ब्लगआइतवार, आश्विन १५, २०७४

रसुवाली तामाङको दशैं

हिमालखबर

रसुवाका तामाङले मनाउने आफ्नै पाराको दशैं क्रमशः कम हुँदै गएको छ।

- फुर्पा तामाङ

दशैं मूलतः हिन्दूहरूको चाड भए पनि नेपालमा अन्य धर्मावलम्बी एवं जातजातिले पनि धुमधामसँग मनाउँछन्। रसुवाका तामाङ समुदाय पनि त्यसैमा पर्छन्। उनीहरूले कहिलेदेखि दशैं मनाउन थाले, थाहा छैन। यद्यपि पछिल्ला वर्षहरूमा भने दशैंको रौनक घटेको छ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल तामाङ घेदुङ र आदिवासी जनजातिहरूका अन्य संगठनले गरेको आन्दोलनको प्रभावबाट दशैं मनाउने तामाङ परिवार घट्न थालेको मानिन्छ। यसमा इसाइकरणको असर पनि छ। चाड मनाउने कुरामा 'हाम्रो' र 'उनीहरूको' भन्ने भाव समेत देखिन थालेको छ। 

दशैं मनाउने तामाङहरूमा गाउँपिच्छे तरीका फरक छ। भार्खुमा दशैंका पाहुनालाई तिहार अघिसम्म खुवाइसक्नुपर्छ, तर धुन्चेमा अर्को वर्षको दशैं अघिसम्म खुवाए पनि हुन्छ। राम्चे, ठाडे, बोकेझुण्डा, गोम्बुडाँडा, यार्सा, सरमथली, भोर्ले, स्याफ्रु, लिङलिङ, खाङजिम, बेन्ज्याङ, केरुङ खोला (भोटेकोशी) पारिका गाउँहरू– चिलिमे, गोल्जोङ, गत्लाङ, हाकु, गोगने, सिरुचेत, डाँडागाउँ र ठूलोगाउँहरूमा पनि दशैं मनाउने तरीकामा एकरूपता छैन। यो आलेखमा ठूलो र सानोभार्खुमा मनाइने दशैंको चर्चा गरिन्छ।

मासुको जोहो
२०५० साल अघिसम्म रसुवाको ठूलोभार्खु र सानोभार्खु गाउँमा दशैंका लागि साउनतिरै कालिकास्थान, लहरेपौवा, भोर्ले, कर्मीडाँडा आदि गाउँहरूबाट थारो भैंसी वा राँगो खोजेर ल्याइन्थ्यो। दशैंका लागि गाउँमा राँगा/भैंसी ल्याउनेहरूले घर–घर गएर कसले कति मासु लिने हो, भाग पक्का गर्न प्रति धार्नी रु.१ बैना उठाउँथे। वैना नदिए दशैंमा मासु पक्का हुँदैनथ्यो।

भार्खुमा यसै पनि घाँस प्रशस्त हुने। दशैंका लागि ल्याइएका चौपायालाई कलिलो, मीठोमीठो घाँससँगै पीठो, नून, फर्सी र बल्बी (रक्सी निकालिसकेको जाँड) खुवाउँदै पालिन्थ्यो। त्यसरी मोटो बनाएको चौपायाको मासु त धेरै पर्थ्यो नै, 'क्षी फोल्दोङ' बनाउन मनग्गे बोसो लाग्थ्यो। आन्द्राभुँडीमा बोसो खाँदेर अँगेना माथि झुण्ड्याएपछि फागुन–चैतमा तिहुन हुने क्षी फोल्दोङ बन्थ्यो।

आन्द्राबाट अर्को दामी तामाङ परिकार बन्छ– ग्रुङ ग्याङ्पा। यो परिकार नबने बूढापाकाहरू दशैं नै भएन भन्छन्। मूलतः सम्बन्धित घरको ज्वाइँले यो परिकार बनाउँछन्। आन्द्राभुँडी सफा गरिसकेपछि रगतमा मुछेको पीठो र मरमसलाको लेदो भरेर उसिनिन्छ।

'ग्रुङ ग्याङ्पा' बिग्रियो भने त्यो घरका ज्वाइँको सीप पुगेन भनिन्छ। सालीहरू भिनाजुलाई 'ग्रुङ ग्याङ्पा अशेबे म्हाचे अन खतेब्ले सो खम्ला' (आन्द्रा पकाउन नजान्नेले दिदीलाई कसरी पाल्ला) भन्दै जिस्क्याउँछन्।

