मदन पुरस्कार समर्पण समारोहमा सुदर्शनराज तिवारीले दिएको विद्वदप्रवचन
मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार समर्पण समारोहमा सुदर्शनराज तिवारीले दिएको विद्वदप्रवचन
'नेपाल उपत्यकाका ऐतिहासिक शहरी सभ्यताको पुनर्निर्माण: भव्य विगतको एउटा सार्थक भविष्य बनाउने उद्देश्यका साथ'
शहर इतिहास र ऐतिहासिक शहरीयताको अध्ययनबाट नगरहरूले सांस्कृतिक र प्राविधिक वस्तुको रूपमा भन्दा सांस्कृतिक शिल्पकारिताबाट आफ्ना विशेषता अभिव्यक्त गर्दछन् भन्ने कुरा टड्कारोसँग देखिन्छ। शहरका सडक, गल्ली, दोबाटो, चौबाटो वा चोकमै शहर प्रकट हुन्छ र शहरीवाद अस्तित्वमा रहेको हुन्छ।
सडक र सडक चोकमै मात्र हामीले कुनै शहरी सभ्यताको कथा खोज्नुपर्छ। जुन शहरी सभ्यतालाई शब्दकोषहरू “सापेक्षित रूपमा उच्चस्तरको साँस्कृतिक र प्राविधिक विकासद्वारा प्राप्त गरिने शहरी सुविधाको एउटा अवस्था” भनी परिभाषित गर्छन्। त्यो सुविधा भन्नु नै सडक चोकमा उपलब्ध सामाजिकता हो।
त्यसैले काठमाडौंमा, यसको शहरीपना र सुविधाहरूमा, आज पनि हामीले एउटा ‘किराँत’, द्योछें चोक र पीठका खुला इलाकाहरूमा रमाएको वा हाँडीगाउँ डबली र नारायण चौर जस्ता ठाउँमा एउटा ‘लिच्छवी’ प्रफुल्लित भइरहेको वा दरबार स्क्वायेर र जावलाखेलमा एउटा ‘मल्ल’ आनन्दित भएको पाउँछौं।
हामीहरू यस कुरामा मंत्रमुग्ध हुन सक्छौं कि यी तीनवटै ऐतिहासिक समाजहरू सँगसँगै अस्तित्वमा रहेका छन्- शिल्पाकृति, कथाहरूको घना उपस्थिति रहेका बाटा र चोकहरूमा अनि पत्र-पत्रका रूपमा समुदायहरू, स्थान र मौसमहरूमा व्यवस्थित तिनका पुनरावृत्तिहरूमा। मानौं सँगै बाँच्न र रमाउनका निम्ति, कुनै पनि ऐतिहासिक क्षणलाई फ्याँक्न नचाहेर तिनले यी सब जोगाएर राखेका हुन्।
नेवार, काठमाडौं उपत्यकाका मूल निवासी। यो त्यो समुदाय हो जो परम्परागत रूपमै शहरीया रहँदै आएको छ। नेवार शहरीवादले वृहत् अर्थमा देवीदेवताका वासस्थान, द्योछें र पीठ, मन्दिर र रूख, कुवा र कुलो इत्यादि रहेको शहरी परिदृश्य र स्थान, जहाँ निर्दिष्ट मार्गहरूले देवता, जिउँदा अनि मृतलाई जोड्दछन्।
त्यहाँ हुने मिथक, किम्वदन्ति, कथा, सामाजिक स्मृति र संस्कारको पुनरावृत्तिको परिणाम नै नेवार शहरीवाद हो। यसमा समकालीन जीवन उदेश्यमूलक ढङ्गले नै पुस्तैनी प्राप्त भएका देवीदेवता र पुर्खाका जीवनसँग बुनिएको देखिन्छ।
