।
बिहान आठ-नौजना साथी मिलेर निउरो टिप्न जंगलमा गएका उनीहरु मध्ये एकजनालाई बाघले आक्रमण गरेपछि अरु ज्यान जोगाउन भागेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको जानकारी आएपछि हात्तीसहितको नेपाली सेना र निकुञ्जको टोली घटनास्थलमा पठाइएको बताए ।
निकुञ्जका अनुसार एक वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् । रासस