रिपोर्टबिहिवार, आश्विन १२, २०७४

बदलिएका घर

सविता श्रेष्ठ

आधुनिक प्रविधि र सामग्रीको प्रयोगले निर्माण सहज भए पनि अहिलेका अधिकांश घरमा मौलिक स्वाद र सौन्दर्य भेटिंदैन।

परम्परागत शैली आधुनिक संरचनाः काठमाडौंको विशालनगरस्थित निजी घर।

८० वर्षअघिसम्म उपत्यकामा घर भनेकै ढुङ्गा, ईंटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो। तर, अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, ईंटा, ब्लक, ढुङ्गा, टीन (जस्तापाता), स्टील, आल्मुनियम, सिसा, प्लाष्टिकजस्ता सामान विना घर निर्माण असम्भव जस्तै भएको छ। 

संस्कृतिविद् सत्यमोहन जोशी १९९० सालको भूकम्पपछि मात्रै नेपालमा आधुनिक शैलीका घर निर्माण हुन थालेको बताउँछन्। ९० सालको महाभूकम्पले भत्किएका घरहरूको पुनःनिर्माणका लागि तत्कालीन सरकारले बेल्जियमबाट जस्तापाता झ्िकाएर सर्वसाधारणलाई वितरण गरेको देखेका जोशी भूकम्पपछि नै उपत्यकामा पहिलो पटक सिमेन्ट भित्रिएको बताउँछन्। “पहिलोपटक सिमेन्टले बनाएको सरस्वती सदन देखेपछि त्यसैलाई हेरेर इन्द्रचोकमा एक सर्वसाधारणले कंक्रिटको घर बनाए”, उनी भन्छन्। जोशी उपत्यकाको मौलिक घर निर्माण शैली संसारकै उत्कृष्टमध्येमा पर्ने बताउँछन्। (हे.बक्स)

नब्बे सालको महाभूकम्पपछि शुरू भएको कंक्रिट घर निर्माणले आठ दशकको यात्रा तय गरिसकेको छ। यसबीचमा शहरी क्षेत्रका अधिकांश घर, भवन र भौतिक संरचनामा सिमेन्ट प्रयोग गरिएको छ। सिमेन्टका घरलाई सम्पन्नतासँग जोडेर हेर्ने मनोविज्ञानका कारण नेपाली मौलिक घरले अस्तित्व गुमाउन थालेको छ।

आर्किटेक्ट अरुणदेव पन्त पुस्ता दरपुस्ता ज्ञान र सीपको हस्तान्तरण हुँदै उपलब्ध सामग्री र कलाको संयोजनकै कारण पुराना घरहरू मौलिक र विशिष्ट देखिने बताउँछन्। “पुस्तैनी परीक्षण हुँदै आएका यस्ता घरहरू भूगोल सुहाउँदो फरक ढाँचा र निर्माण सामग्रीबाट तयार पारिन्थ्यो”, उनी भन्छन्।

पहिले अग्लो ठाउँमा घर र समथर ठाउँमा खेतीपाती गर्ने चलन थियो। अहिले जुनसुकै स्थानमा घर बनाउन थालिएको छ। संस्कृति र मौलिक परम्परागत सौन्दर्य छाडेर जथाभावी घर बनाउने प्रवृत्ति झाङ्गिएको छ।

आरपी फाउण्डेशनले काभ्रेको साँगामा निर्माण गरेको घर।

धेरै एउटै ढर्राका
घर निर्माणमा पश्चिमा प्रभावकै परिणाम हो, पिलर र सिमेन्टको प्रयोग। त्यसैले पनि अहिले सबैतिर एकै प्रकारका घर बन्न थालेका छन्। आर्किटेक्ट पन्त विदेशी इन्जिनियरहरूले घर बनाउन थालेपछि पिलर सिस्टम भित्रिनुका साथै मौलिकता हराउँदै गएको बताउँछन्। भारतबाट आएका कतिपय ठेकेदारले घरको डिजाइन र निर्माण पनि आफैंले गरेकाले यस्तो अवस्था आएको पन्तको ठहर छ। त्यसपछि नै हो, डब्बा आकारका घर ठडिन थालेका। घरको अगाडिको भाग भने 'नमस्ते' आकारका पनि बनेका छन्। 