घरमा मार हान्नुअघि ज्वाइँलाई निम्ता दिइन्छ। निम्तो मान्न आएका ज्वाइँलाई घरभित्र लगेर श्यालकर (रक्सी) ले स्वागत गरिन्छ। ज्वाइँले देउतालाई श्याल्कर चढाएर आफूले पनि खाएपछि मार हान्ने विधि शुरू हुन्छ। मार हान्नासाथ ज्वाइँले बोकेको पीठो रगतमा मुछेर डल्लो बनाउनुपर्छ। त्यसपछि आन्द्रा केलाएर ग्रुङ ग्याङ्पा बनाउने जिम्मेवारी ज्वाइँको हुन्छ।

लत्ताकपडाको जोहो
सोह्रश्राद्ध लाग्दा नलाग्दै कालिकास्थान मुनिका गाउँहरूका बाहुनक्षेत्री व्यापारी चामल, तोरीको तेल र बेसार आदि बोकेर भार्खु पसिसक्थे। चामल पाथीको रु.१०, तेल मानाको रु.८ र बेसार मानाको रु.३ तिरेको म सम्झ्न्छु।

कपडा बेच्न ल्याउने चाहिं कटुन्जेका बाहुनहरू हुन्थे। नून, जुत्ता र भेडा–च्याङ्ग्रा केरुङबाट ल्याइन्थ्यो भने मरमसला सदरमुकाम धुन्चेमा किनिन्थ्यो।

मार हान्ने दिनः दुवै भार्खु गाउँमा सप्तमी (फूलपाती) को दिन राँगा मार हानिन्छ। बोका, भेडा, च्याङ्ग्रा चाहिं सानोभार्खुमा अष्टमी र ठूलोभार्खुमा नवमीको दिन मार हान्ने चलन छ। मार हान्ने घरमा बोन्पो (झाँक्री) ले सेर्किम गर्नुपर्छ।

मार हान्ने आँगन बीचमा चुच्चो ढुंगा राखेर त्यसमा फूलपाती बाँधेर थोयोर बनाइन्छ। मारको लागि खोला वा कुवाबाट क्षुफी (चोखो पानी) ल्याइन्छ।

बोन्पोले गाउँका देवीदेवतालाई सेर्किम चढाएपछि बलि दिने पशुलाई 'चिताएका कामहरू पूरा हुन्छन् भने तीनपटक पर्सिनु नत्र भने एउटा रौं पनि नहल्लाउनु' भन्दै अम्खोराको क्षुफीले छ्याप्छन्।

यसरी तीनपटक पर्सिएपछि बलिया युवकले मार हानेर थोयोरमा रगत चढाइन्छ। बोन्पोले सबैलाई बलिको रगतमा मुछेको टीका लगाइदिन्छन्। यसमा उल्लेख्य के छ भने तामाङको 'थोयोर' देउताको प्रतीक हो, दुर्गाको होइन। तामाङहरूले घटस्थापनाका दिन जमरा पनि राख्दैनन्।

पाहुना खुवाउने परम्पराः दुवै भार्खुमा महिलाहरूले फूलपातीको दिनसम्म रक्सी पारी सक्नुपर्छ। त्यसका लागि ५–६ महीना अघि नै मकै, कोदो, जौ वा चामलको जाँड बनाइएको हुन्छ। अष्टमीको दिन सानोभार्खु (गङग्याप) का गाउँलेले ठूलोभार्खु (नम्सा) वासीलाई पाहुना बनाएर खुवाउने परम्परा छ।

निम्तो दिन हरेक घरबाट कम्तीमा एकजना जान्छन्। परम्परागत भेषभूषामा आएका पाहुनालाई विभिन्न परिकार र निगार, जाँड, रक्सी खुवाउँदै/खाँदै क्षाङ्लु, ह्याच्युङ जस्ता लोकगीत गाइन्छ। नवमीमा गङग्यापवासी नम्सामा आमन्त्रित हुन्छन्।

दुवै गाउँमा दशैंमा खास गरेर पाहुनालाई खुवाउन भेडा, च्याङ्ग्रा वा बोका मार हान्ने गरिन्छ, खसी काटिन्छ।

सेतो टीकाः दशमीको दिन लामाले भनेको साइतमा घरपरिवारमा सबभन्दा पाकाको हातबाट दही र चामलको सेतो टीका थाप्ने परम्परा छ। पहिले टीका अघि बन्दूक पड्काएर बढाइँ गरिन्थ्यो। लाङटाङ राष्ट्रिय निकुन्ज स्थापनापछि भने घरमा बन्दूक राख्न निषेध भएकोले त्यो परम्परा हराएको छ।

गाउँका बडा–बूढाको आशीर्वाद थाप्न जाँदा खसीबोका वा भेडाच्याङ्ग्राको टाउको, श्यालकर, खादा र फूलपाती लैजानुपर्छ। ज्वाइँ–चेलीले खसीको फिला वा करङ लिएर आउँछन्। टीका लगाइदिनेले दक्षिणा दिने चलन छैन।

