कला/साहित्यआइतवार, आश्विन १५, २०७४

अपूर्णताको अन्त्यपछि

हिमालखबर

चन्द्र रानाहँछा

 

आकाश र क्षितिजबीचको संगमस्थल जस्तो

हामीले त फगत भ्रम पो बाँचेछौं

सग्लो लागेथ्यौं यतिन्जेल

हामी त आधा–आधा पो रहेछौं।

आधा रहेछन्–

हाम्रा आँखाभरि छल्किरहेका घृणाका समुद्र

हाम्रा हृदयमा अग्लिरहेका प्रेमका हिमाल

आधा रहेछ हाम्रो साझा परिस्थिति

सहयात्रा...

वास्तवमा हामी एक अर्काको उपस्थिति नै आधा रहेछ

पूर्ण छैन मैले तिमीलाई दिंदै गरेको वचन

पूर्ण छैन तिमीले मलाई गर्दै गरेको विश्वास

पूर्ण छैनन् हाम्रा अहम्, दृष्टिकोण या संघर्ष

अथवा हर्ष, दुःख, प्रणय र संझना

आधा भत्किएको विचारबाट पूर्ण सम्भावना जन्मनु

आधा निद्राको सिरानीबाट सिङ्गो सपना ब्यूँझनु

तर म,

ती पूर्णताहरुको खोजीमा छु

अब म आफ्नै उपस्थितिको विरुद्धमा उभिन्छु।

विच्छेदित मस्तिष्कहरु बटुलेर पूर्ण संकल्प सिलाउनु

भष्मीभूत आकांक्षाहरु जगाएर जीवन्त भरोसा फुलाउनु

ऐनाका टुक्राहरु जोडेर सुन्दर र सग्लो अनुहार हँसाउनु

म यसबेला आफ्नै स्थितिहरुलाई भत्काइरहेछु

अब मसँगै भत्किन्छ यो भुईं, त्यो सगर

अब मसँगै भत्किन्छौ तिमी र सँगै भत्किन्छ तिम्रो मौनता

अब एकैचोटि भत्किन्छ बतास, स्पर्श, एकान्त र हल्ला

यसरी जुनबखत जहाँनेर विलय हुन्छु अब म

तत्काल त्यहींनेर उभिन्छ मेरो आकृतिको पूर्ण पहाड

जसको शिरमाथि टप्लक्क उदाउँछ

तिम्रो अनुहारको पूर्ण चन्द्रमा।

प्रतिकृया दिनुहोस