कला/साहित्यसोमवार, आश्विन १६, २०७४

खोल्देहली

हिमालखबर

भुवन निस्तेज

“सिपालु राजा त अंग्रेज, अल्मोडा गाडी चलायो।” 

“हमरा राजा तीन सरकारका मित्तुर, काँ अल्मोडा है कम?”

“छैबिसी सातगाउँ, मालको बिर्ता, पुर्पुरामा भया सीप कि चाइयो?”

गाउँमा अक्सर राजा या जिम्वालसाबको प्रशस्तिमा यस्तै चर्चाहरू हुने गर्थे। कथंकदाचित अन्यथा भए साह्रै अनिष्टकारी दुष्परिणाम निस्कन्थ्यो।

कतिका चारपाटा मुडिएका, कतिका हात–खुट्टा भाँचिएका थिए। सुनिन्थ्यो– बडाहाकिमले पनि जिम्वाल (राजा साब) को आदेश मान्छन् रे! गाउँमा राजाका चरहरू विचरण गरिराख्ने चिसो सन्त्रास व्याप्त थियो।

जिम्वाल मनी चन्दका पाँच छोरामध्ये माइला धिर्क चन्द जिम्वाल थिए। जेठो हुँदाहुँदै पनि खसिनी पट्टिका भएकाले पिरी चन्दले जिम्वाली पाएनन्। उनी केही टाढा मालु खेतमा बस्थे। अरू दुई भाइ मालको बिर्ता हेर्दथे, एकको बाल्यकालमै मृत्यु भएको थियो।

एउटा अनुशासित बस्ती– सल्कोट, जहाँ निर्धारित जीवन बाँच्न सबै अभ्यस्त थिए। कोटघरको कामका लागि कसैलाई भन्नु नपर्ने।

तर अवस्था सधैं उस्तै रहन्न। सल्कोटमा पनि त्यस्तै भयो। पर्मा खत्रीको बेपत्ता छोरो जोगी ११ वर्षपछि घर फर्कियो।

चार छोरी पछि जन्मेको थियो, जोगी। पर्मा बेहद खुशी थियो। उसले धुमधामले छोराको न्वारान गर्‍यो। गाउँलेहरूले पर्मालाई दुबो हाले। राति किस्ना दमाईले सगरामसिंह कार्कीको भडाहा (वीरगाथा) गायो–

जै भुमि जनम्यो कारकी सगराम

उई भुमिकी जै हो,

जै माइ जनम्यो कारकी सगराम

उइ माइकी जै हो...।

शिशु भने स्वस्थ थिएन। वैद्यले पर्मालाई जोगीको झोलीमा हाल्न सुझाएपछि तदनुरूप प्रक्रिया शुरू भयो। पर्माले छोरालाई जोगीको हातमा राखिदियो र एक छिनपछि सवा रुपैयाँ तिरेर निखन्यो। जोगीबाट निखनिएकाले शिशुको नाम जोगी भयो।

ठूल्ठूला रूख चढ्नु, गोलामा ढुंगाले हानेर अरिङ्गाल बिच्काइदिनु, अरूका खेतबारीमा गाईगोरु लगाइदिनु उसका रुचिकर काम थिए। ऊ जिम्वालसाबको सवारी हुँदा पनि निहुरिन्नथ्यो। गोःरा पर्वमा देउडा खेलिराखेका महिलाहरूका चुल्ठा एकापसमा बाँधी दिन्थ्यो। खेल छुट्ने बेला कपाल लुछिंदा उनीहरू गाली गर्थे, “कैकी राणको हो ब...?”

छोराका उपद्रवले पर्मा र कङ्कुरालाई शिर निहुराउने बनाउँथ्यो, तर जति सम्झाए पनि टेरपुच्छर नलाउने।

साथीहरू लिएर धर्मे बाजेका काँक्रा चोर्न जाँदा एउटा पनि काँक्रो नफलेको देखेर झयाङ नै उखेलेर हिंडेछ। पर्माले त्यसदिन उसलाई बेस्सरी भकुर्‍यो र मकैको थाँक्रोमा बाँधेर राख्यो। साँझ् वनबाट फर्कंदा छोराको हालत देखेर कङ्कुरा रुँदै कराई, “हातमा किडा...।”

