रिपोर्टशुक्रवार, आश्विन १३, २०७४

घर जोड्ने पर्व

रमेशकुमार

विदेशमा स्थायी बसोबास गरेका नेपालीलाई जन्मथलोमा तान्ने र भावनात्मक रूपले घरसँग जोडिराख्ने बलियो तन्तु हो, दशैं।

जीवा लामिछाने (जर्मनी)।

जीवा लामिछाने, कहलिएका व्यवसायी। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष लामिछाने देश छाडेर प्रवासी बनेको ३२ वर्ष पुग्न लाग्यो। तत्कालीन सोभियत संघमा बिताएका विद्यार्थी जीवनका शुरूआती ६ वर्ष बाहेक यो ३२ वर्षमा उनको एउटा मात्र दशैं देश बाहिर बित्यो।

देशदेशावर डुलिरहने उनी दशैं कहिले आउला र घर फर्कूंला भन्ने व्यग्र प्रतीक्षामा हुन्छन्। अचाक्ली व्यस्त दिनचर्याबीच पनि फुर्सद मिलाएर दशैं मनाउन जन्मथलोमै आइपुग्ने लामिछाने भन्छन्, “जहाँ र जस्तो परिस्थितिमा भए पनि दशैं मान्न हुत्तिएर घरै आइपुग्छु।” 

दशैंका बेला लामिछानेलाई संसारका अनेक कुनाबाट तानेर चितवनको घरसम्म ल्याइपुर्‍याउने त्यो आखिर के चाहिं कुरा हो? उनकै शब्दमा– 'स्वजन भेटघाट र परिवारका ठूला सदस्यबाट लिइने आशीर्वाद, जसबाट परम आनन्द मिल्छ।'

दशैं नजिकिंदै जाँदा गाउँघरका पुराना सम्झ्ना ताजा भएर मनमस्तिष्क हल्लाउन थालेपछि उनका खुट्टा परदेशमा थामिंदैनन्, वेगसरी हान्निएर चितवन आइपुग्छन्।

घरकै हुटहुटी
'लाहुर जाने' प्रचलन पुरानै भए पनि थातथलो छोडेर पेशा–व्यवसायको खोजीमा विदेशिने नेपालीको संख्या उदारीकरणको शुरूआतसँगै तीव्र बनेको हो। आर्थिक वर्ष २०५०/५१ मा भारत बाहेकका देशमा रोजगारीका निम्ति पुगेका नेपालीको संख्या ६ हजार ६०० मात्र थियो। अस्थायी कामधन्दाका लागि मात्र होइन, परदेशमा स्थायी बसोबास गरेका नेपालीको संख्या पनि अब सानो छैन।

पढाइ, काम र व्यवसायको खोजीमा करीब ४० लाख नेपाली खाडीदेखि यूरोप र अमेरिकादेखि अफ्रिकाका कुना–कुनासम्म पुगेका छन्। नामै नसुनिएका देशका चौरस्ता, सार्वजनिक यातायात वा रेस्टुराँमा नेपाली स्वरको गुन्गुन सुनिनु सामान्य झैं बनिसक्यो। रहर वा बाध्यताले विदेशिएर संसारका कुना–कुनासम्म पुगेका नेपालीलाई देश सम्झाउने र वर्षौं विछोडिएको घरसँग जोड्ने सम्बन्ध–सेतु बनेको छ, दशैं।

दुई दशकयता बेलायत बस्दै आएका कुल आचार्य उतै स्थापित भइसकेका छन्। बेलायतमा आफ्नै घर, चल्तीको व्यवसाय र परिवार साथमै छ। र पनि, सम्भव भएसम्म उनी दशैं मान्न कुदेर नेपाल आइपुग्छन्। मिलेसम्म पुर्ख्यौली घर पर्वत नै पुग्छन्। बेलायतमा मिलिजुली दशैं मनाउने नेपाली समुदाय सानो छैन, तर परदेशको दशैंले उनको मन रत्तिंदैन। बाल्यकालको झ्झ्ल्कोले उनलाई बेलायतमै अडिन दिंदैन। “बेलायतमा दशैंको टीका लगाएर पनि धेरैजसो टीका थाप्न नेपाल आइपुग्छु” आचार्य भन्छन्, “कहाँ घरको दशैं, कहाँ परदेशको! चाडबाडमा मिल्ने यस्तो सन्तोष परदेशमा कहाँ मिल्नु!” आफू जन्मे–हुर्केको घरको हुटहुटी कतिसम्म भने, १२ वैशाख २०७२ को भूकम्पपछि उनी ९ पटक नेपाल आइसकेका छन्।