यहाँ स्व-परिचालित कार्यसूची भएका, स्थानसँग बाँधिएका समुदाय र सामाजिक संस्थाहरू पुनरावृत्तिको व्यवस्थापन गर्दथे र यिनीहरू ‘विरासतमा पाएको जीवन’ बाट वर्तमानको जीवन बनाउनमा रमाउँथे। यसको परिणामस्वरूप भएका मानवीकरण र मानवीयताको उच्च श्रेणीले नै यसका अमूर्त विषयवस्तुलाई त्यस्तै विश्वस्तरीय बनाउँदछ जसरी यसका मूर्त पक्षका शहर र वास्तुकला विश्व-सम्पदाका रूपमा चुनिएका छन्।
उपत्यकाको शहरी इतिहासबाट यो प्रष्ट हुन्छ कि, यो सभ्यता मूलत: नेवार सामुदायिक चेतना, ठोक्किन आइपुगेका विभिन्न धार्मिक विश्वास र धर्महरूसँगको सम्मिलनको चेतना र पुराना तथा परम्परागत अभ्यासलाई ‘नयाँ’ सँगै अगाडि बढाउने अभिप्रायप्रति धेरै हदसम्म ऋणी छ।
कसरी हाम्रा शहरहरूले प्रत्येक कालखण्डका त्यति धेरै सम्पदा लक्षणहरू सङ्ग्रह गर्न सके?
सार्वजनिक स्थान र यसमा हुने सामाजिक सक्रियता काठमाडौं उपत्यकाको प्राचीन शहरी परम्परा मध्येको एक हो। यो किराँतकाल (ईशाको पहिलो शताब्दी) देखि चलिआएको हो। किराँत पृङ्ग्गहरू, बाँझो अग्ला स्थानमा, साना तर घना रूपमा निर्माण भएका हुन्थे।
यस्ता पृङ्ग्गको विशेषता भनेको यो जात्रा चलाउने त्यस्तो महत्त्वपूर्ण मार्ग हो जसले नगरभित्र रहेको बस्तीको इष्टदेवताको मन्दिर (देवकुल वा द्योछें) लाई नगर बाहिरको बस्ती, प्राकृतिक परिदृश्य र परिस्थितीय हिसाबले संवेदनशील स्थानमा रहेको मन्दिर (पीठग्वर: वा पीठ) सँग जोड्दथ्यो।
वार्षिक रूपमा सबै नगरवासीहरू नगरका इष्टदेवताको द्योछेंदेखि पीठसम्मको वैदिक यात्रा मनाउन भेला हुन्थे। जसका कारण अंतत: द्योछें अगाडिको चोक एउटा मूल सार्वजनिक स्थलका रूपमा विकसित भयो भने मूल बाटो धार्मिक लक्षणहरू, धारा, कुवा र पाटीहरूद्वारा आवाद गरिएका विश्राम विन्दु र चौबाटाहरूसँग पनि छ्यासमिस भएर मिसियो। नगरमा जल आपूर्तिका निम्ति उनीहरूले पोखरीहरूको प्रयोग गरे, जुन आजसम्म पनि नेवार नगरको विशेषताका रूपमा रहेको छ।
जब लिच्छवीहरू पहिलो शताब्दीमा काठमाडौं उपत्यकामा आइपुगे उनीहरू किराँतहरूको परिस्थितीय बुद्धिमत्ता र कृषि चेतना सहितको वस्तीबाट प्रभावित भए होलान्। किराँतकालिन शहरी सभ्यता अष्टादशप्रकृति वा अठार कर्मी जातका समुदायहरू र कृषि तथा वनमा आधारित अर्थ व्यवस्थामा टेकेर विकसित भयो। जहाँ कपास खेती, कताइ, बुनाइ तथा कपडा बनाउने, छाला प्रशोधन तथा तेल उत्पादन र माटोको भाँडा बनाउने उद्योगहरू सञ्चालनमा थिए।