धेरैले बिहेपछि ग्रह शान्त भएर सुध्रिन सक्छ भनेकाले १३ वर्षमा जोगीको निम्ति दुलही ल्याइयो। कङ्कुराले माइत गएकी दुलहीलाई ल्याउन छोरालाई अह्राई। त्यसको चार दिन पछि छोरी पुर्‍याउन सम्धी आफैं आए। जोगी त गएकै रहेनछ। घरमा रुवाबासी छायो। कैयौं कुरा सुनिए। कसैले चौध वर्षमा जोगीले छोरो फिर्ता दिनु भनेकाले ऊ कुटीतिर गयो भने। कसैले कालीमा फाल हान्यो भने, कसैले काली तर्‍यो भने।

दुःखको अनुभूतिका निम्ति पनि फुर्सत चाहिने रहेछ, जुन जिम्वालका बँधुवा मजदूर बनेर जोतिइरहेका सल्कोटवासीसँग थिएन। समयसँगै सबैले जोगीलाई बिर्संदै गए। केवल पर्मा र कङ्कुराले सम्झिरहे।

११ वर्षपछि एकदिन कङ्कुराले घर बाहिर आवाज सुनी, “इजा (आमा)...!” निस्केर हेर्दा उसलाई आफ्ना आँखाहरूमा विश्वास भएन। तर, त्यहाँ जोगी नै उभिएर मुस्कुराइरहेको थियो– दुब्लो पातलो, ख्याउटे। अनुहारमा दाह्रीजुँगा थपिएछन्। कङ्कुरा रुन थाली। दुःख होस् या सुख, मान्छेको आँसु झ्रिहाल्ने! यसरी जोगी फर्कियो, अचानक। ऊ गाउँलेहरूलाई अंग्रेज मुलुकका कुरा सुनाएर दङ्ग पार्थ्यो–

अंग्रेज राजाको ठूलो घर छ, त्यसका सामु जिम्वालको घर त उसको खर्कको गोठ जत्रै!

भावरमा रेल चल्यो।

अल्मोडा गाडी पुगिसक्यो।

अंग्रेज राजालाई गद्दी छोड्न भन्दैछन्।

अंग्रेज राजाले 'चाहा' खान सिकाउँदैछ।

त्यता त बाहिर सरेकी केटी पनि बिहे नगरेका हुन्छन्।

साहेबहरू अंग्रेजी बोल्छन्, “ब्लडी फूल ...।”

यसरी ऊ गाउँलेहरूको सामान्य ज्ञान बढाउँथ्यो।

जोगीको उरन्ठेउलोपनमा खासै कमी आएको थिएन। पर्मालाई चिन्ताले खान थालेको थियो– छोरोले जिम्वाल्को कुनै आदेश अवज्ञा गर्‍यो भने? उसलाई परिणति थाहा थियो। एकपल्ट रङ्खोलाको सुन्दर सिंहले जिम्वाल विरुद्ध बोल्दा सेरीको जात्रामा सिपाहीहरूबाट निर्घात कुटियो र त्यही कुटाइ काललाई निहुँ भयो। तर, यसबारे कतै, कुनै चर्चा भएन। भित्ताका पनि कान हुने समय थियो त्यो।

एक दिन पर्मालाई कोटघरबाट बोलावट आयो। जरूरी काम परेर जिम्वालसाबले तुरुन्त बोलाएका रे! पर्माको मुटु काम्न थाल्यो। कतै जोगीले कुनै...

गाउँमा सबभन्दा आकर्षक, तीनतला भएका, पत्थरले छाएका, चुन पोतिएका, ठूला खोल्देहली (मूलढोका) र बार्दली भएका चारवटा चौपाखे घर। फराकिला आँगन, अलग धनसार, साँझ् लाल्टेन बालिने ठाउँ। यही थियो सल्कोटको कोटघर। यीमध्ये पनि सबभन्दा पुरानो र बढी काष्ठकला भएको घरलाई बडो कोट भनिन्थ्यो। विशेष अवसरहरूमा जिम्वाल साब बडो कोटको पटाङ्गिनीमा बसेर परम्पराबाट चलिआएका कार्य सम्पादन गर्ने गर्थे। तिनमा दशैं, सेरीको देवी मन्दिरमा जात (जात्रा) लैजाने, न्याय सम्पादन गर्ने इत्यादि काम पर्थे। त्यो भवन नै शक्तिकेन्द्र, राजधानी, न्याय मन्दिर सबथोक थियो।

सेतो मयलपोस, सेतै पगडी लगाएका जिम्वाल बडो कोटको बरण्डामा बसेर हुक्का तान्दै थिए। धर्मे फौंदार कोइला चलाउँदै थियो। पिंढीमा बसेका थिए, देवी मन्दिरका भण्डारे, मुखिया, धामी, पुरोहित र धर्मे बाजे।

“जौ दे राजा!”, पर्माले शिर झुकाएर दायाँ हात निधारनेर ल्याउँदै अभिवादन गर्‍यो।

“जै हो। के छ त पर्मा, कुशल त छ?”, राजा साबले अभिवादन फर्काए। उसले टाउको कन्याउँदै भन्यो, “हजुर!”

