कला/साहित्यसोमवार, आश्विन १६, २०७४

लोन्लिनेस

हिमालखबर

सुदीप पाख्रिन

कोही कसरी रहन्छ 

― एक्लै?

ठडिंदै–ठडिंदै गएका छन्

एकपछि अर्को गर्दै

सिमेन्टेड मरुभूमिहरु शहरमा

देखिन छाड्दै गएका छन्


हरिया अर्ग्यानिक जंगलहरु आँखाबाट

देखिन छाड्दै गएका छन् नीला–नीला

सेता बकुल्लाहरु कावा खाइरहने ती डाँडाहरु

तिनीहरु त रहन्छन् सधैं मनमा कतै

कोही कसरी रहन्छ

― एक्लै?

गल्लीको कुनामा थियो बूढो काभ्रो

जहाँ हुन्थे थुप्रै रंगीविरंगी पुतलीहरु

खेल्थे तेलकासा, डण्डीबियो र लट्ठी सुङ्ने खेलहरु

पुतलीहरुसँगै काभ्राका हाँगाबिंगाहरु पनि

एकाएक हराए दन्त्यकथाको राजकुमारीजस्तो

गल्लीको कुनाबाट काभ्रो र ती सबै खेलहरु

तिनका यादहरु त छन् सधैं मनमा कतै

कोही कसरी रहन्छ

― एक्लै?

गोरेटो थियो यतैकतै

जो पुर्‍याउँथ्यो इन्द्रेणी भुईं झर्ने चउरसम्म

खेल्थे सात रंग एकैजस्तो भई दिन–दिनभरि

हुन्थे दिन पनि मिनेट र निमेषजस्तो

हुन्थे हप्ता, महीना र वर्ष पनि दिनजस्तो

चउरमा छन् अचेल मल्टीस्टोरी कम्प्लेक्सहरु

र उँघेर बसिरहेको नगरपालिकाको थोत्रो सभागृह

तिनको सम्झ्ना पनि त छँदैछ सधैं मनमा कतै

खोलाहरु खुम्च्याएर घरहरु बनायौं त्यही पनि साँगुरा–साँगुरा

कुलाहरु थुनेर कुराहरु बनायौं त्यही पनि ठूला–ठूला

यसरी यी सबै–सबै सबैहरुलाई

गुमाउँदै जाने हो भने त

हामी 'एक्लै' पनि त रहन सक्दैनौं

संसारमा...

यति सा...SSSS...नो कुरा के थाहा छ हामीलाई?

प्रतिकृया दिनुहोस