कला/साहित्यबिहिवार, आश्विन १२, २०७४

दशैं साहित्य: एउटा शिवप्रकाश

हिमालखबर

नारायण ढकाल

एक 
एकसमयसम्म ऊ र म अलग थिएनौं। हाम्रो नाम एउटै थियो। म शिवप्रकाश मैनाली र ऊ पनि शिवप्रकाश मैनाली। संसारले एउटा शिवप्रकाश मैनालीलाई मात्र जान्दथ्यो। खासमा ऊ थिएन तर म थिएँ। खासमा म थिइनँ तर ऊ थियो। ऊ शरीर थियो र म मन थिएँ। ऊ मन थियो र म शरीर थिएँ। ऊ र मबीच कुनै सिमाना थिएन।

एक दिन दुर्घटना भयो, ऊ मभित्रबाट निस्क्यो।

मेरो चालीसौं जन्म दिवसको बिहानको कुरा हो। आत्महत्या गर्न लागेको मानिसझैं कोठाको भित्तोमा झुण्डिएको क्यालेण्डरमा जेठको तेस्रो साता चल्दैथियो। सारा आकाश बाक्लो कालो तुवाँलोले ढाकिएको थियो। जमीनमा नग्न तथा अश्लील गर्मीले हद नाघेको थियो।

स्वास्नी भान्सामा माटाको दुईमुखे चूलोमा काँचो दाउरा फुक्दै थिई। रिसले ठुस्स परेकी स्वास्नीझैं आगो पनि पटक्कै बलिरहेको थिएन, धुवाँको मुस्लो मात्र उकेलिरहेको थियो। स्वास्नीका आँखा पाकेको गोलभेंडा जस्ता भएका थिए। उसको आक्रोश आँखाबाट पानी बनेर गालातिर र्झ्न तयार थियो। उसको नाक पनि भदौमा पाकेको खुर्सानी जस्तो रातो र रसिलो बनेको थियो।

गाई दुहिसकिएको थियो। अब म भकारो सोहोरी सकेर गउँते खाल्डोमा टीनको ट्वाक डुबाउँदै गउँत झिकिरहेको थिएँ। आल्मोनियमको कुच्चिएको डेक्ची भरिनभरिन लागेको थियो। अलि पर हाडेबयरको रूखमा कागहरू कराइरहेका थिए। तिनका आवाजले अर्को रूखका भँगेरा र सारौंका आवाज छायाँमा परेका थिए।

गउँतको डेक्ची बोकेर गोठबाट बाहिर निस्कँदा एउटी नवयुवती मेरो घरको सामुन्नेको गोरेटोबाट गाउँ तलको बजारतिर ओर्लिरहेको देखें। उसको अनुहार फर्सी जस्तो बाटुलो र शरीर केराको थाम जस्तो सुलुत्त परेको थियो। ऊ गहुँगोरो वर्णकी थिई। उसले रातो रङको कुर्ता र सेतो सुरुवाल लगाएकी थिई। उसका छातीका मातृअंग पहाडको थुम्काझ्ैं देखिन्थे र, ती उत्ताउलो नदीको पानीझैं तलमाथि हल्लिरहेका थिए। उसको आँखामा झ्ल्किएको मादक उज्यालो र उसको लचकदार नितम्ब देखेर मेरो मन लज्जा र भयले खुम्चियो।

ठीक त्यसैबेला मभित्रको शिवप्रकाश मैनाली बाहिर निस्कन बल गर्न थाल्यो। एकाएक मलाई प्रसव वेदनाले अँठ्याए जस्तो अनुभूति भयो। म दाह्रा किट्न थालें। मेरो शरीर थरथर काम्न थाल्यो। मेरो हातबाट गउँतको डेक्ची फुत्कियो र भुइँमा बजारियो। गउँत आँगनमा छताछुल्ल भयो।

