रिपोर्टशनिवार, आश्विन ७, २०७४

स्वस्थ रहन फुर्सदको उपयोग

बच्चु विक

फुर्सदको सदुपयोग:  मुस्ताङ घुम्दै आान्तरिक पर्यटक

एकोहोरो कामकाजी जीवनलाई पुनर्ताजगी दिन, सिर्जनशील बनाउन र शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहिरहन फुर्सद नीतिको खाँचो महसूस हुन थालेको छ।

गाउँघरमा गोठालो जाँदा पनि 'केही काम छैन, गोईगोरु चराइरा'छु' भनिरहेको सुनिन्छ। शहरतिर 'सानो कामको विषयमा कुरा गर्नुछ, फुर्सदमा भेटौं न' भन्नु सामान्य मानिन्छ। दशैं–तिहार जस्ता पर्वलाई फुर्सदको अवसर मानेर रमाइलो गर्ने जमात झनै ठूलो छ। 

तर, वर्ल्ड लिजर अर्गनाइजेसन (डब्लूएलओ) ले गरेको फुर्सद (लिजर) को परिभाषाले भने यी कुनै पनि समयलाई फुर्सद मान्दैन। डब्लूएलओका अनुसार; व्यापार, व्यवसाय, काम, कामको खोजी, घरायसी कामकाज, अध्ययन–अध्यापनलगायत दैनिक अत्यावश्यक क्रियाकलाप जस्तै खानु, सुत्नु, सरसफाइ गर्नु बाहेकको समय फुर्सद हो।

'नेपालमा फुर्सद' विषयमा अध्ययन गरेका युनिभर्सिटी अफ द वेष्ट अफ स्कटलैण्ड, संयुक्त अधिराज्यको पर्यटन तथा बजार व्यवस्थापनका प्राध्यापक डा. कल्याण भण्डारी नेपालमा फुर्सदबारेको बुझाइ नै गलत रहेको बताउँछन्।

“दैनिकी वा व्यस्तताबाट बचेको वा खाली रहेको समय नै फुर्सद हो। तर, पनि नेपालमा यसको उपयोग स्वतन्त्र ढंगबाट हुनसकेको छैन”, फुर्सदबारे विकसित देशहरूको परिभाषालाई नेपाली व्यवहारसँग दाँज्दै उनी भन्छन्, “यसरी हेर्दा त नेपालीको फुर्सद नै छैन।”

बेफुर्सदी नेपाली
नेपाली बृहत् शब्दकोशले फुर्सदलाई 'काम नभएको समय, खाली समय, अवकाश' भनेर अर्थ्याएको छ। प्रा.डा. भण्डारी फुर्सदका लागि 'फ्रि टाइम' र 'फ्रि विल' हुनुपर्ने बताउँछन्। “फुर्सदको अर्थ आधारभूत आवश्यकता पूरा गर्न नगरी नहुने कामपछि बचेको समय हो” प्रा.डा. भण्डारी भन्छन्।

उनको भनाइ, बिदा वा बचेको समयमा पनि कामकै बारे विचारविमर्श गरिन्छ वा सोचिन्छ भने त्यो फुर्सद होइन।

उदाहरणका लागि, कार्यालयका लागि घरबाट निस्केको वा फर्किंदा लाग्ने समय पनि फुर्सदमा पर्दैन। घर पुगेपछिको सरसफाइ, बालबालिका वा वृद्धवृद्धाको हेरचाह, खाना पकाउने, खाने र सुत्ने समयलाई पनि फुर्सदले समेट्दैन।

बिहानको दैनिक क्रियाकलाप, खानपिन र कार्यालयको तयारीमा लाग्ने समय पनि फुर्सद होइन। गृहिणीले घरको सरसफाइ, खाना पकाउने, खुवाउने, बालबालिका, वृद्धवृद्धा, बस्तुभाउको रेखदेखलगायतका थुप्रै काम गर्छन्।

