कला/साहित्यआइतवार, आश्विन १५, २०७४

रातो छाता

हिमालखबर

राजेन्द्र पराजुली

पार्टी हेडक्वार्टरको छानामा ढलपलढलपल गरिरहेको थियो फुस्रो छाता। 

हेडक्वार्टरले शुरूमा त्यो छाता छतमा राख्न ल्याउँदा गाढा रातो थियो। रातो छाता कसरी फुस्रो भयो, एउटा गम्भीर शोधको विषय हुँदाहुँदै पनि कसैको ध्यान गएको थिएन।

पार्टीको पोलिटब्यूरो बैठकमा सहभागी केही नेताहरूले छातामा रातो दल्न वा त्यसको कपडा फेर्न अब विलम्ब गर्न नहुने राय दिइरहेका थिए। छाताको पहिचान गुम्ने खतराबारे तिनले सचेत गराएका थिए। तर, छाता जस्तो छ त्यस्तै रहन दिनुपर्ने मत व्यक्त गर्ने नेताहरूको त्यहाँ बहुमत थियो। त्यसैले छाता फुस्रो रंगमै पार्टीको हेडक्वार्टरमा हल्लिरहेको थियो।

आश्चर्य के भयो भने, केही समयअघि छाता अचानक हरायो।

कसले, किन चोर्‍यो त्यो अमूल्य छाता? दक्षिण, उत्तर, पूर्व, पश्चिम कताका मान्छेले चोरे त्यो छाता? निकटतम वा अलिपरका छिमेकी, पराइ कसले हात लगायो छातामा? छाता चोरिएपछि हेडक्वार्टर वरपरका बासिन्दा बेचैन बनेका थिए। आफूलाई दोष आउला भन्ने चिन्ताले ती ग्रस्त थिए।

हेडक्वार्टरमा झ्ण्डै दर्जन सुरक्षाकर्मी छन्, आफ्नै पार्टीका वफादार सिपाही हुन् ती। तिनको रेखदेख हुँदाहुँदै पनि कसरी चोरियो छाता? कसको मिलेमतोमा यो दुष्कार्य भयो?

पार्टी अध्यक्षले पोलिटब्यूरोको आकस्मिक बैठक बोलाए, तर स्वयम् भने अनुपस्थित रहे।

त्यो अर्को आश्चर्यको विषय बन्न पुगेको थियो।

पोलिटब्यूरो बैठक अध्यक्षविहीन हुनुले राम्रो संकेत नगरेको अधिकांश सदस्यले बताए। पार्टीको महत्वपूर्ण वस्तु 'छाता' नै हराएको गम्भीर विषयमा बसेको बैठकमा किन अध्यक्ष आएनन्? उनले कसैलाई जानकारी पनि दिएका थिएनन्, बैठकमा आफू आउन नसक्नेबारे। भोलिपल्ट अध्यक्षको छोराले 'बुवालाई सन्चो नभएकाले आउन सक्नु भएन' भन्दै एकजना वरिष्ठ नेतालाई जानकारी दिएको सन्दर्भले अन्य नेताहरूलाई झ्नै चकित पारिदिएको थियो।

पोलिटब्यूरो बैठकमा अध्यक्ष नआएको विषयमा पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका एकजना 'राजनीतिक विश्लेषक' ले दैनिक अखबारमा लेख प्रकाशित गरे। हेडक्वार्टरबाट अचानक छाता हराउनु र सोही विषयको बैठकमा शीर्ष नेता गयल हुनुमा उनले अध्यक्ष पुत्रको हात रहेको हुनसक्ने आशय व्यक्त गरेका थिए। लेख छापिएको भोलिपल्टै ती नेतालाई पोलिटब्यूरोबाट हटाएको प्रेस वक्तव्य पार्टीबाट जारी भयो, अध्यक्षको हस्ताक्षरसहित।

छाता हराएको समयमै देशको तराई–मधेश बाढी र पहाड पहिरोको चपेटामा परेको थियो। पोलिटब्यूरोका बहुमत सदस्यले बाढी–पहिरो भनेको प्राकृतिक प्रकोप भएको र पार्टी गम्भीर छलफलमा व्यस्त रहेको हुनाले पीडितको उद्धारमा पार्टीका सदस्यहरूको संलग्नता नहुने निर्णय गरेको थियो। बैठकमा छाताबारे झ्ण्डै दुई घन्टा र बाढी–पहिरोबारे १० मिनेट छलफल भएको थियो।

