टिप्पणीसोमवार, आश्विन ९, २०७४

मासुमा नलोभिंदा राम्रो

डा. सुमनराज ताम्राकार

फूलपातीदेखि पूर्णिमासम्म छाकैपिच्छे मासु खानुपर्छ भन्ने मान्यता स्वास्थ्यको लागि प्रतिकूल छ ।

सानो छँदा हाम्रा लागि दशैं भनेकै नयाँ लुगा र मासु हुन्थ्यो । फूलपातीदेखि पूर्णिमासम्म छाकैपिच्छे धेरैथरीको मासु खाइन्थ्यो । अझै पनि अन्य बेला आफ्नो स्वास्थ्यलाई विचार गरेर मासु नखाने वा खान नसक्नेले दशैंमा आफ्नो आर्थिक क्षमताले भ्याएसम्म मासु खाने चलन छ । तर, अब चाहिं मासु खाँदा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्ने समय आएको छ । बजारै बदमास भएकोले आर्थिक क्षमता र स्वास्थ्य ठीक रहेकाले समेत मासुको शुद्धताबारे खोजीनिती गरेर मात्र मासु किन्नुपर्ने अवस्था छ ।

सामान्यतः मासु भुटेर, उसिनेर, तारेर, झेल हालेर वा काँचो परिकार बनाएर खाइन्छ । मासुको परिकार बनाउनेमा नेवारहरू नामी छन् । नेवार समाजमा भनाइ नै छ– राँगाको छाला बाहिर र आन्द्राभित्रको चिज मात्र काम लाग्दैन । नेपालमा फल मासु मात्र नभई मुटु, कलेजो, मिर्गौला, फोक्सो, आन्द्राभुँडी र रक्तीका पनि भुटुवा परिकार बनाएर खाइन्छ । अझ् नेवारहरू त सपूम्हिचा, खागो, कचिला, छोयल्ला, तिस्यः, न्हेपू, जँला, भुटन बनाएर खानमा माहिर छन् ।

कुनै पनि जनावरको फल मासु प्रोटिनको राम्रो स्रोत हो । मुटु, कलेजो, मिर्गौला, फोक्सो जस्ता भित्री अंगका परिकारमा कोलेस्टेरोलको साथै भिटामिन ए, डी, ई, तामा, आइरन, जिंक जस्ता खनिजतत्व प्रशस्त पाइन्छ । कलेजो आइरनको राम्रो स्रोत भए पनि रासायनिक पदार्थका कसर रहने कारण नखानु नै बेस हुन्छ । हिजोआज रातो मासुयुक्त ससेज र बेकन खाने चलन आएको छ । यसमा राखिने प्रिजर्भेटिभका कारण अधिक उपभोगले क्यान्सरको सम्भावना बढाउँछ ।

धेरै बोसो (ट्राइग्लाइसेराइड र कोलेस्टेरोल) भएको मासुले पनि स्वास्थ्य समस्या ल्याउन सक्छ । रातो मासुको दाँजोमा सेतो मासु (कुखुरा र हाँसको) मा चिल्लो पदार्थ कम हुने भएकोले स्वास्थ्यवद्र्धक छ । कुखुरा र हाँसको मासु पनि विना छाला खाँदा पेटमा कम संतृप्त फ्याटी एसिड पुग्छ ।

मासु पौष्टिक र स्वास्थ्यवद्र्धक हुँदाहुँदै पनि अतिले खति पुर्‍याउँछ । दशैंमा त्यस्तो अति र खतिको सम्भावना स्वतः बढ्छ । दशैंलगत्तै उच्च रक्तचाप, कोलेस्टेरोल, युरिक एसिड, मुटुको समस्या बढेका मानिसहरू जताततै भेटिन्छन् । यी समस्या भएका मानिसले दशैंमा मासुको साटो अरू नै चिजबिच खानु बेस । खानै परे बोसो निकालेर उसिनेर वा बफाएर खानुपर्छ, त्यो धेरै होइन, ठिक्क मात्र ।

खसीबोका, राँगा, भेडाच्याङ्ग्राको मासु (रेडमिट) मा प्रोटिनका साथै खराब प्रकारको चिल्लो (संतृप्त फ्याटी एसिड) पनि बढी हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढ्ता खराब गर्छ । फ्याटी एसिड शरीरभित्र रहेको कोलेस्टेरोलसँग मिलेपछि लो डेन्सिटी लिपोप्रोटिन (एलडिएल) भनिने हानिकारक चिल्लो बन्छ । मधुमेह, मोटोपना, उच्च रक्तचाप भएकाहरूलाई एलडिएलले थला नै पार्न सक्छ ।

ससेजमा चिल्लोको मात्रा ८० प्रतिशत र संतृप्त फ्याटी एसिड ३३ प्रतिशत हुन्छ । खसीको मासुमा चिल्लो र संतृप्त फ्याटी एसिडको मात्रा ५८ र २३ प्रतिशत, भेडाको मासुमा ४८ र २२ प्रतिशत, कलेजोमा २७ र ११ प्रतिशत तथा बँदेलको मासुमा २६ र ९ प्रतिशत हुन्छ । नेपालमा बट्टाई, टर्की र अष्ट्रिचको पनि मासु खाइन्छ । पक्षीको मासु (ह्वाइटमिट) मा रेडमिटको तुलनामा कम चिल्लो हुन्छ ।

पक्षीको मासुको पनि छालामा भने चिल्लो ४३ प्रतिशत र संतृप्त फ्याटी एसिड १२ प्रतिशतभन्दा बढी हुन्छ । मासुलाई छालाविहीन बनाउँदा संतृप्त फ्याटी एसिडको मात्रा कम हुन्छ । पक्षीको मासुबाट बनाइएका ससेज भने रातो मासुको ससेज जस्तै हो । पक्षीको ससेजमा चिल्लोको मात्रा ५० प्रतिशत र संतृप्त फ्याटी एसिड १५ प्रतिशत हुन्छ ।

राँगा, खसी, हाँस, कुखुरा, बट्टाईलगायतका मासुको दाँजोमा माछा गुनिलो छ । माछाको परिकारमा चिल्लो र संतृप्त फ्याटी एसिड त कम हुन्छ नै, विभिन्न खालको भिटामिन र लवण पदार्थ पनि पाइन्छ । माछामा पाइने ओमेगा ३ ले मानव शरीरमा हाइडेन्सिटी लिपोप्रोटिन (एचडीएल) बढाउन मद्दत गर्छ । त्यसकारण, माछालाई मासुभन्दा राम्रो मानिन्छ । तर, माछा पनि कहाँबाट, कसरी ल्याएर केमा स्टोर गरिएको छ, कति पुरानो हो भन्नेमा निकै चनाखो हुनुपर्छ । आजकल बट्टाबन्द माछा (क्यान फिस) खाने चलन पनि बढेको छ, तर त्यो त्यति स्वास्थ्यवद्र्धक हुँदैन ।

प्रतिकृया दिनुहोस