यू–१८ साफ उपाधि दौड रोमाञ्चक बन्दै, नेपालद्धारा बंगलादेश पराजित
भुटानमा जारी यू–१८ साफ च्याम्पियनसीपमा नेपालले बंगलादेशलाई पराजित गरेर महत्वपूर्ण ३ अंक हासिल गरेको छ । उपाधि दौडमा कायम रहन नेपाललाई यो जित आवश्यक थियो ।
थिम्पुमा ९ असोजमा बंगलादेशविरुद्ध नेपालले २–१ गोलको जित निकालेको हो । नेपालका लागि अभिषेक रिजाल र रोमन लिम्बुले गोल गरे । ५३ औं मिनेटपछि १० खेलाडीमा सीमित बंगलादेशका लागि मोहन अलअमिनले सान्त्वना गोल गरेका थिए ।
तीन खेलबाट ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । गोल अन्तरको आधारमा समान ६ अंक रहेको भारत पहिलो र बंगलादेश दोस्रो स्थानमा छ ।
अंक तालिकामा चौथो स्थानमा रहेको भुटानको पनि ६ अंक नै छ । उपाधि दौडबाट बाहिरिएको माल्दिभ्सले चार खेलबाट एक अंक पनि जोड्न सकेन ।
११ असोजमा नेपाल र भारत तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।