जिम्वालको इशारा पाएपछि पुरोहितले भन्न थाले, “तेरो जोगी घरिएको रैछ। ब्वारी त पैल गइ कि कसो?”

“हजुर, सात वर्ष भया...।”

“ए, लौलौ। हेर, जोगी देश घुमेको रैछ। तो एक काम गरन्छ, कसो?” “हजुर...?”

पुरोहितले भने, “हेर, रौतेला (राजकुमार) ठूला भया। अच्याल नेपाल ठूला घरका ननतिना (बालबालिका) पढाइ गद्दान। तबै जोगी रौतेलान अल्मोडा पुर्‍याउ।”

जिम्मावाल साबले थपे, “झोली–झिम्टा बोक्न सँगै जोगीले गए सजिलो होला भनेर हो।”

“हजुर, जोगी असयानो (सानो, अपरिपक्व) छ....”, पर्माले संशय व्यक्त गर्‍यो।

“क्या असयानो? याँ गाउँ–गाउँ साण मचियो हम नाई जान्ना?” धामीले झ्पारे। पर्माले घर गएर छोरालाई अल्मोडा जानुपर्ने सुनायो, “रौतेलान की झोली–झिम्टा बोकेई।”

छोराले भरिया भएर नजाने भनेपछि बाबुले नाइँनास्तिको सम्भावित परिणामहरू सम्झायो।

जोगीले भन्यो, “देशमा अंग्रेज राजालाई त गद्दी छाड भन्न पसिग्या, यो जिम्वाल को हो?”

छोराको कुराले पर्माको मुटु कमायो। उसले अघिका अनेक दुष्परिणामहरू सुनाएर सम्झायो र बडो मुश्किलले राजी गरायो।

अन्त्यमा जोगीले बुवालाई भन्यो, “तो राजा तैको खोल्देहली वालो घर हुनाले ठूलो भयो हो त? बाबा हम लै लाउँला खोल्देहली वालो घर।”

बुवाले सम्झायो, “जिम्वाल, मुखिया रे पण्डा बाहेक कैको छ खोल्देहली वालो घर? एक फेर चन्नरीले लगाउन्या जिद्द गर्‍यो। राजाका मान्स आइबर म्वाल चिरी दरुँवा बनाइगया। चन्नरीको उठिबास गरिदियो। पाल्पा झेल कुरी आयो बिचारो, नचाइन्या कुरडी जन गरै।”

त्यसपछि जोगी जिम्वालसाबका छोराहरू लिएर अल्मोडा हिंड्यो। उसका तीनजना साथीहरूले लत्ताकपडा, सातु–सामल आदि बोके।

रौतेलाहरू सकुशल अल्मोडा पुगेको खबर आयो, तर चैतको अन्त्यतिर हिंडेको जोगी र उसका साथीहरू भदौ लाग्दासम्म पनि घर फर्केनन्। यसपालि पर्मालाई थाहा थियो, जोगी अल्मोडामा अंग्रेजको घरमा पाले भएर बस्नेछ।

गौरा आएको थियो। गोर्‍या खलोमा महिला–पुरुष डेउडामा मस्त थिए। कङ्कुरा पनि ढिस्कोमा आएर बसी। छेउमै पुरुषहरूले ठाडो खेल लाएका थिए। उनीहरूको गीतमा अठौती मल्ल र स्थानीय देवताहरूको युद्ध वर्णन थियो–

ए भागी झा अठौती भागी झा भड,

ए बडा बडा देउ मेरा सोराड गड।

अचानक कङ्कुराका निन्याउरा आँखामा चमक आयो। उसको असमय बूढो भएको शरीरमा ऊर्जा संचार भयो। खेलमा गीत गुन्जिरहेको थियो–

ए बार रैण्या भुमिको कोट मैलो भैछ,

हिट भौल्या घर निसी झानुँ...।

हर्षातिरेकमा कङ्कुराले मैना काकीलाई भनी, “ज्यू–ज्यू मेरो जोगी...!”

