ब्लगशुक्रवार, आश्विन १३, २०७४

एक परदेशीको आत्मस्वीकारोक्ति

हिमालखबर

चार दशक लामो प्रवास बसाइले मलाई सबैथोक दियो। तर दशैं–तिहारमा घर बिर्सन सक्ने शक्ति भने कहिल्यै दिएन।

नरेश कोइराला

४२ वर्ष भैसक्यो मैले घर छोडेको। नेपाल बाहिर बसेको सम्पूर्ण समय जोड्यो भने त ४८ वर्ष नै पुग्छ। अहिले ७४ वर्षको उमेरमा क्यानडाको भ्यानकुबरबाट दशैं र घर सम्झ्ँदा मनमा अनेक किसिमका तरङ्ग उर्लिन्छन्। 

दशैंको मुख भएकाले दाजु–भाइ, दिदी–बहिनी, टीका र नातागोता भेटघाटको सम्झ्ना त भइहाल्छ। त्यसबीच आफू नपाउँदा अझ् खल्लो लाग्छ। हुन त म धार्मिक हुइनँ। तर पनि दशैंको टीकाले नातागोता एकै ठाउँमा भेला हुने भएर होला, दशैं रमाइलो लाग्छ। देशबाट टाढा बस्नेलाई त यसको महत्व झ्नै होला र

यी त भावनाका कुरा भए। तार्किक रूपमा चाहिं म कहिलेकाहीं सोच्ने गर्छु, नेपालसँग मेरो सम्बन्ध के हो? अहिलेको मेरो जे जस्तो अवस्था छ, त्यो सबै विदेशकै देन हो। छोराछोरी यतै हुर्के, पढे। हिन्दुस्तान (भारत), अमेरिका, थाइल्याण्ड, इरान, हङकङ, क्यानडा जहाँ बसे पनि, सबै मुलुकवासीले मसँग राम्रो व्यवहार गरेका छन्; अप्ठ्यारामा सघाएका छन्।

म ती सबैप्रति ऋणी मानिस हुँ। तैपनि मलाई किन दशैं–तिहारले मात्र तान्छ, क्रिसमस अथवा रमजानले किन तान्दैन? नेपालसँगको सम्बन्धलाई यति बलियोसँग के कुराले जोडेको होला?

मनोविज्ञानका ज्ञाताहरू भन्छन्– मानिसको स्वभाव धेरैजसो वयस्कवय पुगुञ्जेलसम्म परेका प्रभावहरूमा भर पर्छ। त्यसैले पनि हुनसक्छ, मेरो मन स्वभावैले जन्मेहुर्केको, बसेको नेपालतिर लाग्छ।

बीपीको संसर्ग
म ५–६ वर्षको हुँदा नै नेपाली कांग्रेसको राणाशासन विरुद्धको आन्दोलन शुरूआत भइसकेको थियो। कांग्रेसको नेतृत्वसँग पारिवारिक सम्बन्धका कारण घरमा राजनीतिक कुराकानी चलिरहन्थ्यो। बुबा सधैंजसो बेलुकी फिलिप्स भल्भ रेडियोमा भोल्टेज स्पेप–अप ट्रान्सफर्मर लगाएर तारिणीप्रसाद कोइरालाले चलाएको नेपाल प्रजातान्त्रिक रेडियो सानो स्वर पारेर सुन्नुहुन्थ्यो। बुबाले हामीलाई धरणीधर कोइरालाको यही कविता ठूलो स्वरमा वाचन गरेर बिहान बिहान उठाउनुहुन्थ्यो।

“जाग, जाग भोर भो, विश्वमा सोर भो;
मस्त नीद त्याग लौ, क्रान्तिको जोड भो”

यस्ता गतिविधिले बच्चैमा दिमागमा राजनीति, क्रान्ति र विकासका बीउ रोपिए। प्रजातन्त्रको आगमनपछि काठमाडौंमा जुलूस, सभा भैराख्थे। म ८–१० वर्षको हुँदा मेरी आमा जुलूसहरूमा जान उत्साहित गर्नुहुन्थ्यो। आमालाई शायद छोरोले पारिवारिक वातावरणबाट निस्किएर संसार अनुभव गरोस् भन्ने इच्छा थियो होला। त्यति बेलै दीर्घराज कोइराला र धरणीधर कोइरालाको प्रेरणामा हामी केही केटाकेटी मिलेर मैतिदेवीस्थित उहाँहरूकै घरमा 'शिशु वाचनालय' पुस्तकालय खोल्यौं। अहिले त्यो पुस्तकालय छैन तर पुस्तकालयप्रतिको मेरो आकर्षण त्यो दिनबाटै अंकुरित भयो।