यो कृषिमूलक शहरीकरण थियो जहाँ मानिसहरू घरभित्र भन्दा बढी खुला सार्वजनिक स्थानहरूमा भेला हुन्थे र वृहद् सामाजिकीकरणमा रमाउँथे। घर बाहिरको जीवनपद्धतीले बलियो सामुदायिक भावनाको विकास गरेको थियो।
मूर्त पुरातत्त्वले यो पुष्टि गर्दछ कि लिच्छवीहरूले अण्डिपृङ्ग्ग जस्ता विशिष्ट बस्तीलाई आफ्नो राजधानी विशालनगर निर्माण गर्नका लागि छनौट गर्दै गर्दा यहाँ पाको इँटको संस्कृति फस्टाइसकेको थियो। यस्ता बस्तीहरू ईशापूर्वको दोस्रो र तेस्रो शताब्दीमै बसिसकेका थिए।
त्यसबेलादेखि कृषिमा आधारित यो शहरी प्रणाली फस्टायो। लिच्छवीहरूको धार्मिक-लौकिक शहरी स्थानको धारणाले पनि यहाँका नगरहरूमा गल्ली, चोक र उत्सवीय चरित्र थप्दै गयो। प्राथमिक कृषिमा आधारित अर्थतन्त्रलाई टेको दिँदै। शहरी सामाजिक अभ्यास र समुदायको विन्यासलाई सुदृढ तुल्याउँदै।
लिच्छिवीकालमा अलौकिकवाद, विभिन्न धर्महरू र शास्त्रीय अध्ययन मात्र भित्रिएन वरू यो समय प्राविधिक खोजी र प्रयोगका निम्ति पनि उल्लेख्य रह्यो।
धान खेती, सिँचाई कुलो, गा: हितिमा आधारित पानी आपूर्ति र वितरण प्रणाली, खानीबाट तामा खनन तथा प्रशोधन, धातुकला र निर्माण सीप यसका केही उदाहरण हुन्।
नदी र नदी किनारमा आधारित आफ्नो पृष्ठभूमिका वावजुद काठमाडौं उपत्यकामा भने लिच्छवीहरूले बाँझो अग्ला भूमिमा नै नगरहरू निर्माण गर्दै रहे।
ज्यामितीय हिसाबले रेखाङ्कित बाटाहरू र तिनमा निमियत रूपमा बीच बीचमा भेटिने दोबाटो र चौबाटाहरूलाई नारायण, शिवलिङ्ग, चैत्य अनि गा: हितिहरूले आवाद गर्दै नगरहरूको विस्तार गरे। साना पृङ्ग्गहरू मिसाएर विशालनगर र दक्षिणकोलीग्राम जस्ता नगरको निर्माण भयो।
यो त्यो समय थियो जतिखेर पशुपति, स्वयम्भू, चाँगुनारायण र बौद्ध जस्ता धार्मिक स्थलहरू तीर्थयात्राका लागि लोकप्रिय हुँदै थिए। कृषि, सिचाई र पानीको व्यवस्थापन, शिल्प र उद्योगहरू, अन्तर्राष्ट्रिय व्यापारका सामाजिक-सांस्कृतिक प्रतिविम्बहरू शहरका बाटो र चोकहरूमा थप घनीभूत भयो।
संस्कार, धार्मिक विश्वास र धर्महरुद्वारा मध्यस्थता गरिएको यो शहरी सभ्यता विकसित र विस्तारित हुने क्रम जारी रह्यो। जब मल्लकाल आफ्नो उत्कर्षमा थियो, त्यसबेला भव्य स्मारक, चोक, बाटो, जात्रा-पर्व र धार्मिक विश्वासमा आधारित जीवन पद्धतीको पनि उच्चतम विन्दु बन्यो। उपत्यकाका तीन दरवार स्क्वाएरहरू र त्यस सँगैका जात्राका मूल बाटाहरूको निर्माण यसैको उदाहरण हो।