भनिन्छ– बालवयमा प्रभाव पार्ने स्मृतिहरूले मान्छेको स्वभाव निर्धारण गर्छन्। अझ्, दशैंसँग जोडिने बाल्यकालका सुखद् स्मृतिहरूले झ्क्झ्क्याएपछिको नेपाली मन भुर्र उडी आफ्नै गुँड फर्कने चराजस्तो भैजान्छ! ११ वर्षदेखि अफ्रिकी मुलुक नाइजेरियामा बसिरहेका हिक्मत थापा भन्छन्, “तारतम्य मिलेसम्म दशैंमा घर नफर्कने प्रवासी नेपाली को पो होला!”

मन केसी अष्ट्रेलिया बस्न थालेको २२ वर्ष पुग्यो। श्रीमती र सन्तान साथमै छन्। तर, हरेक वर्षको दशैंमा उनको मन अष्ट्रेलियामा अडिन्न। भ्याएसम्म उनी दशैंमा नेपाल आउँछन् र आफू जन्मेको गुल्मीको गाउँसम्म पुग्छन्। ९० वर्ष कटेकी आमाको हातबाट टीका थाप्नु जस्तो चाडबाडको आनन्द शायदै केही होला। दशैं र घर भन्नासाथ गाउँका सम्झ्ना स्मृतिमा ताजा भएर आउँछन्। उनलाई लाग्छ– घरसँग जोडिराख्ने 'केही कुरा' छन्। के होलान् ती 'केही कुरा'? पुरानो घरको खरको छानो, गाउँको माटोको बास्ना, ताजा हावा या धुमिल हुँदै गरेका बाल्यकालीन दशैंका स्मृतिहरू?

“घरमा पुगेर ओछ्यानमा सुस्ताउँदाको न्यानोपन र असीम आनन्द बयान गर्न सकिन्न, घर भनेको पूर्वाधार र संरचना मात्र नभई मन रत्तिने ठाउँ रहेछ” केसी भन्छन्, “संसारको जुन कुनामा बसे पनि घरसँगको यो आत्मीयता कम नहुँदो रहेछ।”

टाढा भएपछि नै घरको महत्व र सम्झ्ना अझ् प्रगाढ बन्छ। हुन पनि त्यो हार्दिकता, आफ्नोपन, न्यानोपन, संस्कार र संस्कृतिको कुनै मौद्रिक मूल्य हुँदैन। भौतिक सुख–सयलले त्यसलाई छोप्न सक्दैन। विरानो मुलुकमा एकापसमा अपरिचित नेपाली भेटिनेबित्तिकै पहिलो प्रश्न हुन्छ– 'नेपालमा घर कता पर्‍यो?' घरले दिने पहिचान खोतलेपछि शुरू हुन्छ– घरका सम्झ्नाको पोकापन्तुरा फुकाउन। “घर, चाडपर्व, संस्कृति भनेको पहिचान मात्र होइन, जीवन पो रहेछ” अफ्रिकी महादेशको नाइजेरियामा बस्दै आएका हिक्मत थापा भन्छन्, 'घरबाहिर बसेपछि नै घरको सम्झ्ना अझ् गहिरो हुँदोरहेछ।”

वर्षौं विदेशमा बिताएका र उतै गृहस्थी जोडेका नेपालीलाई दशैंजस्ता चाडबाडले नै घर र आत्मीयजनबाट टाढिन दिंदैनन्। १६ वर्षदेखि अमेरिकामा बस्दै आएका लोक तिवारीलाई लाग्छ– संसारको जुनसुकै कुनामा पुगेका नेपालीलाई आफ्नो माटोसँग जोडिराख्ने काम बाल्य–युवाकालमा दशैंको टीका थापेका तिनै घरले गरिरहेका छन्। भन्छन्, “युवावयसम्म नेपालमै बिताएकाहरूमा घर र दशैंको सम्झ्ना जीवनको पछिल्लो कालखण्डमा पनि कायम रहन्छ।”