प्रत्यक्ष रोजगारीबाहेकको त्यो कामलाई हामीकहाँ फुर्सदसँग जोडेर हेर्ने चलन छ तर ती कुनै पनि फुर्सदमा पर्दैनन्।

मानवशास्त्री सुरेश ढकाल नेपालमा फुर्सदका विषयमा अलमल रहेको बताउँछन्। फुर्सदलाई समाजको मनोविज्ञानसँग जोडेर हेर्नुपर्ने बताउँदै उनी भन्छन्, “हाम्रो सन्दर्भमा 'रिल्याक्स' शब्द बढी उपयुक्त हुने देखिन्छ, तर यसलाई परिभाषित गर्न बाँकी नै छ।”

नीति र संस्कृति
'वर्काहोलिक' देशका रूपमा चिनिने जापानका बासिन्दा फुर्सद विरलै निकाल्छन्। जापानी भाषामा 'खावसी' भन्ने शब्द नै छ, जसको अर्थ 'मर्ने गरीको काम' भन्ने लाग्छ।

त्यसैले पनि सरकारले सन् १९८६ देखि 'गुणस्तरीय जीवन' नाराका साथ नागरिकलाई आर्थिक गतिविधि नहुने क्रियाकलापमा पनि जोड्न प्रेरित गरिरहेको छ।

सन् १९९४ मा फुर्सदसम्बन्धी नीति नै ल्याएको जापानले कामदारलाई सातामा दुई दिन विदा अनिवार्य गरेको छ। तर पनि जापानीहरूमा फुर्सद निकाल्ने बानी नसुधि्रएको अमेरिकास्थित नेब्रास्का लिङ्कन विश्वविद्यालयका प्राध्यापक स्कट फस बताउँछन्।

जापानमा फुर्सदबारे अध्ययन गरेका उनी जापानी पुरुषले सातामा एक घण्टा, युवतीले ४० मिनेट मात्रै फुर्सद लिने गरेको आँकडा प्रस्तुत गर्छन्।

यूरोपियन तथा अमेरिकी मुलुकहरूमा भने फुर्सदलाई महत्वका साथ हेरिन्छ। अमेरिकी ब्यूरो अफ लेबर स्टाटिस्टिक्स्का अनुसार अमेरिकीले दैनिक २ घण्टा ५२ मिनेट ४८ सेकेण्ड फुर्सदका क्रियाकलापमा बिताउँछन्।

बेलायतीहरू फुर्सदलाई संस्कार ठान्छन्। उनीहरू दैनिक ३ घण्टा ५ मिनेट फुर्सदमा विताउने गरेको यूरोपेली युनियनको तथ्यांक विभागले गरेको सर्वेक्षणले देखाएको छ।

यो समयमा उनीहरू टिभी हेर्ने, किताब पढ्ने, इन्टरनेट, परिवार तथा साथीभाइसँग रमाइलो गर्ने, चलचित्र हेर्ने, गीत सुन्ने, सामाजिक कार्यमा सहभागी हुनेलगायतका गतिविधि पर्छन्।

बेलायतमा नियमित सार्वजनिक तथा व्यक्तिगत विदाबाहेक पनि कर्मचारीलाई परिवारसहित घुमफिरमा निस्कन वर्षमा दुई सातासम्म फुर्सद दिइने गरेको लेक्चरर डा. भण्डारी बताउँछन्। यसरी फुर्सदमा निस्किंदाको खर्च कार्यरत संस्थाले नै व्यहोर्ने गर्छ।

यूरोप, अमेरिकाकै सिको गर्दै जापान, चीन, थाइल्याण्डलगायतका देशमा फुर्सदले महत्व पाउन थालेको देखिन्छ। तर, दक्षिण एशियाका देशहरूमा भने यो विषय बहसमा आउनै सकेको छैन।