अब मेरो अगाडि एउटा छायाँ थियो। त्यो छायाँ मेरो आँखाबाट निस्केर मेरो अगाडि ठिङ्ग उभिएको थियो। विस्तारै विस्तारै त्यो जिनिस सग्लो मानिसमा बदलिन थाल्यो।
“तिमी को?” प्रसव वेदनाको रनाहामा मैले सोधें।

“म शिवप्रकाश मैनाली।”

“शिवप्रकाश मैनाली त म हुँ।”

“अब तिमी नक्कली शिवप्रकाश मैनाली मात्र हौ। सक्कली त म हुँ।”

उसको जोडदार दाबीले म हच्किएँ।

के म नक्कली हुँ?

त्यतिबेरसम्ममा उत्तेजक छाती र थलथले नितम्ब भएकी युवती दृश्यबाट बाहिर हराइसकेकी थिई। वातावरणमा घरको ढोका, झयाल र धुरीको टुप्पोबाट निस्केको धुवाँ मात्र मडारिइरहेको थियो।

“के बक्बात बोलेको? सक्कली र नक्कलीको के लफडा हो यो?” मैले र्झ्केर सोधें।

“अब अचाक्ली भयो। अब म तिमीभित्र बस्न सक्दिनँ।” उसले भन्यो।

“तिम्ले भनेको मैले अझै बुझिनँ।”

“चालीसचालीस वर्षसम्म मैले तिम्रो अत्याचार सहें तर अब सहन्न। म मुक्ति चाहन्छु। चालीस वर्ष भनेको जीवनको सालाखाला आधा समय हो। तिम्रो पछि लाग्दा मेरो जीवन त्यसै गयो।”

“मैले अझ्ै केही बुझिनँ तिम्रो कुरा। तिम्रो दिमाग त ठीक छ?”

“मानसिक रूपमा म बिल्कुल ठीक छु तर तिमी पाखण्डी छौ। आफ्नो पाखण्डलाई आदर्श भन्छौ। म तिम्रो त्यही आदर्शको बुल्डोजरले किचिएर मर्ने भएँ। त्यसैले म तिमीभित्र अटाउन सकिनँ। यो कुराले मलाई लखेट्न थालेको निकै भयो तर अब म सहन्नँ।”

“मैले त्यस्तो नराम्रो के गरें र तिमीलाई?” थाहै नपाई म मोडिएँ।

“अझ् भन्छौ के गरें? के मात्र गरेनौ? अहिले भर्खर दृश्यबाट ओझेल भएकी केटीको कुरा गरौं न! म त्यसलाई हेरेर मन्त्रमुग्ध हुन चाहन्थें तर तिमी लाज र भयले खुम्चियौ। के यो तथाकथित आदर्शको नाममा झूर पाखण्ड होइन? यस्ता पनि अरू धेरै उदाहरण छन्। सबै भनौं?”

“म महात्मा गान्धी र कमरेड लेनिनको शिष्य हुँ। म बाटोमा आएजति सबै आइमाईलाई यौनआसक्तिको चश्माले हेर्न सक्दिनँ नि! ब्रह्मचर्य र क्रान्तिकारी यौन नैतिकतामा मेरो अगाध विश्वास छ भन्ने त तिमी राम्ररी बुझछौ होइन र?”

“यो तिम्रो अन्तस्करणको मान्यता होइन। अहिले तिमी अर्कैको आवाज बोल्दैछौ। यही भएर मैले तिमीबाट निस्कनु थियो। त्यसैले अब तिमी पुस्तकालयमा बस। यो पुस्तकालय बिग्रेको गुभाजुको आगमघर जस्तै हो जहाँ तिमी थुनिन योग्य छौ।”

“के तिमीले मलाई पुस्तकालयमा कैद गर्न खोजेको?”

“एउटा आदर्शवादीको नियति त्यै हो अब!”

