अन्नपूर्णको फेदीमा पर्यटन महोत्सव हुने
अन्नपूर्ण प्रथमको फेदी (४१३० मीटर)मा ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४’ हुने भएको छ ।
तीन चरणमा हुने महोत्सवको उद्घाटन २५ असोजमा अन्नपूर्ण आधार शिविरमा हुनेछ । महोत्सवको दोस्रो चरणको कार्यक्रम १० देखि १५ पुससम्म र तेस्रो चरणको कार्यक्रम १८ देखि २० जेठ २०७५ मा हुनेछ ।
अन्नपूर्ण क्षेत्रको समस्या उजागर गर्ने र सम्भावनाको पहिचान गर्न महोत्सवको आयोजना गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मुल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।
महोत्सवका अवसरमा अन्नपूर्ण हिमाल पहिलो पटक आरोहण गर्ने फ्रान्सेली आरोही मोरिस हर्जोगको अर्धकदको शालिकको अनावरण गर्ने, उनका परिवार र हर्जोगका लियाजोन अफिसर घनविक्रम राणा, सरदार आङ थार्के शेर्पाका परिवार र पर्यटनविद् झलक थापालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै सांस्कृतिक प्रदर्शनी, जडिबुटी प्रदर्शनी, अन्नपूर्ण आधार शिविर र एक्याप क्षेत्रको संक्षिप्त इतिहास झल्कने कार्यक्रम समेत तय गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक क्षेत्रबहादुर गुरुङले जानकारी दिए ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मुल समारोह समितिको आयोजना एवं कास्कीको अन्नपूर्ण गाउँपालिकाको सहयोगमा हुने महोत्सव सञ्चालन गर्न एक करोड ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
जसमा १० लाख अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको छ भने बाँकी पर्यटनसँग सम्बन्धित संघसंस्था र व्यवसायीबाट उठाइने भएको छ ।
हर्जोगले ३ जुन १९५० मा पहिलो पटक ८ हजार मीटरभन्दा अग्लो अन्नपूर्णको आरोहण गरेका थिए । आरोहणका हिसाबले कठिन भएकाले अन्नपूर्णलाई आरोहीहरु ‘किलर माउण्टेन’ समेत भन्ने गर्छन् ।
अन्नपूर्ण आधार शिविरको पदयात्रा भने पहिलो पटक सन् १९६६ मा एरिक सिप्टनले गरेका थिए ।
अहिले पनि अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको पहिलो रोजाई अन्नपूर्ण आधार शिविर हुने गरेको छ । एक साता लामो दूरी रहेको आधार शिविरमा गत वर्ष मात्र २८ हजार ५३१ जना विदेशी पर्यटकले पदयात्रा गरेका थिए ।
युवराज श्रेष्ठ, पोखरा