पार्टी हेडक्वार्टर राजधानीको निकै व्यस्त तथा अग्लो ठाउँमा थियो। बहुतले कार्यालय भवनलाई वरिपरिका घरहरूले छेक्न सक्दैनथे। त्यसमाथि छाता त झ्न् छतमा राखिएको थियो। त्यो परैबाट देखिन्थ्यो। केही वर्षअघिसम्म त्यस स्थानको नाम अर्कै थियो। पार्टी कार्यालय बसेपछि नाम परिवर्तन भएर 'हेडक्वार्टर' बन्न पुगेको थियो। सार्वजनिक सवारी साधनका सहचालकहरू उक्त स्थानमा आइपुगेपछि 'हेडक्वार्टर, हेडक्वार्टर!' भन्दै कराउँथे।

पार्टीको छानामा रहेको उक्त छाता केही बूढा–पुराना राजनीतिकर्मीले गाढा रातो देखेका थिए। तिनले हेर्दाहेर्दै छाता फुस्रो भएको थियो। पार्टीका नयाँ नेता–कार्यकर्तालाई भने फुस्रै छाता हेर्ने आदत बसिसकेको थियो।

प्रायः छातामुन्तिर पार्टी अध्यक्षको छोरा बस्थ्यो। ऊ हरेक दिनजसो हेडक्वार्टर पुग्थ्यो र सरासर छतमा उक्लन्थ्यो। ऊ छाता समाउँथ्यो र कहिले उत्तर त कहिले दक्षिणतिर घुमाउँथ्यो। पार्टीको कुनै पनि पदमा थिएन ऊ। तर, पार्टीमा उसको बोलवाला थियो। पार्टी सरकारमा जाने बखत मन्त्री छान्ने काम उसकै निगरानीमा हुन्थ्यो। पोलिटब्यूरो मात्र होइन पार्टीका कार्यकर्ता, शुभचिन्तक सबैलाई थाहा थियो छाताले सबैभन्दा बढी ओत अध्यक्ष पुत्रलाई दिइरहेको थियो। शुरूका दिनमा सामान्य शुभचिन्तक र अनुयायीलाई समेत ओत दिएको थियो त्यसले। सबैलाई समेटेर घाम–पानीबाट जोगाउँदै ल्याएको थियो छाताले।

विस्तारै छाताको ओत संकुचित बन्दै गयो। समयक्रमसँगै छातामा केही पटक प्वाल पनि नपरेको होइन। तर, त्यसलाई पार्टीका सिद्धान्तनिष्ठ नेताहरूले टाल्दै हेडक्वार्टरको छतमा राख्दै आएका थिए। टालेको केही समय त्यसले ओत पनि दिन्थ्यो, घाम–पानीबाट जोगाउँथ्यो। छाताको हालत देखेर कतिपय नेता चित्त दुखाउँथे। “यसरी टालटुल गरेर कति दिन चल्ला?” उनीहरू चिन्ता जाहेर गर्थे।
चिन्ता जारी थियो।

सरकारले अकल्पनीय ढंगमा निर्वाचन मिति घोषणा गर्‍यो। पार्टीले त्यस घोषणालाई स्वागत गरेन, तर निर्वाचनमा भाग नलिई सुख थिएन। निर्वाचन तयारीका निम्ति समय नपुग्ने भनेर पार्टीले सरकारको विरोध गरेको थियो। विरोधमा एक दिन नेपाल बन्द घोषणा पनि गर्‍यो। पार्टीका पुराना केही नेताले छातालाई रातो बनाएर, त्यसको कपडा र डण्डा फेरेर जनताको घरदैलोमा जानुपर्ने बताएका थिए। तर, त्यो प्रस्तावको घोर विरोध गरेको थियो अध्यक्ष पुत्रले। पुत्रमोहले ग्रस्त अध्यक्षले अनेक तर्कवितर्क गरेर छाताविनै निर्वाचनमा भाग लिने घोषणा गरे।

निर्वाचन आउँदा मधेश बल्लतल्ल बाढीको चपेटाबाट तङ्ग्रँदै थियो। थातबास गुमाएका जनतालाई सरकारले घर बनाउन केही रकम दिने बताए पनि उपलब्ध गराएको थिएन। ती त्रिपालमुनि कष्टकर जीवन गुजार्दै थिए। त्यस्तो अवस्थामा पनि उनीहरू निर्वाचनमा उत्साहजनक रूपमा सहभागी भएका थिए।

लामो छलफल र विवादपछि अध्यक्ष पुत्र पनि उम्मेदवार भएको थियो मधेशबाटै।

तर, उसले विजयको अनुभव गर्न पाएन। पुत्रको पराजयमा चिन्तित अध्यक्षले चुनावलगत्तै हारको कारण पत्ता लगाउन समीक्षा बैठक डाके। सहभागीहरूले बैठकमा हारका विभिन्न कारण बताए– रातो हुनुपर्ने छाता फुस्रो हुनु, छातामा अध्यक्ष पुत्रले एकाधिकार जमाउँदै जानु, बाढी–पहिरो पीडित सर्वसाधारणको उद्धारमा पार्टी उदासीन हुनु, निर्वाचनमा मनग्गे खर्च गर्न नसक्नु आदि।

