पोखरीयाको मेयरमा दिपनारायण, उपमेयरमा सल्मा
पर्साको पोखरीया नगरपालिकाको मेयरमा नेपाली जनता दलबाट उम्मेदवार २८ वर्षीय दीपनारायण रौनियर र उपमेयरमा संघीय समाजवादी फोरमबाट उम्मेदवार ३० वर्षीया सल्मा खातुन निर्वाचित भएका छन् ।
रौनियारले ३,०२६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका उम्मेदवार एवम् पूर्वसभासद प्रद्युम्न चौहानले २,७६७ मत प्राप्त गरे ।
दुई जना पूर्व सभासदलाई पछाडि पार्दै २८ वर्षिय युवक मेयरमा निर्वाचित भएका हुन् । पोखरीयामा पूर्व सभासदद्वय प्रधुम्न चौहान फोरम नेपालबाट र रामेश्वर रौनियार कांग्रेसबाट मेयरमा उठेका थिए ।
गत जेठमा मात्रै मधेश आन्दोलनको माग पूरा गर्न एमाले बाधक देखिएको भन्दै चौहान पार्टी परित्याग गरेर फोरममा प्रवेश गरेका थिए ।
उपमेयरमा सल्मा
पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेकी सल्मा खातुन संघीय
समाजवादी फोरमबाट पोखरियाको उपमेयरमा निर्वाचित भएकी छन् ।
सल्माले २,७०४ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी पार्टी (रिजवान अन्सारी नेतृत्वको)पार्टीकी विणा देवीले २,४९५ मत प्राप्त गरिन् ।
बंगलादेशको ढाका युनिभर्सिटीबाट पत्रकारितामा स्नातकोत्तर सल्मा टेलिभिजन र पत्रिकाको अनुभव बटुलिसकेपछि पछिल्लो समय वीरगञ्जस्थित नारायणी एफएममा कार्यक्रम चलाउँथिन् । चुनावी अभियान शुरु भएपछि उनले एफएमबाट राजीनामा गरेकी थिइन् ।
-सुरेश बिडारी, पर्सा