त्यसपछि उसले मलाई आफ्ना तानाशाही पञ्जाले अँठ्यायो। उसको शक्तिले म छायँामा बदलिएँ। उसले मलाई घिसार्दै पुस्तकालयको पुरानो मेचमा लगेर राख्यो र डोरीले बाँध्यो।

“अब तिमी मेरो छायाँ बनेर बाँच्छौ। म चाहिं सक्कली शिवप्रकाश बनेर पृथ्वीमा चैन गर्छु।”

“के मलाई कैद नगरी तिम्रो स्वतन्त्रता अक्षुण्ण रहन सक्दैन?” मैले करुण लयमा सोधें।

“एउटाको स्वतन्त्रता हनन् नगरी अर्कोको स्वतन्त्रता सुरक्षित हुनसक्दैन, यो सार्वभौम सत्य हो। फेरि म डा. जेकिल र श्रीमान् हाइड जस्तो बनेर दोहोरो जिन्दगी पनि त बाँच्न चाहन्नँ। यसैले तिमीलाई थुन्नुभन्दा अर्को विकल्प मसित छैन। ल तिमी किताबहरूसँग बस र तिनीहरूसित मनलाग्दो व्यभिचार गर!”

त्यसपछि उसले पुस्तकालयको ढोका बन्द गर्‍यो र बाहिरबाट ताल्चा मार्‍यो।

दुई
पाखण्डी शिवप्रकाशको छायाँलाई पुस्तकालय कक्षमा बन्दी बनाएपछि मैले खासाको बाटो भएर देशभित्र आएको चाइनिज ताल्चा मारें र साँचो खल्तीमा घुसारें। यो मेरो विगत बीस वर्षदेखिको नियमित कार्यतालिका थियो। म सरासर तल ओर्लिएँ। तल्लो तलाको भान्सा कक्षमा मेरी पत्नी पार्वती खाना पकाउँदै थिई। उसको सामुन्ने आधुनिक चूलोमा इन्डियन आयल निगमले आपूर्ति गरेको लिक्विड पेट्रोलियम ग्याँस बलिरहेको थियो। उसका आँखा कवि कालिदासले काव्यमा वर्णन गरे जस्ता थिए, साक्षात मृगनयनी। ऊ एकदमै सन्तुष्ट देखिन्थी। उसको बगलमा एघार वर्षकी पिलन्धरे रामकली उसलाई सघाइरहेकी थिई। पत्नीले मतिर हेरी र भनी, “भरे त विशेष किसिमको पार्टी हुनुपर्छ है। वर्षमा एक पल्ट आउने बर्थडे हो, यसलाई राम्ररी मनाउनुपर्छ। तिमी आफ्ना मन्त्री, न्यायाधीश, सचिव, ठेकेदार, सम्पादक, कुलपति आदि सबै साथीलाई निम्ता गर। अझ् आउँछन् भने राष्ट्रपतिलाई पनि बोलाऊ। कोही नछुटुन्। कि सबैलाई म आफैं निम्ता गरौं? तिम्रो यो साठीऔं जन्मोत्सव हो, यो अति भव्य हुनुपर्छ।”

मन नलागी नलागी मुसुक्क हाँसें र कार झ्िक्न ग्यारेजतिर लम्किएँ।

फेरि दोहोर्‍याएर भन्छु : विगत बीस वर्षदेखि शिवप्रकाश मैनालीको छायाँ पुस्तकालयमा कैद थियो। जुन दिन म उसको शरीर र आत्माको दशगजाबाट फुत्किएँ त्यसपछि यता मेरो जीवनमा आमूल परिवर्तन आइसकेको थियो। मैले देशले पछ्याएको बाटो हिंडेको थिएँ। शायद महाजनहरू यसैलाई छलाङ वा क्रमभङ्ग भन्छन् क्यारे!

