ललितपुर महानगर र साझा यातायातबीच सहकार्य
ललितपुर महानगरपालिका र साझा यातायातबीच सहकार्य भएको छ ।
ललितपुर महानगरपालिकाले सार्वजनिक यातायातको सेवालाई थप व्यवस्थित र विस्तार गर्नको लागि साझा यातायातसँग एक करोडको शेयर खरिद गर्दै सहकार्यको शुरुआत गरेको हो ।
आज एक समारोहकाबीच साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबीच रु. एक करोडको चेक तथा शेयर प्रमाणपत्र आदान–प्रदान भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले साझा यातायातसँगको सहकार्य शुरुआत मात्र भएको र आगामी दिनमा सार्वजनिक यातायातको सेवा विस्तारको लागि शेयर क्रमिक रुपमा खरिद गर्दै जाने बताएका छन् ।
त्यस्तै साझा यातायातले ९ असोजदेखि ललितपुरको बुङ्गमतिदेखि जावलाखेल, रत्नपार्क, नारायणगोपाल चोक हुँदै बुढानिलकण्ठ सम्मको रुटमा सेवा शुरु गर्ने भएको छ ।
साझाले स्थानीय सरकारसँगको सहकार्यमा विगत दुई वर्षदेखि काठमाडौं उपत्यका भित्र ठुला बसहरु मार्फत सेवा दिइरहेको छ ।