यस समयमा विकास भएका अन्य बजार तथा छिमेकमा बनेका स्क्वाएरहरू पनि कम चित्ताकर्षक थिएनन्। जबकि नगरको ढाँचाका निम्ति लिच्छवीकालमा चलेको नियमित ज्यामितिय खाका मल्लकालमा अवलम्वन गरिएन।
उनीहरूले किराँतकालको अनौपचारिक बान्कीको अनुसरण गरे तर नगरलाई एउटा लौकिक स्थानको रूपमा निरन्तरता भने दिँदै रहे। फलस्वरूप मल्लकालमा भएका विकाससँगै नगरका सबै तीन कामहरू- राजधानी, आर्थिक व्यवस्था र धार्मिक स्थान एक अर्कामा विलय भएर काठमाडौं उपत्यकाको शहरी जीवनलाई धेरै उन्नत बनायो।
कसरी हामीले यी सबै कुराहरूलाई अहिलेसम्म बचाएका छौं
किराँतकालदेखि मल्लकालसम्म शहरी सभ्यता अगाडि बढ्यो, उस्तै खालका विशेषताहरू थप्दै। जङ्बहादुर राणाको युगमा आइपुग्दा हामी दरबारका रूपमा फ्रान्सेली र बेलाइती नवशास्त्रीय ढङ्गका ठूला भव्य संरचनाहरू पाउँछौं जसले उपत्यकामा नयाँपन प्रक्षेपण गर्यो।
हुन त नवशास्त्रीय भनिने यो शैलीको वास्तुकला र यसको योजनाका लागि जङ्बहादुरको युरोप भ्रमणलाई मुख्य श्रेय दिइन्छ तर १८३३ को भूकम्पले क्षति पुर्याएपछि आवश्यक परेको पुन: निर्माणका विषयमा सोच्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
मानौं प्राचीन कृषि तथा परिस्थितीय आवश्यकतालाई ध्यानमा राख्दै जङ्गबहादुर आफैले पनि थापाथली नजिकको बाँझो क्षेत्रमा थापाथली दरबार बनाए। नयाँ निर्माणको यो प्रवृत्तिले केही दशकमै भद्रकाली, टुँडीखेल र रानीपोखरी वरपर महत्वपूर्ण नागरिक तथा सैनिक समारोह स्थल र स्थानहरूको सृजना गरायो।
यस समयसम्म पनि परम्परागत शहरको संरक्षण गर्ने र नयाँपन भने यसको परिधिमा वा बाहिर मात्रै गर्ने भन्ने प्रचलन र नियम देखिन्छ। वास्तवमा परम्परागत शहरको खाका, यसभित्रका स्मारक तथा लक्षणहरू, बाटा र चौबाटा आफ्नै सामाजिक समय, संस्कृति र कृषिको अनुसरण गर्दै बाँच्दै थिए।
सन् १९३४ को महाभूकम्पले काठमाडौं उपत्यकाका शहरहरूमा ठूलो क्षति पुर्यायो र यसले ठूलो परिमाणको पुनर्निर्माण निम्त्यायो। शहरी सम्पदासहित अगाडि बढ्ने प्रकृयाको अंगको रूपमा चौडा सडक, आधुनिक भवनहरूले पंक्तिबद्ध नयाँ सडक, भूगोल पार्क र जुद्ध सडक निर्माण गरेर जुद्धशमशेरले नयाँपनद्वारा हस्तक्षेप गरे।
