ब्लगशनिवार, आश्विन १४, २०७४

दशैंको चटारो

हिमालखबर

नेपालमा अत्यधिक ठूलो संख्याले मनाउने चाड दशैंमा निकट विगतसम्म रहेको विशेषतः आर्थिक सकसको पाटोलाई पनि अब त रोचक नै मानिएला, यदि कसैले अध्ययन गर्‍यो भने।

-यमबहादुर दुरा 

पञ्चाङ्ग निर्णायक समितिको पात्रोले बेलैमा निम्तो दिए पनि लमजुङका गाउँबस्तीमा आइपुग्न दशैंले निकै गाह्रो मान्थ्यो। गाउँबस्तीका झुपडीहरूले अनेकौं आर्थिक–शारीरिक सकस बेहोरेपछि मात्र दशैं झुल्कन्थ्यो। खुशी हुनको लागि दशैं शब्द नै काफी हुने हामी त्यसबेलाका भुराभुरीलाई दशैंको त्यो पक्ष बुझन त्यसपछिका डेढ–दुई दशक लाग्यो। 

तत्कालीन पहाडी समाजमा दशैं हाँसेर मनाउनुपर्ने कष्टसाध्य चाड थियो। गाउँमा एकाध परिवारबाहेक सबैलाई दशैंको खर्च जुटाउनै गाह्रो पर्थ्यो। आर्थिक सकसमाथि दशैंले निम्त्याउने चटारो यति कि 'मरेको भोलिपल्ट मात्र फुर्सद हुन्छ' भन्ने लोकोक्तिको जन्म त्यही बेला भएजस्तो लाग्छ।

प्रजातन्त्र पुनःस्थापना भएको डेढ–दुई दशकमै पत्याइनसक्नु एकादेशको कथा बनेको हाम्रो यथार्थ के हो भने, त्यसबेला पहाडी बस्तीहरूमा दशैं मनाउने चामललगायतका अनाज नै हुँदैनथ्यो। बेसाहा खोज्दै हिंड्दा कहिले पाटी त कहिले जंगलमा बास हुन्थ्यो। आज चामल जस्तै पैसाको पनि फालाफाल छ। त्यो बेला पैसा पनि अति दुर्लभ वस्तुमा पर्थ्यो। मुश्किलले एकाध सय जुटाएर बेसाहाको खोजीमा निस्कनेहरू घरमा दशैं पर्खेर बसेका केटाकेटी सम्झ्ँदै दौडन्थे। शिरमा नाम्लोको डाम बसाएर ल्याएको बेसाहाले घरमा दशैं ल्याउँथ्यो।

आज हाम्रो समाज पनि शाकाहारको रहर गर्न थालेको छ। यही समाज, जहाँ डेढ–दुई दशक अघि 'दशैंमा पनि अघाउन्जेल मासु नखाए कहिले खाने?' भन्ने मान्यता थियो। त्यो माहोल तयार पार्न ऋणपान गरेको पैसाले खसी–बोका, राँगो, सुँगुर, हाँस–कुखुराको लागि कुकुर भुकाउँदै गाउँ–गाउँ डुल्नुपर्थ्यो। बल्लतल्ल भाउ मिलाएर ल्याएको शिकार कुनै तर्काहा पर्ने, बाटोघाटो केही नहेरी दगुर्ने। कुनै बँधुवा पर्थे, डेग नचल्ने।