एकै छिनमा जोगी आमाछेउ आयो। कङ्कुराले आशीर्वाद दिई, “हिमाञ्जलो हिउँ छन्ज्याँ जिए, समुद्दरो पानी छन्ज्याँ जिए...।”

अर्को दिन जोगीले बाउलाई सुटुक्क भन्यो, “बाबा, हम खोल्देहली को घर लौन्या भया।”

“घर? क्याले लौन्या है? कुरडीले?” पर्माले छोराको कुरा हावामा उडाउन खोज्यो।

“एइले!”, जोगीले गहुँको डालाभित्र हात हालेर कालो थैलो झिकेर अघिल्तिर खन्याउँदै भन्यो। थैलोबाट भिक्टोरिया सिक्काहरू खन्खन् गर्दै खसे।

“काँ है लिए, ए चोर इती पैसा?”

जोगीले त्यो पैसालाई अल्मोडाको डेढवर्षे कमाइ बताएपछि पर्मा ढुक्क भयो। घर लाउने काम सफल भैहाल्ला भन्नेमा चाहिं उसलाई विश्वास थिएन।
सोध्यो, “जिम्वालका मान्स खोल्देहली त कि हाल्ल दिन्ना?”

“सप काम होइ गयो, म्वाल बनि गया”, जोगीले भन्यो।

उसले पल्ला गाउँमा ढोकाको कलात्मक चौखट तयार भैसकेको र मंगलवार राति ल्याएर चढाइसक्ने बतायो। उसले मिस्त्री बोलाइसकेको र केही बूढापाकाहरूले भित्तामा चढाइसकेको ढोका उतार्दा देउ रिसाउने भएकाले कसैले त्यस्तो आँट नगर्लान् भनेको समेत बतायो। पर्मा छोराको सुझ्बुझ् देखेर छक्क पर्‍यो।

मंगलबार राति टहटह जून लागेको थियो। भदौ महीनाको आकाशका कुनाकाप्चामा छिटपुट बादल देखिए पनि छ्याङ्ग उज्यालो थियो। एकहूल मान्छेले ठूलो ढोकाको चौखट बोकेर ल्याउँदा मिस्त्रीले एक हात भित्तो चिन्ने काम भ्याइसकेका थिए। गाउँका केही बूढापाका समेत त्यहाँ थिए। गाउँमा पहिलो पल्ट जिम्वाल, मुखिया, पुरोहितका बाहेकका घरमा खोल्देहली पर्दै थियो।

मिस्त्रीले राति नै जसरी पनि ढोकाको चौखट अडिने भित्तो बनाइसक्नुपर्ने थियो। तेस्रो प्रहरसम्म उसले तीन हात जति चिनिसकेको थियो। आकाश पनि बादलले ढाकिसकेको थियो। एकछिनपछि पानी दर्कन थाल्यो। चौखटमा बाँसको टेको लगाउँदै मिस्त्रीले भन्यो, “जसो पानी आया लै केइ हुनैन।”

बिहान हुँदासम्म पानी झ्न् बढ्दै गैराखेको थियो। घुम ओढेर पर्माको घरको बाटो हिंड्नेहरू रातारात उम्रेको खोल्देहली हेरेर छक्क पर्थे।

कोटघरमा विश्राम गरिराखेका जिम्वाल धिर्क चन्दका कानमा गड्याम्मको आवाज पर्‍यो। उनले सोचे आकाश होला, तर होइन रहेछ। दौडिंदै आएको धर्मे फौंदारले भन्यो, “राजा साब् बडो कोट...!”

जिम्वालसाब आँगनमा निस्किए। उनले देखे– पुर्खाहरूको गौरव बडो कोटको अघिल्तिरको भाग भत्किएको छ। भित्रको गोप्य बैठक कक्ष, जसबारे उनका निकटवर्तीहरूलाई मात्र थाहा थियो, ह्वाङ्ग देखिएको छ। राजा साबलाई आफू भिजिराखेको हेक्का समेत रहेन। फौंदार हतार–हतार छाता लिएर आयो र ओढाइदियो।

त्यही बेला घुम ओढेर कोही आयो र भन्यो, “जौ दे राजा, पर्माका चेला जोगीले खोल्देहली ठड्यायो हजुर!”

राजा साबले अस्पष्ट 'हुँ...' मात्र गरे, ऊतिर फर्केर पनि हेरेनन्।

प्रतिकृया दिनुहोस