बाटाको समरेखीकरणको छनौट त्यहाँ भएका वन, ढल र पोखरी क्षेत्रहरूमा वढी पर्ने गरी गरिएको देखिन्छ। भविष्यगामी र उक्त समयको नयाँ सौन्दर्यचेत पछ्याएको गद्दीबैठक सम्मको यस सवारीमार्गले थोरै मात्रै प्राचीन बाटो मास्यो तर सांस्कृतिक लक्षणहरूलाई भने छोएन।
यसको उल्टो आज हामीले गोरखा-भूकम्प पश्चात्को पुनर्निर्माण र प्रस्तावित बाटो तथा सडक विस्तार जसरी गरिराखेका छौं त्यसले हाम्रा बाटा र चौबाटामा रहेका स्मारकहरूको भूकम्पले भन्दा धेरै विनाश गर्ने निश्चित छ।
यस प्रसङ्गमा जुद्ध शमशेर र उनका इन्जिनियर तथा निर्माणकर्ताहरूले अपनाएका विधि र दर्शाएको संवेदनशीलताको हामीले तारीफ गर्नुपर्दछ। हामीसँग के थियो र हामी कहाँ थियौं? भन्ने कुराको हेक्का राख्दै अनावश्यक रूपमा विनाशकारी र लापरवाह नभएको उक्त तरिका मलाई शैली र गुणमा प्रगतिशील लाग्दछ।
यसरी दुई हजार वर्षदेखि नेपाल उपत्यकाका शहरी बस्तीहरू निरन्तर रूपमा हुर्कँदै ठूलो शहरी सम्पदा बन्दै आएका हुन्। यो भारी मनसुन वर्षा, थुप्रै भूकम्पहरू, बेलाबखतका आगलागी वा राजनैतिक उथलपुथलले पनि क्षय भएन।
प्रतिसंस्कार वा जीर्णोद्धारमा आधारित पुनर्निर्माण र चक्रीय स्याहार-संभारका माध्यमबाट प्राकृतिक विपद्हरू पटक-पटक सम्बोधन गरिए। स्मारक, बाटा र चौबाटाको सम्पदाको मौलिकता जोगाउँदै।
भारतको गङ्गा मैदानमा अवस्थित प्राचीन शहरहरूको तुलनात्मक अवलोकनले बाह्य कब्जा नभएका कारणले उपत्यकाको सम्पदामा पाइने निरन्तरता र प्रतिरोध क्षमता निर्माण गर्न सघाउ पुर्याएको झल्को दिन्छ।
उदाहरणका लागि वाराणसी शहर, जसको शुरूवात २००० वर्ष भन्दा अगाडि भएको दावी गरिन्छ, आज त्यहाँ ३०० वर्ष भन्दा पुरानो कुनै संरचना छैन (रामचन्द्रन, १९८९)। यसो हुनुलाई पाँचौ शताव्दीमा भएको गुप्ता राज्यको पतन, लगभग एघारौं
शताव्दीमा उत्तर भारतमा भएको मुसलमान आधिपत्य र सन् १८०० देखि १९४७ सम्मको बेलाइती शासनसँग जोडेर व्याख्या गरिन्छ र यी तीन नै वाराणसीको मूर्त सम्पदाको विनाश, अशुद्धी र क्षयका लागि कारकतत्व मानिन्छन्।
बेलाइती शासनसँगै भारतका शहरहरू “पाश्चात्यकरणका केन्द्र” पनि बन्दै गएका हुन्। धार्मिक विश्वास, धर्म, जीवनशैली, ज्ञान प्रणालीहरूका योजना र व्यवस्थापनमा आधारित परम्परागत शहरी सम्पदाको नोक्सानमा।
खतरा के हो त?
