पानीको निहुँमा झगडा हुँदा बालिकाको मृत्यु
पानीका विषयमा भएको सामान्य विवादले झगडाको रुप लिएपछि रौतहटमा एक बालिकाको मृत्यु भएको छ ।
१४ असोज राती वृन्दावन नगरपालिका–५ रमौलीमा पानी भर्न जादा उत्पन्न भएको विवादले झगडाको रुप लिएको हो । कृष्णनन्दन चौधरीको घर नजिकै रहेको सार्वजनिक धारामा पानी भर्न गएका हुलास यादव र कृष्णनन्दनबीच सामान्य विवाद भएको थियो । विवाद बढ्दै जादा दुवै परिवारबीच कुटाकुट भएको स्थानीय बासिन्दाले बताएका छन् ।
झगडामा परी घाइते भएकी हुलासकी तीन वर्षीया छोरी अन्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए । उनीहरु दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै १२ असोज राती चन्द्रपुर नगरपालिका–१० बालचनपुर बडेरबाका ४५ वर्षीय वीरेन्द्र साहको टाउकोमा भाला हानी हत्या गरिएको छ । उनी मौलापुर नगरपालिका–५ बजारछेउमा चिरान मिल सञ्चालन गर्दै आइरहेका थिए ।
–सञ्जय मित्र, रौतहट