बाटोको सुविधा पुगेका अधिकांश ठाउँमा आधुनिक निर्माण सामग्री पुगेकाले गाउँगाउँमा कंक्रिटका घर देखिन थालेका छन्। आर्किटेक्ट विभूतिमान सिंह पहिले जहाँ जे उपलब्ध हुन्थ्यो, त्यसैबाट घर बनाइने गरिएको तर अहिले छनोटको सुविधा बढेको बताउँछन्। पहिले गारोलाई प्राथमिकता दिएर मोटो बनाइन्थ्यो। त्यसले जाडोमा न्यानो र गर्मीमा चिसो बनाउँथ्यो। आज फ्यान, एसी, हीटरबाटै घरलाई तातो–चिसो बनाउन सकिन्छ। पुराना घरमा सबैतिर सकेसम्म बढी काठ प्रयोग हुन्थ्यो, अहिले मुश्किलले झयाल र ढोकामा काठ सीमित छ।

आर्किटेक्ट सिंह अहिलेका घर हेर्दा नेपालीपन नपाइने बताउँछन्। “आफ्नै मौलिक डिजाइनको घर कहाँ छ भनेर भौंतारिनु परेको छ, सबैतिर एकैखाले घर बनेका छन्।”

मौलिकताको खोजी
भनिन्छ नै, घर त्यो हो जहाँ मन बस्छ। 'मन बस्ने घर' कस्तो हुनुपर्छ? यसको उत्तर भने व्यक्ति अनुसार फरक पर्न सक्छ। कुनै बेला 'सानो तर चिटिक्क घर' धेरैको रोजाइमा पर्दथे। तर, अचेल ठूलो घरको चाहना गर्नेहरू बढिरहेका छन्। शहरीकरणको चापसँगै भाडा लगाउन पनि ठूला घरहरूको उपयोगिता बढ्दो छ।

घर निर्माणमा हरेक कोठालाई महत्व दिन थालिएको छ। घरको भान्सा र बाथरुमलाई 'आरामदायी' बनाउन खास मिहिनेत गर्न थालिएको छ। घरसँगै बगैंचा अपरिहार्य बनेको छ।

अघिल्लो शताब्दीमा काठमाडौं उपत्यकामा बनाइएका घरको मौलिकता अन्यत्र कतै नपाइएको सम्पदाविद् रवीन्द्र पुरी बताउँछन्। आधुनिक घर बनाउने नाममा संसारका विभिन्न शैलीलाई पछ्याएको भए पनि अहिले राम्रा र मज्जाको घर नबनेको उनको भनाइ छ। नयाँ घर निर्माण गर्दा आधुनिकतासँगै मौलिक शैली र परम्परा पछ्याउन सुझाव दिंदै पुरी भन्छन्, “परम्परागत शैलीका घर बनाउन सिमेन्टको घरभन्दा केही समय त लाग्छ, तर यस्तो घर वातावरण अनुकूल मात्र होइन प्राचीनता झ्ल्काउने खालका हुन्छन्।”

प्राचीन शैलीका घर बनाउँदा पनि कोठा, भान्सा, बाथरुम आदिलाई आधुनिक सुविधामा ढाल्न सकिन्छ। घर डिजाइनकै चरणमा विचार पुर्‍याउने हो भने धेरै चीज गर्न सकिने आर्किटेक्ट सिंहको भनाइ छ। सस्तो, बलियो, राम्रो घर सबैले चाहे पनि मौलिकताको विकल्प नभएको उनी बताउँछन्।

बलियो जग, स्ट्रक्चर, मिलेको इन्टेरियर डिजाइनिङ, उपयुक्त रङ्गरोगन, फर्निचर व्यवस्थापन, आधुनिक सुविधा, बाहिरी र भित्री भागमा मौलिकपन थपिए घर आकर्षक बन्छ। त्यसका लागि घर निर्माणमा नेपाली आर्किटेक्चर ख्याल गरिनुपर्छ।

समुदाय परिपक्व भए पनि बल्ल मौलिकताको खोजी हुने तर घर निर्माणमा अझै यस्तो स्थिति आइनसकेको आर्किटेक्ट पन्त बताउँछन्। “बल्ल घर निर्माणमा आर्किटेक्टलाई संलग्न गराउन थालिएको छ, त्यसैले उपत्यकामा भने थोरै भए पनि नेवारी शैलीका परम्परागत स्वरुपमा आधुनिक घर बनेका छन्।” तर, उपत्यकाको यो प्रयासको अनुसरण अन्यत्र भएको देखिन्न।