सन् १९६६ मा भारतको रूड्की विश्वविद्यालय (अहिलेको आई.आई.टी. रूड्की) बाट सिभिल इन्जिनियरिङ सिध्याएपछि सडक विभागमा काम गर्न थालें। हामी नयाँ इन्जिनियरहरूमा दिलोज्यानले काम गर्नुपर्छ भन्ने अठोट थियो। तर, वर्ष दिनभित्रै जोश जाँगर निराशामा परिणत हुन थाल्यो। हामी ७–८ जना मिलेर विभागका हाकिमलगायत पुराना इन्जिनियरहरू संलग्न घूसखोरीको भण्डाफोर गरेर मन्त्रालय र राजदरबारमा गोप्य पत्र पठायौं। तर, त्यो पत्रको केही असर भएन। त्यसपछि मलगायतका केही साथीले जागिर छाड्यौं।

न्यूजविकमा प्रकाशित पत्र।

त्यसताका पनि घरमा समसामयिक राजनीति, दर्शन, इतिहास, धर्म, सामाजिक न्यायबारे परिवार, नातागोता र आगन्तुकमा खूब बहस हुन्थ्यो। यस्तो बहस राति खानापछि बुबाआमाको कोठामा हुन्थ्यो। बी.पी. कोइराला सुन्दरीजल जेलबाट छुटेपछि निर्वासनमा रहेका धेरै नेता हिन्दुस्थानबाट फर्किए। त्यससँगै घरमा बहसको मण्डली अझ् बलियो हुन थाल्यो। शैलजा आचार्य, भीमबहादुर तामाङ, चक्रप्रसाद बास्तोला र अरूहरूको आउजाउ धेरै हुन्थ्यो। दमननाथ ढुङ्गाना त मेरा बच्चैदेखिका साथी थिए, छुट्ने कुरै भएन।

तर, बी.पी. जेलबाट छुटेपछि फेरि हिन्दुस्तान जानुभयो। म उहाँलाई भेट्न दिल्ली, बनारस जान थालें। उहाँका इतिहास, धर्म, दर्शन, सामाजिक न्यायका कुराबाट म औधी प्रभावित थिएँ। एकपटक त उहाँले 'तँ मलाई कुनै पनि विषयमा २० वटा प्रश्न गर्, त्यसमा बहस गरौं' भन्नुभएको सम्झ्ना आउँछ। एकजना मानिसलाई यतिका धेरै कुरा कसरी थाहा भयो होला जस्तो लाग्थ्यो। त्यो अनुभवले मलाई नयाँ कुरा सिक्ने, पढ्ने इच्छा बसाइदियो। 'आत्मसम्मानसाथ बाँच्नु, जसलाई मनैसँग आदर गर्न सकिंदैन ऊसँग काम नगर्नु, पैसा मात्र कमाउने उद्देश्यमा बाँच्ने मानिसको जिन्दगी खोक्रो हुन्छ याद राख्नु' बीपीका यी कुरा म आजसम्म सम्झ्न्छु।

सन् १९७२ मा म र ईश्वर वन्त यूएनडीपीको कार्यक्रममा अमेरिकाको वायोमिङ राज्यको राजधानी सायानमा थियौं। एउटा अमेरिकी परिवारले घरमा खान बोलायो। अचम्म, त्यो घरमा सेतो भुवा भएको कार्पेट पर्खालदेखि नै ओछ्याइएको थियो। हिंड्दै लचकलचक गर्ने। त्यस्तो कार्पेट त कहिल्यै नहिंडेको मात्र होइन, देखेकै थिइनँ।

खाना खाँदैगर्दा गृहिणी मेरीले सोधिन्, “तिमीहरूको पनि मेरो दुलाहा फ्राङ्कको जतिकै कम तलब हुन्छ?” फ्राङ्क र मेरीले महीनामा करीब ६–७ हजार डलर कमाउँथे। एउटा छोरो लागूऔषध दुर्व्यसनी थियो, बाहिरै बस्थ्यो। त्यसैले उनीहरू दुःखी देखिन्थे। तर पनि उनीहरू पैसाकै कुरा धेरै गर्थे। त्यसबेला मेरो मासिक तलब भने करीब ४८ डलर मात्र थियो। त्यसदिन मैले ठूलो शिक्षा पाएँ, “पैसा जम्मा गरेर मात्र सुख, आत्मशान्ति नहुने रहेछ।”

अनि देश छाडें
फर्किएपछि फेरि सडक विभागमै पुगें। सडकको दुर्दशा देखेर विभागभित्र निर्माण सामग्री जाँच्ने प्रयोगशाला खोल्नुपर्छ भनेर दुई–तीन पटक टिप्पणी उठाएँ।

साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित पत्र।

प्रयोगशाला राखेपछि ठेकेदारबाट पैसा खान नमिलेरै हुन सक्छ, मेरो कोशिश सफल भएन। बेलैमा प्रयोगशाला स्थापना गरेको भए, अहिलेका सडकका कालोपत्रे दुई वर्षमै उप्किने थिएनन्, सडकको ढलमा डुबेर बच्चा मर्दैनथे; निर्माणको धूलोले शहर बस्न नसकिने हुने थिएन। विभागभित्रको हाकिमी हजुर, चाकडी, पैसा कमाउन सकिने परियोजनामा जान इन्जिनियरहरूको हानाथापले वाक्क लाग्यो। जागिर मात्र खाइराख्न मनले दिएन। दुई–तीन जना साथीसँग मैले पनि जागिर छोडें। “अरूले सडक विभागको जागिर खान राजदरबारमा सोर्स लाउँछन्, तँ चाहिं भएको पनि छोड्ने, दिमाग बिग्रियो तेरो” भनेको अहिले पनि सम्झिन्छु।

सडक विभाग छोडेपछि हामीले गुणस्तर नियन्त्रणकै लागि सघाउन इष्ट कन्सल्ट्यान्ट्स प्रालि खोल्यौं। तर, नयाँ कम्पनीमा पर्याप्त लगानी गर्न सकिएन। काम पाउन पनि तिनै सरकारी कर्मचारी रिझाउनुपर्ने भयो, जसबाट हैरान भएर जागिर छाडेका थियौं।

अर्कोतिर बेलाबेलामा बीपीलाई भेट्न बनारस जाने भएकोले मेरा पछाडि गुप्तचर लागेको खबर बुबाको स्रोतबाट आइरहेको थियो। त्यसताका मेरो रुचि हुलाक टिकट जम्मा गर्ने पनि थियो। १७ वटा मुलुकमा त पत्रमित्र नै थिए। उनीहरूका पत्रहरू पनि घर आइपुग्दा पहिले नै खोलेर आउन थाले। त्यसपछि भने मैले मुलुक छोड्ने निर्णय गरें। साथी दमनले “तँलाई अ.डि.ई. (सडक विभागमा मेरो पद असिस्टेन्ट डिभिजनल इन्जिनियरलाई छोटकरीमा अ.डि.ई. लेख्ने चलन थियो) भन्थे, तँ अड्न सकिनस्, हिंडिस्” भनेको पनि सम्झ्ना हुन्छ। कहिलेकाहीं म आफूलाई भगुवा भए जस्तो पनि लाग्छ।

नेपाल छोडेपछि थाइल्याण्ड, इरान, हङकङहुँदै २३ वर्षदेखि म क्यानडामा छु। तर, जहाँ बसे पनि देशको सम्झ्ना आइरहन्छ। सम्झ्नासँग माया र मायासँग उत्तरदायित्व जोडिएको हुँदोरहेछ।

देश बाहिरैबाट पनि म पञ्चायती व्यवस्थाको विरोधमा अन्तर्राष्ट्रिय अखबारहरूमा लेख्थें। क्यानडा आएपछि भने नेपाल लाइब्रेरी फाउण्डेशन खोलेर नेपालमा पुस्तकालय बनाउने काममा सहयोग गरिरहेको छु। पुस्तकालयका काममा नेपालका पहाड मधेश घुम्दा ठूला दिलका दाजुभाइ दिदीबहिनीसँग भेट हुन्छ, मौका दिए यी नेपालीले के नै गर्न नसक्दा हुन् र जस्तो लाग्छ। नयाँ किताब पाएर केटाकेटी खुशी भएको देख्दा मन प्रशन्न हुन्छ।

४२ वर्षदेखि बाहिर सिकेको ज्ञान (सडक नखनी पाइप हाल्ने; पहिरो रोक्ने; निर्माणको गुणस्तर नियन्त्रण गर्ने) नेपालमा लगाउने मन नभएको होइन। तर सन् २०१५ को तीन महीना राष्ट्रिय योजना आयोगसँग काम गरेको अनुभवले अहिलेको राजनीतिक गुन्डागर्दी नियन्त्रण नभएसम्म सिंहदरबारको ब्यूरोक्रेसी र राजनीतिक अनुत्तरदायीपनबीच केही गर्न नसकिने महसूस गरें।

जीवन विभिन्न रङका बुट्टाहरू जोडेर बनाइएको कार्पेट जस्तो हुँदोरहेछ। परिवारका सदस्य, साथी, विभिन्न मुलुकमा भेटेका मानिस, म बसिरहेको मुलुक कार्पेटको बुट्टा जस्तै हौं। म आफैं पनि बुट्टामध्येकै एक हुँ। र, त्यसभित्रको पनि सबैभन्दा ठूलो र प्रभावकारी बुट्टा त थोरै भए पनि नेपालको बसाइ नै रहेछ। किनभने, त्यही माटोबाट मैलेबाँच्न चाहिने बौद्धिक आधार, नैतिक बल पाएँ, सामाजिक न्याय र आत्मसम्मानका कुरा सिकें। नेपाली बुट्टामै रहेछ– मेरो जीवनको चूरो, जिउनुको मूल्य मान्यता– जसले मलाई यहाँसम्म डोर्‍यायो। त्यसैले होला घरसँग मेरो सधैंको अटुट सम्बन्ध छ।

सबैलाई दशैंको शुभकामना!

प्रतिकृया दिनुहोस