ठ्याक्कै परिभाषित नगरिएको भए पनि नेपाली सन्दर्भमा फुर्सदसँग सम्बन्धित क्रियाकलाप वर्षौंदेखि हुँदै आएका छन्। यस्ता क्रियाकलाप केही सामाजिक त केही धर्म, संस्कृतिसँग जोडिएका छन्।

संस्कृतिविद् डा. गोविन्द टण्डन चाडपर्वलाई पनि त्यसैसँग जोडेर हेर्न सकिने बताउँछन्। टण्डन भन्छन्, “पूजाआजा, आशिष लिने/दिने पाटो अलग गर्ने हो भने दशैं–तिहारमा हुने पारिवारिक जमघट, रमाइलोलाई पनि फुर्सदसँग जोड्न सकिन्छ।”

तर, दशैं–तिहारजस्ता पर्वमा पुरुष फुर्सदिला जस्ता देखिए पनि महिलाका लागि भने बोझ् बन्ने गरेको छ। मानवशास्त्री ढकाल चाडपर्वहरू फुर्सदसँग जोड्न सकिने भए पनि गाउँघरका महिलालाई थप बोझिलो बनेको बताउँछन्।

“चाडपर्वको बेला महिलाहरूको समय पकाउनु, खुवाउनु र भाँडा माझनेजस्ता काममै सकिन्छ” ढकाल भन्छन्, “चाडपर्वलाई फुर्सदिलो बनाउन घरायसी काममा सबैको हातेमालो आवश्यक छ।”

गाउँघरमा साँझ्पख आँगन वा चौतारीमा गफगाफ गरिएजस्तै शहरमा क्याफे र रेस्टुरेन्टमा चिया र कफीको चुस्कीसँग समय बिताउने चलन छ। परिवारका सदस्यसहित समय मिलाएर घरबाहिर खाना खाने प्रवृत्ति पनि बढ्दो छ।

चलचित्र, नाटक, खेलकुद प्रतियोगिता हेर्न जानेसँगै बिहान–साँझ सामान्य हिंडडुल, व्यायाम, हाइकिङमा निस्किनेहरू पनि बढेका छन्। पछिल्लो समय फूटसलमा पनि रुचि झाङ्गिदो छ।

जति फुर्सद उति स्वस्थ
मस्तिष्कको प्रयोगसँग जोडेर प्रायः भन्ने गरिन्छ, 'यूज इट अर लूज इट'। यसको तात्पर्य मस्तिष्कको प्रयोग जति बढी गर्न सक्यो त्यति नै क्षमता बढ्छ, जति कम भयो मस्तिष्कको क्षमतामा त्यति नै ह्रास आउँछ भन्ने हो।

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय यो भनाइलाई फुर्सदसँग जोड्छन्। “मस्तिष्कलाई स्वस्थ राख्न पनि फुर्सदको सदुपयोग गर्नुपर्छ”, उनी भन्छन्।

मानसिक स्वास्थ्य एवं परामर्श केन्द्र नेपालका अध्यक्ष रहेका डा. उपाध्यायका अनुसार, मस्तिष्कको क्षमता वृद्धिसँग स्वस्थकर खानपान, व्यायाम, समस्यासँग जुध्ने अभ्यास, सिर्जनशील काम र माया–प्रेमको सोझो सम्बन्ध रहन्छ। “यी पाँचमा पनि माया–प्रेमको आदानप्रदान महत्वका साथ लिइन्छ।

यसका लागि फुर्सद निकाल्नुपर्छ”, उनी भन्छन्। पछिल्लो समय मानसिक समस्या बढ्नुमा फुर्सद सदुपयोग नगर्नु पनि एउटा कारण भएको उनी बताउँछन्।