माथि उल्लिखित महत्वपूर्ण ऐतिहासिक घटनाहरूबाट नेपाल उपत्यका भौतिक रूपमा जोगिए पनि जङ्गबहादुरको उदय पश्चात्का विकासक्रममा भारतमा रहेको बेलाइती उपस्थितिले उब्जाएका सांस्कृतिक परिवर्तनका बहाव नेपालमा प्रवेश गरेको देख्तछौं।
तर, काठमाडौंलाई ‘पाश्चात्यकरणको केन्द्र’ बनाउने काम जङ्गबहादुर वा जुद्ध शमशेरले गरेका होइनन्। पाश्चात्यकरण थोकमा भित्र्याउने काम त धेरै हदसम्म सन् १९५० को परिवर्तनले गरेको हो।
हाम्रा केही उत्कृष्ट शहरी सम्पदा स्थलहरू सन् १९७९ देखि युनेस्को विश्व सम्पदामा ‘काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र’ को रूपमा सूचीकृत छन्।
यी सम्पदा क्षेत्रमा भइरहेका परिवर्तन र यी माथिका खतराहरूलाई लिएर यति गम्भीर आँकलन गरियो कि सन् २००३ मा यसले युनेस्कोलाई मौलिकता र पूर्णताको ह्रास गुमेको सम्पदाका द्योतकका रूपमा ‘काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र’लाई खतरामा परेका सम्पदाहरूको सूचीमा राख्न उद्यत गरायो।
काठमाडौंको सम्पदाको मौलिकता र पूर्णताको ह्रास र मुल्य गुम्नुको कारण भने भूकम्प नभइकन अनियन्त्रित शहरी विकास, विकासका दवाबहरू झेल्ने कुरामा असफलता र परम्परागत स्थानीय आवासीय वास्तुको विनाश हो।
हाम्रा शहरी सम्पदा लोपोन्मुख हुनुका कारक तत्त्वहरू जस्तै:- अव्यवस्थित बसाईँसराई, शहरी विकास र अविवेकी प्रतिस्थापन, वास्तु सम्पदाको नोक्सान, परम्परागत संस्थाहरू र तिनले सञ्चालन गर्दै आएका गतिविधिहरूमा आएको क्षय आदिले आज दश वर्ष अघिको भन्दा विकराल तस्बीर हाम्रो सामु देखा पर्छ। तिनले हाम्रो यस उत्कृष्ट शहरी सम्पदालाई भविष्यमा ऐतिहासिक अमूर्ततामा परिणत गरिदिने खतरा रहेको छ।
सम्भावित यस समस्याले हाम्रो शहरी सम्पदालाई ठूलो विनाश गरेको सन् २०१५ को गोरखा भूकम्पले भन्दा बढी निमिट्यान्न पार्ने खतरा रहेको छ।
विशेषगरी (१) भूमण्डलीकरण जसले अगाडि बढ्ने मौलिक तरीकाहरूको अवमूल्यन गर्दछ (२) सम्पदा क्षेत्रका भित्री चोक अनि बाटाहरूसम्म गाडी पुर्याउन सडक चौडा पारिनु (३) विदेशी हात, सामग्री र प्रविधिको प्रयोग गरेरै भएपनि सम्पदा पुनर्निर्माण गर्ने गलत धारणा र (४) ऐतिहासिक शहरी सामाजिक कलाकृतिको सामान्यीकरण र वस्तुकरण हुनु यसका कारण हुन्।
हाम्रा कदम यसकारण खेदपूर्ण छन् कि सन् २०१५ मा पनि हामी सन् १८३३ वा सन् १९३४ का भूकम्प पछिका पुनरूद्धार र पुनर्निर्माणका नतिजा र अनुभवबाट केही सिक्न अनिच्छुक छौं।
यसलाई भविष्यमा कसरी लाने?
