नन्दप्रसाद अधिकारीको मृत्यु भएको तीन वर्ष, पीडितले अझै न्याय पाएनन्
गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अनशनका क्रममा मृत्यु भएको तीन वर्ष पूरा भएको छ ।
छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कानूनको दायरामा ल्याउन माग गर्दै आमरण अनशनमा बसेका अधिकारीको ५ असोज २०७१ मा मृत्यु भएको थियो ।
मृत्यु भएको तीन वर्ष बितिसक्दा पनि नन्दप्रसादको शवको अन्त्येष्टी हुन सकेको छैन ।
धर्म संस्कृति तथा परम्पराअनुसार अन्त्येष्टी हुन पाउने शरीरको अधिकारको हनन् भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ ।
आयोगले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पटक–पटक पत्राचार गर्दा समेत पीडितले न्याय नपाउनु दुःखद् भएको जनाएको छ ।
त्यस्तै धर्म संस्कृतिअनुसार शरीरको अन्त्येष्टी हुन पाउने अधिकारको सम्मान गर्न एवं पीडितलाई न्याय प्रदान गर्न मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
नन्दप्रसादसँगै अनशन शुरु गरेकी उनकी श्रीमती गंगामाया अहिले न्यायको माग गर्दै वीरअस्पतालमा छिन् । लगातारको अनशनले जीर्ण शरीर भएकी गंगामायाले अहिले तरल पदार्थ मात्रै सेवन गर्छिन् ।