लामो समयदेखि बेलायतमै बस्दै आएका प्रा. डा. भण्डारी पश्चिमा देशहरूमा फुर्सदलाई निकै महत्वका साथ हेरिने गरिएको बताउँछन्। पारिश्रमिकको गणना घण्टाको हिसाबले हुने हुँदा समयलाई धेरै अनुगमन गरिएको बताउँदै युनिभर्सिटी अफ द वेष्ट अफ स्कटलैण्ड, संयुक्त अधिराज्यको पर्यटन तथा बजार व्यवस्थापनका प्रा.डा. भण्डारी भन्छन्, “फुर्सदको समय पाउनुलाई कामदारले नैसर्गिक अधिकारका रूपमा हेर्न थालेका छन्।”

नेपालमा भने राज्यका सार्वजनिक नीतिहरूमा फुर्सद दिइने परिकल्पनासम्म भेटिंदैनन्। नियमित गरिराख्ने कामकाजबाट उत्पन्न हुने नैराश्यता, अल्छीपनबाट मुक्त गराउँदै ताजापन तथा सिर्जनशील बन्न फुर्सदको समयलाई सामाजिक क्रियाकलापमा खर्चिन सकिन्छ। “आधुनिक समाजमा गुणस्तरीय जीवनयापनसँग पनि जोडिएको छ, फुर्सद” उनी भन्छन्।
--------------------------------------------------------------------------------------------------------------

राज्यको भूमिका चाहिन्छ
डा. कल्याण भण्डारी, प्राध्यापक, पर्यटन तथा बजार व्यवस्थापन युनिभर्सिटी अफ द वेष्ट अफ स्कटलैण्ड, युके

फुर्सदप्रति आम नेपालीको धारणा कस्तो देखिन्छ?
पूर्व–औद्योगिक समाजमा फुर्सदको अवधारणा तरल, अस्पष्ट र लचिलो हुन्छ। फुर्सदलाई स्वस्फूर्त रुपमा लिने गरिन्छ। जहाँ पुरुष/महिला अथवा निजी/पारिवारिक फुर्सदबीचको फरक खासै हुँदैन। नेपालमा पनि त्यस्तै छ।

अझै पनि अधिकांश मानिसको जीविकोपार्जन कृषिमा आधारित भएकोले कामको समय र गैरकामको समयबीचको फरक छैन, जसले गर्दा मानिस तुलनात्मक रुपमा सधैं काममा वा सधैं फुर्सदमा भएको देखिन्छ।

पछिल्लो समय शहरतिर भने फुर्सदको उपयोग हुनथालेको छ। तर, फुर्सदको अवधारणा विकसित हुनसकेकै छैन। फुर्सदसम्बन्धी प्रावधानहरू सरकारी दस्तावेजमा छरिएर रहेका छन्।

सार्वजनिक विदा, चाडपर्वको समयले फुर्सदलाई कत्तिको समेट्छ?
समेट्छ। तर जसको जीविकोपार्जन नै विदा, चाडपर्वको वेला विशिष्ट सेवा दिनेमा आधारित हुन्छ, उनीहरूलाई भने नसमेट्न सक्दछ।

फुर्सद मनाउन नेपालीले के गर्नुपर्छ?
फुर्सदको प्रयोग समयानुकूल रुपमा परिवर्तन हुँदै जाने हो। हिजोभन्दा आज यसको उपयोग बद्दै गएको छ, व्यापारीकरण पनि भइरहेको छ। जस्तै; काठमाडौं तथा अन्य ठूला शहरमा खुलेका मल, सिनेमा, व्यायामशाला तथा मनोरञ्जनका स्थल आदि।

नवउदारवादी अर्थतन्त्रले बजारलाई नै आफ्नो दिशा तय गर्न दिनु सामान्य भए पनि राज्यले अन्य उद्योग झैं यसको अनुगमनको जिम्मा लिनुपर्छ। राज्यले जनतालाई स्वतन्त्रतापूर्वक उनीहरूको फुर्सद उपयोग गर्ने वातावरणको ग्यारेन्टी पनि गर्नुपर्छ।

प्रतिकृया दिनुहोस