शहरी विकासका विश्वव्यापी रूझानहरू दोस्रो तथा तेस्रो तहको अर्थतन्त्रको विकासका उद्देश्यहरूद्वारा निर्देशित हुन्छन्। यिनले कृषिलाई गैर-शहरी गतिविधि भनेर निषेध मात्रै गरेका हुँदैनन् बरू कृषियोग्य जमिनमाथि नै भौतिक पुर्वाधार निर्माण गरेर शहरको विस्तार गर्छन्।
जुन नेपाल उपत्यकाको कृषिमा आधारित शहरीवाद र शहरी सम्पदाको संरक्षण तथा समृद्धिको विरूद्धमा नै हुन्छ। अझै खराब पक्ष त के छ भने, बस्ती योजना र पुनर्विकासका लागि भूकम्प पश्चात् ल्याइएका पुनर्निर्माणका निर्देशिकाहरूले उत्तर-औद्योगिक, पाङ्ग्रे सवारी साधनले मध्यस्थता गर्ने, व्यावसायिक शहरको नमूनालाई आधार मानेर शहरी विकासको लक्ष्य राख्दछन्।
संरचना पुनर्निर्माणको सन्दर्भमा, अझ बढी भूकम्प प्रतिरोधात्मक र माटो तथा काठ जस्ता परम्परागत सामग्रीको साटो सिमेन्ट र स्टील जस्ता बलिया सामग्रीको प्रयोगसँगै, ‘अझ राम्रो पुनर्निर्माण’ को नारा आफैंमा मृत्युदण्डको पूर्जी हुनसक्छ।
त्यसैले, सम्पदाका मूल्यहरूलाई जोगाउने र तिनको सचेतनापूर्वक विस्तार गर्ने हो भने सम्पूर्ण सम्पदा पुनर्निर्माणको प्रस्थान विन्दु “जस्तो छ, उस्तै (पुनर्)निर्माण” नै हुनुपर्दछ।
म यो बुझ्न सक्दिन कि, किन कुनै सद्दे नीति निर्माता, भूकम्प पश्चात् भित्री सम्पदा क्षेत्र र बस्तीहरूको पुनर्निर्माणको क्रममा, सडक चौडा पारेर यसबाट विकासे लाभ लिने सोच्दछ? जबकि, जोगाउनु पर्ने शहर र शहरीवाद सम्पदाका लक्षणहरू यिनै स्मारक र सडक अनि चौबाटाहरूले बोकेका हुन्छन्, जसका ढाँचामा सामाजिक-सांस्कृतिक गतिविधि ढालिएका हुन्छन् र यस्ता गतिविधिहरू लामबद्ध र नियमित रूपमा हुन्छन् वा आयोजित गरिन्छन्।
योजना निर्देशिका बाटा र चौबाटाका खुला स्थानका खाका जोगाउन, अनि सम्पदाका सबै लक्षणहरू जस्तै सांस्कृतिक शिला, खाल्डा, कुना-काप्चा, मन्दिर, पाटी, सत्तल र आवासीय भवनहरूको मूल पदचिन्ह मै उत्कृष्ट सम्पदा स्तर सहितको पुनर्निर्माणका लागि अभिप्रेरित हुनुपर्थ्यो।
यस्ता योजना तथा विनियमन कम्तीमा पनि सबै सार्वजनिक चोक, चौबाटा र विशेष सडक, जात्रापर्वमा प्रयोग हुने निर्दिष्ट सडक वा सांस्कृतिक मार्गहरूमा लागू हुनुपर्दछ।
यो प्रष्टै छ कि, सार्वजनिक खुला स्थानहरूको उपयुक्त संरक्षण र पुनर्निर्माणका निम्ति यी सडक क्षेत्रहरूले आफ्ना मूल चौडाइ र खाका कायम राखून्, यी पैदलयात्रीकै लागि रहिरहून् र यान्त्रिक तथा पाङ्ग्रे सवारी साधनको नियमित पहुँचभन्दा टाढै रहुन्।
स्मारक र अन्य सम्पदाका चिनोहरूको स्तरमा, सम्पदा पुनर्निर्माणको नारा “अझ राम्रो बनाऔं” नभएर पुरातत्त्व विभागको नाराले ठ्याक्कै भने जस्तो, ‘जस्ताको तस्तै, बलियो प्रशस्तै’ हुने गरी पुनर्निर्माण हुनुपर्छ।