अब म कुनै पनि विशेषताले पहिलेको कंगाल शिवप्रकाश मैनाली थिइनँ। तर, साठीऔं जन्मदिवसको विशेष दिन आज मेरो दिमाग ठीक थिएन।

तीन
बीस वर्षअघि मलाई पुस्तकालयमा थुनेपछि शिवप्रकाश मैनाली बडो ठाँटबाँटसित तल ओर्लिएको थियो, जहाँ मेरी स्वास्नी काँचो दाउरा फुकिरहेकी थिई। कायाकल्प भएको शिवप्रकाशलाई देख्नासाथ स्वास्नीको आक्रोश मत्थर भएको थियो। ऊ आफ्नो नयाँ नाठोलाई झैं प्रेमभावले शिवप्रकाशलाई हेर्न थाली। बिहानसम्म ऊ मलाई देख्नासाथ कालो मुख पार्थी। हरेक शब्दमा निहुँ झ्िकेर मलाई व्यंग्यवाण प्रहार गर्थी। मैले कमाउन सकिनँ भनेर दुत्कार्थी। छोराछोरीको भविष्य मैले सपार्न नसक्ने भएँ भनेर भ्रर्त्सना गरिरहन्थी। पैसाको अभावले हाम्रो दाम्पत्य प्रेम दुर्घटनामा परेको थियो। उसले मलाई मायाको आँखाले नहेरेको वर्षौं भइसकेको थियो। अब उसको दृष्टिमा म अर्धाङ्ग नभएर मासु र हाडको यान्त्रिक पुर्जा मात्र थिएँ।

मेरी स्वास्नीले शिवप्रकाशलाई चरम शृङ्गार रसको अन्तरचक्षुले हेरेपछि ऊ खुशीले

फुल्न थाल्यो। धुवाँले आँखा सुन्निएकी मेरी स्वास्नीको गाला मुसार्दै उसले भन्यो, “प्रिये, अब हाम्रा दुःखका दिन सकिए।”

“यो कुरा हजुरको मुहारमै झ्ल्किएको छ स्वामी!”

“सबभन्दा पहिले म घरको लिलामी रद्द गराउँछु।”

“त्यो पनि हजुरको आँखामा टल्किएको छ स्वामी!”

“अब म सेतो बाघ बन्ने बाटोमा हिंड्छु रानी।”

“डायमन शमशेर राणाको उपन्यासको बाटोमा?”

“होइन प्रिये! त्यो सेतो बाघ अरविन्द अडिगाको हो। म हजारौं मानिसको ज्यान लिएर भए पनि रातारात धनकुबेर बन्न चाहन्छु। असल नागरिक बन्न चाहन्छु।”

“त्यो सब कुरा त म हजुरको निधारमा पढ्दैछु स्वामी!”

त्यसपछि मेरी स्वास्नी शिवप्रकाश मैनालीको अँगालोमा बेरिई र निर्लज्जतापूर्वक उसलाई चुम्न थाली। लौ हेर त कस्ती बाइफाले! शिवप्रकाश धनी हुनेछ भन्ने आशा र सपनामा कसरी पग्लेकी? स्त्रिया चरित्रं पुरुषस्य भाग्यं दैवो न जानाति कुतो मनुष्यः?

पहिला पुस्तकालयमा रहँदा मलाई जति आनन्द मिल्थ्यो, त्यस दिन त्यहाँ कैद हुँदा अनुभूत भएको यातना म शब्दमा व्यक्त गर्न सक्दिनँ।

चार
आदर्शवादी शिवप्रकाश मैनालीलाई बन्दी बनाउनु मेरो जति बुद्धिमत्तापूर्ण कदम थियो, त्योभन्दा हजारौं गुणा बढी मूर्खतापूर्ण साबित भयो।

गरीबीका दिनमा रहेको पहिलेको पुस्तकालय कक्ष विस्मृतिमा गइसकेको थियो। मेरो जीवनमा आएको भौतिक रूपान्तरणपछि पुस्तकालयको पनि कायान्तरण भएको थियो। अब त्यो उहिले जस्तो लथालिङ्ग थिएन। अब त्यहाँ मैले नपढेका किताबहरू पनि धेरै थिए। किताबको रखाई पनि भव्य थियो। त्यो व्यवस्थापन पुस्तकालय विज्ञानमा उत्कृष्ट मानिसले गरेको जस्तो थियो। १५*२५ फिटको कोठामा झयाल रहेको ठाउँबाहेक सबतिर किताब थिए। माझ्मा एउटा शानदार पलङमा मखमलको बिछ्यौना थियो।