सत्यमोहन जोशी ।

उसबेलाका घर
पहिले उपत्यकाको बस्ती योजनाबद्ध लाग्थ्यो। शहरको संरक्षण र सुरक्षाका दृष्टिकोणले निश्चित क्षेत्र छुट्टिने गरी बस्ती बसाइएको थियो। हेर्दा नै सुरक्षित देखिन्थ्यो। मन्दिरको गजुरभन्दा अग्लो घर बनाउनुहुँदैन भन्ने भनाइ थियो। त्यही अनुसार घरहरू बढीमा पाँच तलासम्म मात्र थिए। प्रत्येक टोलमा मन्दिर थिए। धार्मिक सहिष्णुता र एकता थियो। 

पहाडतिरका घरमा पेटी, पाली हुन्थ्यो। भुइँतलामा भान्छा बनाउने प्रचलन थियो। काठका खम्बा र बिम बनाएको घर ढुङ्गा, माटोबाट जोडिन्थ्यो।

उपत्यकामा भने अधिकांश घर संयुक्त परिवार बस्ने गरी बनाइएको हुन्थ्यो। घरको प्रमुख प्रवेशद्वारलाई छिंडी भनिन्थ्यो। छिंडीमा माटोका भाँडाकुँडा राख्ने गरिन्थ्यो। त्यसभन्दा माथिल्लो तलालाई बैठक तथा भेटघाट गर्ने ठाउँ, दोस्रो तला माटनमा बसोबासका लागि कोठाहरू बनाइन्थ्यो।

तेस्रो तला बुईगलमा तीनमुखे, पाँचमुखे खुला झ्याल बनाइएको हुन्थ्यो। माटनमा आँखीझ्यालहरू बनाइन्थ्यो। घरको सुरक्षाका लागि तल्ला तलाहरूमा आँखीझ्याल राखिएको हुन्थ्यो, जसबाट बाहिर देखिन्थ्यो तर बाहिरबाट भित्र देखिंदैनथ्यो। माथिल्लो तलाहरूमा भने खुला झ्याल हुन्थ्यो।

बुईगलमा भोज खान मिल्ने खुला ठाउँ बनाइन्थ्यो। बुईगल माथिको तलामा खुला भान्सा र कौसी हुन्थ्यो। भान्छाबाट धुवाँ सीधै बाहिर निस्किन्थ्यो। सबै घरमा भोज खान मिल्ने ठाउँ राखिएको हुन्थ्यो। पेशा अनुसार घरको बनावट तथा अग्लाइमा पनि केही फरक हुन्थ्यो।

टल्कने तेलिया ईंटले बनाएको घर देखियो भने बुझो हुन्थ्यो, त्यो हुनेखानेको घर हो। पाको ईंट लगाएकाहरू मध्यम आर्थिक हैसियतका मानिन्थे भने बाहिर पाको र भित्र काँचो ईंट लगाउनेहरू निम्नमध्यम। काँचो ईंटको मात्र पनि घर बनाउनेलाई गरीब भने हुन्थ्यो। घरको जग पाको ईंट र ढुङ्गा राखेर बनाइएको हुन्थ्यो। ठूला ठूला ढुङ्गा लगाइन्थ्यो। माटोबाहेक सुर्की (ईंटको धूलो) र चुन मिसाएर पनि ईंटा जोडिन्थ्यो। किलाकाँटा नभएकोले अग्राखको काठको चुकुल बनाएर एकले अर्को काठलाई जोड्ने गरिन्थ्यो। यस्ता घरहरूले संस्कृति र परम्पराको छुट्टै परिचय बोकेका हुन्थे। त्यसैले पनि काठमाडौं उपत्यकालाई सम्पदाको शहर भनिएको हो।

नपढेका पहिलेका मानिस आफ्नो अक्कलले घर बनाउँथे। सबै काम आफैंले गर्दा समय भने धेरै लाग्थ्यो। दशैं आउँदा घरको मर्मतसम्भार, रङरोगन, लिपपोत गर्ने गरिन्थ्यो। अहिले धेरै अग्ला–अग्ला सिमेन्टका घर बन्न थालेका छन्। प्रविधिले छिटो र सजिलो घर बनाउन सकिने भएको छ। तर, आधुनिक घर बनाउँदा मौलिकतालाई कसरी मिसाउने भनी सोच्न ढिलो हुँदैछ।

प्रतिकृया दिनुहोस