आज विजयादशमी, ११ः५५ मा टीकाको साइत
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व १४ असोजमा हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ असोज देवी विसर्जनको साइत बिहान ८ः०१ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ः५५ बजेको साइत उत्तम रहेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले दिनभरी टीका लगाउन साइत खोज्नु नपर्ने पनि उनको भनाइ छ ।
मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँ पर्वकै सबैभन्दा महत्वपूर्ण दिन हो ।