ब्लगशनिवार, आश्विन १४, २०७४

दशैंका केही उपाख्यान

ज्ञानमणि नेपाल

दशैं भनेको वीर जातिको पर्व हो।

केही वर्षअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले 'दाजु, यहाँ काठमाडौंमा जस्तै बडो रमाइलोसँग दशैं मनाउँछन्, यसपालि यतै आउनुहोस्' भनेकाले म गएको थिएँ। त्यसअघि रिडी जाँदा म पाल्पा पसेको थिएँ। दशैंको सन्दर्भ र पाल्पाको त्यही सम्झ्नामा तयार भएका केही उपाख्यान छन् यो लेखमा। 

पाल्पा धेरै पुरानो स्थल हो। श्रीनगर, तानसेन, पाल्पाका प्रसिद्ध ठाउँ हुन्। गोरखामा उपल्लो कोट, तल्लो कोट भनेजस्तै छ पाल्पामा पनि। बजारबाट अलिकति उकालोमा कोट छ। पहिले वैरीबाट सुरक्षित त्यो कोट अहिले उजाड छ। तल गौंडामा नेपालदुनबाट गएका नेवारहरूको 'असन बजार' छ। माथि डाँडाबाट यति रमणीय दृश्य देखिन्छ कि तराईमा फैलिएका फाँट, हिमालसम्मका होचा–अग्ला पहाड श्रृंखला हेरिरहुँ जस्तो लाग्छ।

यसैले यो स्थल रोजेका हुनन्, परापूर्वकालमा आएका पल्हव जातिले। उनीहरूले आफ्नो निशानी छोडेर गएका छन्– आफू बसेको स्थल पाल्पा र पुजेको पल्हवी देवी। खसहरूले आवाद गरेको खस्यौली जस्तै मध्यकालमा त्यही तानसेनको दरबारमा बसेर मुनिमुकुन्द सेनले यहींका धाराको पानी खाएर गोरखादेखि टिष्टासम्म राज्य जोडे। उनैका छोरानातिले नारायणी पूर्वमा तीनवटा राज्य बनाएर भोग गरे।

राणाकालमा पूर्वको शासनको गौंडो वा गोश्वारा धनकुटा भयो भने मध्यपश्चिमको पाल्पा र सुदूरपश्चिमको डोटी प्रसिद्ध भो। वीरशमशेरले आफ्ना भाइ कमाण्डर इन चीफ खड्गशमशेरलाई काठमाडौंबाट धपाएर पाल्पा गौंडाको तैनाथी दिए। उनको पाल्पा बसाइँ दुई कुराले संस्मरणीय छन्– रूपन्देहीको जंगलमा बुद्ध जन्मस्थलको खोजी र चाँडै खसेकी आफ्नी रानी तेजकुमारीको सम्झ्नामा कालीगण्डकी किनारमा ताजमहलको अनुसरणमा रानीमहलको निर्माण। मैले देख्ता रानीमहल जीर्ण थियो, बल्न छाडेका ग्याँसबत्तीका पोल–लट्ठा उभिएका थिए।

माथवरसिंह थापा।

जोगीको उपदेश
जमरा राखी, भोग–बलि दिई, बाजागाजासहित नवदुर्गाको पाठपूजा, भजन, कीर्तन चलिरहेको थियो। त्यसैबेला एक गेरुवस्त्रधारी युवक भारतीय नम्बर प्लेटको जीप चढेर आए। उनको प्रवचन सुन्न आयोजकमध्येका केहीले निमन्त्रणा दिएकाले प्रजिअसहित हामी सबै गयौं। स्वामीले उच्चासनमा बसेर लामै प्रवचन दिए। सार थियो– मनुष्य, पशुपक्षी सबै जगन्माता भगवती देवीकै सृष्टि हो, आफ्ना सन्तानको रगतको भोग मातादेवी आफैं कसरी लिन्छिन् त?