बिछ्यौनाको बगलमा एउटा टेबुल र सँगै आरामदायी मेच थियो। आदर्शवादी शिवप्रकाश कहिले मेचमा बसेर त कहिले मखमली ओछ्यानमा बसेर किताबमा घोत्लिइरहेको हुन्थ्यो। पुस्तकालय सुँगुरको खोर जस्तै फोहोर रहेको बेला ऊ निकै दुःखी थियो। त्यसबेलाको घर नै कच्ची र थोत्रो थियो। जब म रातारात धनकुबेरमा बदलिएँ तब त्यसलाई विस्थापित गरेर नयाँ महल बन्यो, पुस्तकालय पनि बदलियो। त्योसँगै ऊ पनि बदलिन थाल्यो।

“पुरानो पुस्तकालय हुँदा म किताबको पछाडि रक्सीका क्वार्टरहरू लुकाएर राख्थें तर अब के गर्ने होला शिवप्रकाशजी?” एक दिन आदर्शवादीले लाज मान्दै सोधेको थियो।

“त्यसबेला तिमी बासित खूब डराउँथ्यौ। रक्सी खाएको थाहा पाए बाले घरमै बस्न दिंदैनथे। त्यसैले बालाई झुक्याउन तिमी त्यस्तो गर्थ्यौ, तर अब पीर नलेऊ। मैले पत्करसरी पैसा कमाउन थालेपछि बाको मान्यता भत्कियो। अब उनी रक्सी खानुलाई सभ्य समाजको आदर्श आचरण मान्न थालेका छन्।” जवाफमा मैले भनेको थिएँ। त्यसपछि ऊ खुशीले चम्किलो भएको थियो।

त्यसपछि ऊ किताबमा डुब्न थाल्यो।

“के पढ्दैछौ आदर्शवादी शिवप्रकाश अचेल?” एक बिहान मैले सोधेको थिएँ।

“असल पागल बन्न सक्दाको पाँच फाइदा।”

“हाम्रो संसारमा त्यस्तो पनि किताब छ र? मलाई त असल कम्युनिष्ट कसरी बन्ने भन्ने लि साउ चिको किताबबारे मात्र थाहा छ।”

“लि साउ चिले आत्मालोचना गरेपछि लेखेको नयाँ किताब हो यो।”

“उनी त मारिएर गाडिएको होइन र? उनको आत्म―आलोचना?”

“उसले चिहानबाटै आत्मालोचना गर्‍यो। ऊ आत्मालोचनालाई असल पागल बन्नको लागि एक महत्वपूर्ण टिप्स मान्छ।”

अर्को एक महीनापछि फेरि मैले सोधेको थिएँ, “अब नयाँ के पढ्दै छौ मिस्टर आदर्शवादी?”

“कलिला विद्यार्थीलाई कसरी चाँडै भ्रष्ट बनाउने?”

“त्यस्तो पनि किताब हुन्छ र?”

“किन र? यो त सामान्य कुरा हो। हाम्रो पाठ्यक्रम विकास केन्द्रले उत्पादन गरेका सबै किताबमा यस्तै अन्तरवस्तुहरू छन्।”

फेरि अन्तिम दिन, मेरो साठीऔं जन्मोत्सवको बिहान मैले सोधें, “यसपालि चाहिं सकारात्मक सन्देश भएको कुनै किताब पढ्दै छौ कि?”

“त्यस्तो एउटा पनि किताब तिम्रो पुस्तकालयमा छैन।”

“कुन किताब पढ्दै छौ त?”

“मान्छेको मासु र खसीको मासुका समानता।”

“यो कुनै हास्यव्यङ्ग्यको किताब हो?”