गुजाराका लागि 'लाहुर जाने' प्रचलन नेपाली समाजमा १९औं शताब्दीको शुरूआतदेखि चलेको हो। दशैं खर्च जोरजामका लागि भारतमा काम गर्न जाने र दशैंमा घर फर्कने चलन अद्यापि छँदैछ। 'लाहुर' गएकाहरू घर फिर्ने यो यामको व्यग्र प्रतीक्षा गाउँघरमा अहिले पनि हुन्छ। लाहुरेहरूले ल्याउने नयाँनयाँ विदेशी मालमत्ता, चिजबिज, खाद्य पदार्थसँग साक्षात्कार गर्ने उत्सुकता पनि उस्तै हुन्छ। सम्बन्धहरूमा पुनर्ताजगी र पुनर्जीवन यसैले दिन्छ।

लोक तिवारी (अमेरिका)।

दुई दशकदेखि यूरोप र हाल डेनमार्कमा बस्दै आएका सोम सापकोटालाई प्रत्येक दशैंमा घरको 'नोस्टाल्जिया' ले तानेर यहीं ल्याइपुर्‍याउँछ। बागलुङबाट चितवन झ्रेका परिवारजन र आफन्त भेट्ने अनि रामरमाइलो गर्ने उत्कट इच्छाले दशैंमा उनका पाइला यूरोपमा अडिनै मान्दैनन्। सापकोटा भन्छन्, “सन्तति पुस्तालाई नेपालको घर र संस्कृतिसँग हामीजति आत्मीयता नहोला, तर हाम्रो पुस्तालाई जता पुगे पनि दशैंमा घर फर्कने हुटहुटी भइरहन्छ।”

विदेशमै जन्मे हुर्केका दोस्रो पुस्ताका नेपालीलाई पनि घर र देशसँग सांस्कृतिक र भावनात्मक रूपमा जोडिराख्न दशैं महत्वपूर्ण अवसर भएको उनको अनुभव छ। “कम्तीमा दशैंमा घर आउँदा उनीहरूको घरसँगको नाता टुट्न पाउँदैन” सापकोटा भन्छन्। अमेरिकामा बस्ने तिवारी पनि नेपाली संस्कृति बचाएर दोस्रो पुस्तालाई हस्तान्तरण गर्न दशैंको महत्व रहेको बताउँछन्। 

प्रवासी तारतम्य
दशैंका बेला काठमाडौंमा एउटा उत्सव हुने गर्छ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनको। दशैंको बेला नै यो सम्मेलन किन हुन्छ? एनआरएनएका संस्थापकमध्ये एक, जीवा लामिछानेका अनुसार सन् २००३ मा सम्मेलन आयोजनाको प्रस्ताव गर्दा सम्मेलन नेपालमै गर्ने र हरेक दुई वर्षमा दशैंका बेला गर्ने तय गरिएको थियो। प्रवासी नेपाली दशैं मान्न घर फर्कने मौकाको सदुपयोग हुने गरी सबैलाई एकै ठाउँमा भेला गर्न यो तारतम्य मिलाइएको उनी बताउँछन्। यो अभ्यासले विदेशिएका नेपालीलाई दशैंमा घर फर्कने मौका समेत जुराइदिएको छ।

यो वर्ष पनि १४–१७ अक्टोबरमा काठमाडौंमा एनआरएनएको ८औं विश्व सम्मेलन हुँदैछ। सम्मेलनमा दुई हजारभन्दा बढी प्रतिनिधि आउने र तिनका परिवारसमेत गर्दा १०–१५ हजार प्रवासी नेपाली घर फर्कने गरेको बेल्जियममा बस्ने रजनी प्रधान बताउँछिन्।

घर फर्कन नपाउने प्रवासीलाई दशैंले घरको सम्झ्ना अझ् तिक्खर पारिदिन्छ। उनीहरू परदेशमै जमरा राख्छन् र एकापसमा मिलेर दशैं मनाउने प्रधान बताउँछिन्। आठ वर्षदेखि अफ्रिकी मुलुक मोजाम्बिकमा बस्दै आएका स्याङ्जाका यमप्रसाद सुवेदी भन्छन्, 'घर सम्झ्ँदै परदेशमै दशैंको न्यास्रो मेट्छौं।”

प्रतिकृया दिनुहोस