यो नारालाई थप प्रस्ट्याउन जति पनि थप क्षमता चाहिन्छ त्यो सकेसम्म परम्परागत सामग्री र विधिबाटै नियोजित र कार्यान्वित हुनुपदर्छ। कुनै परिवर्तन वा सामग्रीहरूको प्रयोग मौलिकता र पूर्णता जोगाउने परम्परागतरूपमा स्वीकार्य ‘चक्रीय नवीकरण’ को सिद्धान्त बमोजिम, नियमित संभारको संभावना सहित र उत्क्रमणीयताको सिद्धान्तको परिधिभित्र रहेर कार्यान्वयन हुनुपर्दछ।
गुण र संरचनात्मक आचारमा माटो, ईँटा र काठमा आधारित सम्पदा व्यवस्थासँग मेल नखाने औद्योगिक सामग्री, निर्माणका सिद्धान्त र प्रविधिको प्रयोग वर्जित हुनुपर्दछ। हामीले सम्पदाको मूल्यको पूर्ण रक्षा गर्नुपर्छ- संरचनात्मक व्यवस्था, सामग्री, तिनको तयारी, प्रविधिको प्रयोग, अनि वातावरणीय र पारिस्थितीय गुण सहित।
मेरो यसमा गहिरो विश्वास छ कि, AVI-नवीकरण भन्ने समुदायमा आधारित प्रवेश (जुन मैले नेपाल इन्जिनियर संघमा प्रस्ताव गरेको थिएँ, माघ २०७२) आवश्यक छ। AVI-नवीकरण अर्थात् प्राविधिक, शिल्प तथा वास्तुको मौलिकता, अनि मूल्य र पूर्णतामा आधारित पुनर्निर्माणले मात्रै हाम्रा मूर्त तथा अमूर्त सम्पदालाई पुनर्निर्माण गर्न सक्नेछ।
हामीले सम्झिनुपर्ने कुरा यो छ कि, राजधानी शहरको शहरीवादको समपूरकका रूपमा वरपरका वस्तीहरू पनि रहेका थिए, जुन तीन मुख्य शहरहरूसँग अर्धव्यास प्रकृतिका बाटाद्वारा जोडिएका थिए।
यी वस्तीहरूले एक प्रकार र स्तरको विशेषज्ञ सेवा र उत्पादन दिएका थिए--जस्तै थिमीका माटाका भाँडा, खोकनाको तेल, चापागाउँका माछा वा मनमैजुका गुह्येश्वरी।
यी वस्तीहरू जोड्ने बाटाहरू पनि मुख्य शहरका बाटा झैं पाटी, धारा र धार्मिक लक्षणहरूको नित्य विश्रामद्वारा आवाद गरिएका हुन्थे। त्यसैले, उपत्यकाका सम्पदाप्रति संवेदनशील शहरी विस्तारको योजनाले परम्परागत मार्गमा रहेका यी परिधिका बस्तीहरू, सम्पदा क्षेत्रहरू वा विन्दुहरूको चरित्रको पनि संरक्षण गर्नुपर्ने हुन्छ।
त्यसैगरी, नदी किनारमा रहेका सांस्कृतिक अभिव्यक्तिहरू वा घाटहरूको संवेदनशीलताको संरक्षण पनि उत्तिकै महत्वपूर्ण कार्य हुनेछ।
यसरी निर्मित शहरी सम्पदाको संरक्षणबारे सोच्तै गर्दा, हामीले यो बिर्सनु हुन्न कि पुरानै अवस्थामा फर्काइएको नदी प्रणाली र विस्तृत शहरी तथा कृषि जल व्यवस्थापन प्रणाली, अनि न्यूनतम रूपमै भएपनि कृषिको लागि भूमिको उपयोग बिना कृषिमा आधारित शहरीवादको संरक्षण दिगो हुने छैन।
अन्तमा,
म एउटा विचार सहित यो संकथन टुङ्ग्याउन चाहन्छु कि, बलियो इच्छाशक्ति र हामीले महत्त्व दिने मूल्यहरूका लागि, हाम्रा लागि, हाम्रो पहिचान र हामीद्वारा चाहना गरिएको भविष्यका लागि गरिने संरक्षणले मात्रै हामीलाई शहरी सम्पदा संरक्षणको वर्तमानका चुनौतीहरू छिचोल्दै अगाडि लैजान सक्नेछ।
हाम्रो सम्पदाको अझ बलियो र इमादन्दारीपूर्वक कदर गर्दै हामीले पुनर्निर्माणमार्फत् एउटा सामूहिक पहिचान बनाउनु आवश्यक छ।
*.*.*