“यो हल्काफुल्का किताब होइन।”

“यसको मुख्य विषयवस्तु के हो?”

“यसको केन्द्रीय विषय हो― मान्छेको मासु र युद्धको अर्थ–राजनीतिक औचित्य।” उसको यो भनाइले म रन्थनिएँ। मलाई बीस वर्षको अवधिमा पहिलो पटक लाग्यो, मैले उसलाई पुस्तकालयमा थुनेर ठूलो गल्ती गरेछु। हो है, कुनै कुनै गल्तीको मूल्य बजारिया गणितले धान्न सक्दैन।

पाँच
शिवप्रकाश मैनालीले मलाई थुनेको बीस वर्षपछि उसको साठीऔं जन्मदिन थियो। बिहानैदेखि उसकी स्वास्नी (बीस वर्षअघि मेरी) को खुट्टा भुइँमा थिएन। उसले मार्कोपोलो होटलको सिद्धार्थ लाउन्ज बूक गरी र लोग्नेका सबै मित्रहरूलाई फोनबाट निम्ता गरी।

साँझ् ६ बजे, उज्यालो अझै धेरै बाँकी थियो। त्यहीबेला शिवप्रकाश मैनाली बन्दी कक्षमा आयो र पढिरहेको पुस्तकबारे सोध्यो। मैले जवाफ दिएँ, “मान्छेको मासु र युद्धको अर्थ–राजनीतिक औचित्य।”

त्यसपछि उसको वृद्ध पूँजीवादी अनुहार बिग्रियो र भन्यो, “तिमीलाई पुस्तकालयमा थुन्नु मेरो ठूलो गल्ती भएछ!”

“किन? मैले तिम्रो के बिगारें र?”

“तिमी जे पढिरहेका छौ त्यो मानव सभ्यता र सुनको बिहानको निम्ति खतरा छ।”

“सुनको दिन एक उदाउँछ रे!”

“ठट्टा नगर! म गम्भीर भएर भन्दैछु।”

“ठट्टा गर्ने हैसियत बाँकी छ र एउटा थुनुवा कैदीसँग?”

“अब यहाँ होइन, कालकोठरीमा थुन्छु।”

“आज तिम्रो जन्म दिन हो। यस उपलक्ष्यमा मलाई ह्विस्की खान तिम्रो पार्टी भेन्यूमा लैजाऊ! त्यसपछि जे गर्छौ गर। म जीवनमा अन्तिम पटक तिम्रा पाहुनाहरू मातेको हेर्दै आफू पनि मात्न चाहन्छु।”

“आज मेरो जन्म दिन हो भन्ने कसरी थाहा पायौ?” एउटा पटमूर्खले झ्ैं उसले सोध्यो।

“आज मेरो पनि त जन्मदिन हो।”

“तिमीलाई पार्टीमा लान कसरी सम्भव हुन्छ र?”

“एकदमै सजिलोसित लान सक्छौ।”

“कसरी?”

“पार्टी नसकियुन्जेल म तिम्रो मनमा बस्छु। पार्टी सकिएपछि तिमी मलाई निकाल र कालकोठरीमा लगेर थुन!”

“ठीक छ हिंड! यो तिम्रो भद्र प्रस्ताव हो।”

भद्र सहमति अनुसार म उसको आत्मामा छिरेर जन्मोत्सवको रात्रिभोजमा सरिक भएँ। साँझ् सात बजे पाहुनाहरूको चरम गणपूरक संख्या पुग्यो र म उनीहरूको बीचमा उभिएर भटाभट ह्विस्की खान थालें। म मनैदेखि जति हौसिएको थिएँ शिवप्रकाश शरीरले त्यत्ति नै उत्साहित भएको थियो। यसै बेला मैले कोतपर्व जस्तै एउटा षड्यन्त्रको व्यूहरचना गरें।

