कला/साहित्यसोमवार, आश्विन ९, २०७४

चिडियाखानाको सिंह

हिमालखबर

अँध्यारो गुफामा बसे पनि
चिडियाखानामा थुनिए पनि
सिंह त सिंह नै हुन्छ ।

गर्भबाट पनि सिंह नै जन्माउँछ ।

युगयुगदेखि भोको पारिए पनि खाँदैन घाँस
हजार पहरेदारले घेरिए पनि गर्दैन आत्मसमर्पण
कदापि भुल्दैन आफ्नो धर्म ।


सिंहले
आँसु खसायो भने पनि तेजिलो ज्वाला बन्छ
हाइ काढ्दा पनि तीखा दाह्राभित्र अहम् देखिन्छ
उसको शरीरभरिको खुनमा दम्भ फैलन्छ
छातीसम्म पुगेर फर्कने श्वासमा गर्जन सुनिन्छ
उसले छोडेका प्रत्येक पाइलामा दृढताको छाप भेटिन्छ ।

भलै उसले शिकार नगरेको होस्
कदापि हारेको हुँदैन ।

डमरुलाई दूध चुसाउँदा चुसाउँदै
सिकाउँछ सिंहवात्सल्य
पञ्जाको अलौकिक कौशल देखाउँदै
सिकाउँछ जीवन जिउने कला ।

यो समयसम्म
अँध्यारो मस्तिष्कलाई चिथोर्दै
पर्खिरहेको छ उज्यालो ।

उसलाई विश्वास छ
एकसमय आफ्नो गर्जनले
भत्किनेछ चिडियाखाना
र, विस्तारै बाहिर निस्कनेछन् सिंहका बथान ।

यतिबेला देखिरहेछु
प्रत्येक मनभित्र थुनिएको यौटा आक्रोशित सिंह
यावत् घरका पर्खालभित्र बेचैन सिंहका बथान ।

प्रतिकृया दिनुहोस