हारका अरू पनि कारण प्रस्तुत हुँदै थिए। तर, पार्टी अध्यक्षले त्यसलाई रोकेर निर्वाचनमा मनग्गे खर्च गर्न नसक्नाले हार भएको बताउने सदस्यको विचारमा सहमति जनाए। बैठक सकियो। सबै सञ्चारमाध्यममा प्रेस वक्तव्य पठाइयो।
चुनावको अघिल्लो दिन छाता हेडक्वार्टरमा देखिएको थियो। सोही छाताको ओतमा बसेर प्रेस वक्तव्य ल्याएर यस्सो पढेको जस्तो गर्दैथियो अध्यक्ष पुत्र।

नयाँ सरकार बन्ने क्रम शुरू भयो मुलुकमा। त्यो पार्टी, पाँचौं स्थानमा रहेको एउटा पुरातनवादीको 'बिल्ला' पाएको पार्टी र अर्को एउटा अलि धेरै सीट भएको पार्टी मिल्दा बहुमत पुग्नेभयो। त्यसमा त्यो पार्टीले तीन वटा महत्वपूर्ण मन्त्रालय हात पार्ने कुरो भयो। अध्यक्षले छोरासँग पहिलो सल्लाह गर्‍यो।

अध्यक्ष पुत्रले बाबुको अनुहारमा सीधा हेर्दै भन्यो, “हाम्रो पार्टीका अधिकांश नेता पुरातन सोचका छन्, तिनलाई सधैं प्रतिपक्षी बन्नुमा रमाइलो लाग्छ। यति थोरै सिटमा जित हुँदा पनि हामीलाई तीनवटा मुख्य मन्त्रालयसहित सरकारमा जाने अवसर मिल्नु भनेको त सुनौलो मौका हो। दायाँ–बायाँ नहेरी खुरुक्क हुन्छ भन्दिनुस्।”

पार्टीका कुन–कुन नेताले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा बसेको मिटिङ सकिन साँझ्सम्म लागेको थियो। कतिपय नेताले मन्त्री हुन नपाए पार्टी छाड्नेसम्मको धम्की दिएका थिए। अध्यक्षसँग छोरोले बिहानै थमाएको मन्त्रीहरूको नामको सूची थियो। मन्त्रीहरूको नामलाई अन्तिम रूप दिएर नेताहरू कार्यालयबाट बाहिरिंदा झ्ण्डै नौ बजिसकेको थियो। त्यसबेलासम्म हेडक्वार्टरको छतमा बलेको बत्तीको उज्यालोमा छाता हल्लिरहेको देखिन्थ्यो।

पार्टीले सरकारमा जाने निर्णय गरेको भोलिपल्ट एकाएक फेरि छतको छाता हरायो।

हराएको छातातर्फ कसैको पनि ध्यान गएन। चौथो दिन, निकै चल्तीको दैनिक अखबारमा पार्टीको एउटा सूचना आयो। सूचना पढेर पार्टीका सबैजसो नेता चकित परे। सूचना हेडक्वार्टरको बोर्डमा पनि टाँसिएको थियो। सूचना त्यही ऐतिहासिक छाताको लिलामी सम्बन्धी थियो।

लिलाममा विदेशीलाई बढी प्राथमिकता दिइएको थियो। स्वदेशी खरीदकर्तासँग उक्त अमूल्य छाता किन्ने ल्याकत नै छैन भन्ने ठहर हेडक्वार्टरले गरेको थियो। छाताको लिलामी पत्रकारका लागि अनौठो विषय बनेकोले सञ्चारमाध्यममा त्यसले बाक्लै कभरेज पनि पायो।

छाता लिलामी सम्पन्न हुने मिति आयो।

लिलामीस्थल हेडक्वार्टरलाई नै चयन गरिएको थियो।

अचानक त्यस दिन पुनः छाता हेडक्वार्टरको छतमा देखापरेको थियो। त्यो ढलपलढलपल गरिरहेको थियो।

अचम्म! घोर अचम्म!

लिलामीको दिन त्यो छाता गाढा रातो देखिएको थियो। खुइलिएर फुस्रो बनेको छाता कसरी पुनः रातो भयो? कसले रातो बनायो त्यो छातालाई आज? हराएपछि कसले त्यो छाता पायो र रातो बनायो?

प्रश्नहरू थुप्रै थिए पार्टीका अधिकांश नेताका मनमा, तर सोध्ने हिम्मत तिनमा थिएन। शायद प्रश्न गर्ने हैसियत तिनले गुमाइसकेका थिए।

रातो छाताको बोलकबोल शुरू भयो।

दक्षिण, उत्तर, पूर्व, पश्चिम सबैतिरका मान्छे रातो छाताको लिलामी सभामा उपस्थित थिए।

प्रतिकृया दिनुहोस