गाउँघरको दशैं उत्सवमा पीङले महत्वपूर्ण भूमिका खेल्थ्यो। गाउँका युवकहरू रोटे र लिंगे पीङ हाल्न एकजूट हुन्थे। त्यसबेलाको बाटोघाटोविहीन पहाडमा पीङ हाल्नु मामूली काम हुन्नथ्यो। पीङको रहर पूरा गर्न सिंगो गाउँ नभए पनि कम्तीमा एउटा टोलको एकमुष्ठ बल र सीप चाहिन्थ्योे। पीङको इञ्जिनियरिङ प्रक्रिया नमिल्दा कतिलाई ठूलै घाउचोट लाग्थ्यो। गाउँका 'बहरहरू' को रहर पीङपछि कमेरो वा रातो माटो संकलनमा हुन्थ्यो। किनभने, पीङमा जस्तै घरबाट टाढाको वन वा खोला–खोंचमा माटो लिन वारिपारिका तरुनीहरू आएका हुन्थे। त्यस्तो माहोलमा युवक–युवतीहरू भविष्यको जीवन साथी खोज्थे।

त्यो पीङ र माटोको माहोलको नकारात्मक असर घर–घरका सासूबुहारीहरूमाथि पर्थ्यो। घरका तन्नेरी जति त्यता लहसिएपछि दशैंको सारा चटारो सासूबुहारीहरूको काँधमा थुप्रिन्थ्यो। अझ् बुहारीहरूलाई त घरको दशैं ठिक्क पारेर टीका थाप्न माइत पनि पुग्नुपर्थ्यो, भान्टाङ–भुन्टुङ र कोसेली सम्हाल्दै। धन्न त्यो बेला निकै सुन्दर चलन थियो– बर्खाभर भल–बाढीले बिगारेका गौंडागल्फा र बाटोघाटोलाई दशैंको ठीक अगाडि पूर्ववत् अवस्थामा फर्काइएको हुन्थ्यो। अहिलेको सहकालमा भने यस्तो कल्याणकारी कामलाई सरकारको जिम्मेवारीमा राखिएको छ।

दशैं भित्र्याउन र विदा गर्न घरका महिलाहरूले गर्नुपर्ने हैरानी अवर्णनीय छ। ठूलो परिवारका बुहारीहरूका लागि त दशैं दशा नै बनेर आउँथ्यो। दिनभरिको थकाइ सहँदै राति अबेरसम्मको घरधन्दा सकेर ओछ्यानमा ढल्किन नपाउँदै उठ्नेबेला भइहाल्थ्यो। भालेको डाँकअघि नै उठेर ढिकीजाँतो नगर्ने बुहारीको उछित्तो काढिन्थ्यो।

घर सिंगारपटार, ढिकीजाँतो र भातभान्सादेखि पाहुनाका लागि जाँडरक्सी उत्पादनसम्मका काम तिनको 'ठेका' मा पर्थ्यो। पातीमा कोपिला नलाग्दै जाँडका घैटाहरूले बुइगल भरिनुपर्थ्यो। पाती फुल्न थालेसँगै घरका छोरीबुहारीले एकपछि अर्को जाँडरक्सीको बाहान उतार्न थाल्थे, जुन घरदेखि माइत र मावलासम्मका गिलाससम्म पुग्थे, दशैंभर। अहिलेजस्तो घरघरै कलधारा नजोडिएको त्यो समयमा जाँडरक्सीको बाहान उतार्न टाढा–टाढाबाट सयौं गाग्री पानी बोक्नुपर्थ्यो। त्यसरी गलेर फतक्कै भएका छोरीबुहारीहरू सुस्केरा हाल्थे, “यो दशैं भन्ने दशा त कहिल्यै नआए हुने!”

हामी भुराभुरीलाई भने यो दशैं 'आउन बेर न जान बेर' हुन्थ्यो। जमराको टपरी पँधेरामा सेलाउन नपाउँदै एक वर्ष पर कुदिसकेको हुन्थ्यो, दशैं। हामी थक्कथक्क हुँदै दक्षिणा गन्थ्यौं, दशै पटक। घरमूलीहरूलाई भने श्रीपञ्चमीको भाकाले पोल्न थालिसकेको हुन्थ्यो– जसोतसो दशैं त टारियो अब ऋणको सावाँ–ब्याज कसरी चुक्ता गर्ने?

प्रतिकृया दिनुहोस