नजिकै बसेको मैले केही उक्ति टिपिरहेको थिएँ। त्यसो हो भने जगन्माता देवीले आफ्नो वाहन सिंह किन रोजेकी हुन् त, सिंह त रगतमासु नखाई बाँच्दैन। आफ्ना स्वामी शिवको जस्तो घाँस खाएर बाँच्ने साँढे, छोरा गणेशले जस्तो धान खाने मुसो जस्तै शाकाहारी जन्तु किन रोजिनन्? भोग–बलि नखाने विष्णुले विषालु सर्प खाने गरुड वाहन रोजेका छन्। महाकाली दुर्गा भगवती त आफै पनि महिषासुर, चण्ड–मुण्ड, शुम्भ–निशुम्भ दैत्यहरूलाई मारेर तिनको रगत पिउँछिन् भनेर लेखिएको छ। यिनै कुरा ती स्वामीजीलाई सोध्न लागेको थिएँ, सँगै बसेका आयोजकले 'हुन दिनुहोस्, जोगीले उपदेश दिन्छन्, जान्छन्। यिनसँग बौद्धिक तर्क गरेर केही अर्थ छैन' भने।

दशैं भनेको वीर जातिकै पर्व हो। विशेषतः असुर संहारी महाकाली वीरभद्र भैरवी जस्ता देवी–द्यौता मान्नु, पुज्नु, महिष जस्ता पशु बलि दिनु, मार हान्नु, मार हान्दा एकै पटकमा छिन्नु भनेको युद्धाभ्यास सरह हो, शूरवीरलाई युद्धमा प्रोत्साहित गर्ने प्रेरणा दिने साधना हो। यस पर्वलाई शाक्तले देवीसँग जोड्छन्, सनातनीले रामसँग। सप्तमी फूलपातीको दिन महाकालीले मधुकैटभ मारेको, महाष्टमीको दिन महालक्ष्मीले महिषासुर मारेको, महानवमीको दिन चण्डमुण्ड, शुम्भ–निशुम्भ असुर दैत्य मारेको हो भन्ने मान्यता छ। यसै अनुरूप, नवरात्रिमा नवावृत्ति सप्तशती (चण्डी) पाठ र दशमीमा देवीको प्रसाद ग्रहण गरिन्छ।

अर्को मान्यता अनुसार रामलक्ष्मणले वानर सैन्यद्वारा लंकामा आक्रमण गर्दा सप्तमीको दिन इन्द्रजीत, महाष्टमीको दिन कुम्भकर्ण र महानवमीको दिन रावण मारिएपछि भोलिपल्ट दशमीमा धुमधामसँग विजयोत्सव मनाएको र त्यसैको अनुसरणमा देवीपूजा नवरात्रिमा ब्रत बसेर महोत्सव मनाउने परम्परा बसेको हो भनिन्छ।

माथवरसिंहको मार
दशैंको प्रसंगमा इतिहासको एउटा विचित्रको घटना सम्झाउँछु । जंगबहादुर जस्तै जंगी, निडर र शूरवीर थिए, उनका मामा माथवरसिंह थापा। अजंगको जीउडाल भएका उनी प्रत्येक वर्ष दशैंमा देवीपूजा गरी एक हातले दश–बाह्र धार्नीको बोको मार हानेर चटक्कै छिनाउँथे, अर्को हातले मुठीभरी मुठ्याएका हाडे ओखर मरक्कै पार्थे। उनी मर्ने साल भने बोको पनि छिनिएन, ओखर पनि फुटेनन्।

राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मी देवीले जेठी रानीका जेठा छोरालाई पन्साएर आफ्ना छोरालाई राजा बनाउने उद्देश्यले विदेश भासिएका माथवरसिंह थापालाई ल्याएर प्राइमिनिष्टर बनाएकी थिइन्। माथवरले आफ्ना शत्रु त साधे तर युवराज निकालेर कान्छीका छोरालाई राजा बनाउने काम गरेनन्। जंगी स्वभावका माथवरसिंह राजासँग पनि मुखमुखै लाग्थे। राजारानी नै क्रूद्ध भएर उनलाई पन्साउन खोज्थे। राजा भन्थे, “यो महिषासुरलाई लरतरो शक्तिले हटाउन नसकिएला। माथवरसिंहसँग सिराएको, सूरो पनि, भनेको मान्ने पनि जंगे नै छ।”

राजाले त्यही अनुसार चाँजोपाँचो मिलाइवरी 'रानी बिमारले साह्रै छिन्' भन्ने निहुँ पारेर राति दरबार आउन माथवरलाई खबर पठाए। तर, माथवरलाई घोडाले मुख बाउँदै खुट्टा उफारेर, हिन्हिनाएर चढ्नै दिएन। घोडाले त्यसरी अपशकुन लाउँदा छोराले नजानू भन्दाभन्दै उनी पैदलै दरबारतिर लागे। उनी भित्र पस्नासाथ जंगबहादुरका हातबाट छुटेको गोली ड्याम्म लाग्दा ठहरै भए, जाज्वल्यमान नेपालका प्रथम प्राइमिनिष्टर।

प्रतिकृया दिनुहोस