दशमीको राति पूजाः दशमीको राति ठूलोभार्खुका अवतारी बोन्पो कर्पुबेनका सन्तान झाँक्रीहरू र वाङदाङ घलेका सन्तान झाँक्रीहरूको घरमा 'ल्हबी' पूजा गरिन्छ।

कर्पुबेनका सन्तान झाँक्रीहरू 'ल्हाबेन' अर्थात् देउताको मात्र पूजा गर्ने र घलेका सन्तानहरू 'सङ्दुङ' अर्थात् भूतप्रेत पनि फाल्ने बोन्पो हुन्। कर्पुबेनका सन्तानले 'ल्हबी' पूजा गर्दा सेतो भेडा बलि चढाउँछन्।

बलि चढाएको भेडाको 'श्याफी' (प्रसाद) र तोर्मा (पकाएको चामलबाट बनेको देउताको प्रतिमा) गाउँलेलाई भोलिपल्ट बाँड्नुपर्छ। वाङदाङ घलेका सन्तान झाँक्रीहरूले 'ल्हबी' पूजा गर्दा काँक्रोको बलि दिन्छन्।

म्हा–बुसिङ क्योङ्पाः यी दुई गाउँमा दशैंमा ज्वाइँ–चेलीलाई अनिवार्य बोलाएर खानपान गराउनुपर्छ। यो परम्परालाई म्हा–बुसिङ क्योङ्पा भनिन्छ। यसरी तामाङहरूका लागि चेली सम्झिने चाड पनि हो, दशैं। यो क्रम तिहारअघिसम्म चल्छ।

गर्दनको मासु ज्वाइँलाई 
एका कुल–खानदानका दाजुभाइहरूले मार हानेको पशुको गर्दन र कम्मरको मासु ज्वाइँहरूलाई भाग लगाएर दिने चलन छ। यसलाई 'केप्पा–खारे श्या पिन्बा' भनिन्छ।

ज्वाइँले ससुराली पट्टि कोही मर्दा लामासँगै लाश उठाउने, बोक्ने र जलाउनेदेखि घेवासम्म दुःख पाउने हुनाले 'केप्पा–खारे श्या पिन्बा' दिएर पाप कटनी गरेको बूढापाकाहरू बताउँछन्।

मार हान्नेलाई दिक्कल 
मार हान्ने व्यक्तिलाई पशुको गर्दनको एक भाग छुट्याएर 'दिक्कल' दिइन्छ। मार हान्दा एकैपटक छिनाल्न नसक्नेले भने लाज मानेर दिक्कल बुझ्न मान्दैनन्।

बेन्जलमा बलि 
ठूलोभार्खुको पुछार टोल मानीगङमा 'बेन्जल' देउताको थान छ। उहिले व्यापारीहरूले दशैंमा जोङ्खा र केरुङबाट ल्याउने भेडाच्याङ्ग्रामध्ये एउटा भेडो बेन्जल देउताको थानमा बलि चढाउनु अनिवार्य थियो। बेन्जलको पुजारी अवतारी बोन्पो कर्पुबेनका झाँक्री सन्तान हुन्थे।

उहिले त जोङ्खा र केरुङबाट ल्याइने भेडाच्याङ्ग्राबाट रोज्जा भाग लिने दुईखुट्टे देउताहरू पनि थिए, गावै पिच्छे। मुखिया नामका ती प्रशासनिक/न्यायिक देवताहरूलाई खुशी नपारे कसैको खैरियत नरहने। कालान्तरमा बेन्जल देउता पनि मुखियाहरू जस्तै भएका छन्, भेडाच्याङ्ग्रा चढाउनु नपर्ने।

सडक यातायातको विकासले गर्दा आजकल तिब्बतबाट भेडाच्याङ्ग्रा ल्याइने बाटो नै बदलिएको छ। धेरै वर्ष भयो, बेन्जल देउताको थानमा बलि चढाउने काम रोकिएको।

न पीङ न चङ्गा 
रसुवाका तामाङ गाउँहरूमा दशैंमा पीङ र चंगाको चलन थिएन। दशैंमा कुनै कारणले घर जान नपाएका कर्मचारी र अन्यत्रबाट बसाइँ सरेर आएका हिन्दूहरूले सदरमुकाम धुन्चेमा पीङ गाडेको र चंगा उडाउन थालेको पनि बढीमा एक दशक भयो होला।

अहिले त्यसैको सिको तामाङ युवाले गर्न थालेका छन्।

प्रतिकृया दिनुहोस