अष्टादश पुराणेषुः व्यासस्य वचनद्वयम्।

परोपकार पुण्यायः पापाय परपीडनम्।।

अर्थात् ह्विस्कीको पहिलो पेग― शिवप्रकाशको सुस्वास्थ्यको लागि।

दोस्रो, तेस्रो र चौथो पेग― मेरो ब्रह्मानन्दको लागि।

पाँचौं, छैटौं, सातौं र आठौं पेग― महाकवि व्यासरचित आसन्न दुर्घटनाको लागि।

र, नवौं पेग शिवप्रकाश मैनालीको प्राणान्तको लागि।

साठी वर्षको उमेरमा नौवटा लार्ज पेग निल्नु भनेको ठूलो दुस्साहस थियो तर म योजनाबद्ध रणनीतिअनुसार 'टुलामोर ड्यु' घुट्क्याइरहेको थिएँ। म खाँदै थिएँ, शिवप्रकाश मात्दै गएको थियो। संसारभरिका जँड्याहाहरूको एउटा सार्वभौमिक विशेषता हुन्छ, मातको एउटा सीमापछि होश हराउनु। शिवप्रकाश अब त्यही हालतमा पुग्यो। ऊ अश्लील शब्दहरू बोल्न थाल्यो जसले मातेकाहरू आनन्दित र नमातेकाहरू लाज मान्न थाले। ऊ भद्र महिलाहरूबीच गयो र पालैपालो उनीहरूलाई सुमसुम्याउन थाल्यो। उसले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सम्पादक सबैका पत्नीहरूलाई प्रेमले सुमसुम्यायो। कोही आनन्दित भए कोही लज्जाले परपर भाग्न थाले।

यो रमितामा सबै राजकीय पाहुनाहरू रमाइरहेका थिए। अपवाद उसकी स्वास्नी भई जो, अपमानबोधको शिखरमा पुगेर अत्तालिंदै थिई। उसको छटपटीमा मेरो सुख बढिरहेको थियो। म शिवप्रकाशसित पोइल गएकी मेरी भूतपूर्व स्वास्नीलाई बीस वर्षअघिजस्तै घनघोर दुःखमा देख्न चाहन्थें। अहिले यहाँ मेरो त्यो मुराद पूरा भएको थियो।

रात छिप्पिएपछि पाहुनाहरू एकएक―दुईदुई गर्दै बिदा भए। अन्त्यमा तीन जना मात्र बाँकी रह्यौं― म, शिवप्रकाश र मेरी भूतपूर्व स्वास्नी। मेरो व्यूहरचना गणितका नियमझैं अकाट्य साबित भइरहेको थियो।

“प्रिय! अब हामी पनि घर जाऊँ!”

मेरो आवाज शिवप्रकाशको मुखबाट निस्क्यो।

“हुन्छ स्वामी।”

उसले शिवप्रकाशको हल्लिएको थलथले शरीरलाई अँगालोमा बाँधी। ऊ आफ्ना परमप्रिय स्वामीलाई लिएर लिफ्टअगाडि उभिई। लिफ्ट चलेको थिएन, त्यसैले निकै सकसमा बल्लबल्ल भर्‍याङनेर पुर्‍याई।

मेरो पूर्वयोजना मुताविक उसलाई भर्‍याङबाट लडाउनु थियो र त्यो सहजै सम्पन्न भयो। ऊ चिप्लियो र चौध सिंढी भएको भर्‍याङको फेदमा बजारियो। आहा! लडेको दश सेकेन्ड पनि नबित्दै मेरो शत्रु शिवप्रकाश परमधाम भयो।

यसरी मैले बीस वर्षदेखि कल्पँदै आएको मुक्तियज्ञ सम्पन्न भयो। अब त्यहाँ एउटा मात्र शिवप्रकाश मैनालीको अस्तित्व थियो।

दशैं साहित्य विशेष:

चिडियाखानाको सिंह: सीमा आभास

एक रात: विप्लव प्रतिक

भाषा: सरिता तिवारी

प्रतिकृया दिनुहोस