रिपोर्टशुक्रवार, आश्विन ६, २०७४

बाल यौन दुराचार: बेपरवाह अभिभावक

सन्त गाहा मगर

किशोरावस्थाका सन्तानप्रति अभिभावकको लापरबाहीकै कारण सात समुद्रपारिबाट नेपाल धाउने यौन दुराचारीको संख्या बढेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ भदौमा पक्राउ गरेको अष्ट्रियाका केण्डलर मर्कस् (४५) माथि बाल यौन दुराचार, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान चलिरहेको छ। उनी १४ देखि १६ वर्षका तीन बालकलाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका हुन्। सीआईबीले ठमेलको एक होटलबाट उनलाई पक्राउ गर्ने क्रममा एक बालकलाई उद्धार समेत गरेको थियो। 

गत १५ असारमा ठमेलबाटै पक्राउ परेका अर्का पर्यटक अल्बर्ट फ्रेड किलिन्के (६३) लाई जिल्ला अदालत काठमाडौंले यौन दुराचारकै मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जर्मन नागरिक किलिन्केमाथि १४ वर्षका बालकमाथि यौन दुराचार गरेको अभियोग छ ।

गत वर्ष ठमेलकै एक होटलबाट पक्राउ परेका केन्नेथ जोसेफ कोम्बस्लाई पनि जिल्ला अदालत काठमाडौंले बाल यौन दुराचार, मानव बेचबिखन तथा ओसारपसार अपराधमा नौ वर्ष कैद सजाय र रु.५० हजार जरिवाना तोकेको थियो। अदालतले अमेरिकी नागरिक केन्नेथले १२ देखि १६ वर्षका १० बालकमाथि यौन दुराचार गरेको ठहरसहित गत १० वैशाखमा यस्तो फैसला सुनाएको थियो।

बुद्ध पुतुवार र केन्नेथ जोसेफ कोम्बस् ।

यौन दुराचारीहरू नेपाली बालबालिकालाई शिकार बनाउन पर्यटक भिसामा भित्रिने गरेको तथ्य विगतमा पनि सार्वजनिक भएका थिए। नेदरल्यान्डस्का माइसेन हेन्ड्रिक वोटोलाई सर्वोच्च अदालतले २०६९ कात्तिकमा यौन दुराचार मुद्दामा दोषी ठहर गरेको थियो। यौन दुराचारका लागि उनले 'बाल सुधार गृह' नै खोलेको फैसलामा उल्लेख छ।

तर पछिल्ला तीनवटा घटना भने विगतका भन्दा केही फरक छन्। तीन वटै घटनामा जान–अन्जानमा अभिभावकले गरेको लापरबाहीबाट अपराधीलाई सजिलो भएको देखिन्छ। अष्ट्रियाका मर्कस्ले अभिभावकलाई प्रलोभनमा पारेर कुकर्म गरेको अनुसन्धानबाट खुलेको छ। उनलाई पक्राउ गरेर पीडितका अभिभावकलाई सम्पर्क गर्दा उनीहरूले प्रहरीलाई नै हप्काएका थिए। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, “मर्कस् सरले नराम्रो काम गर्नै सक्नुहुन्न, उहाँलाई तुरुन्तै छोड्नुहोस् भनेर हप्काए।”

मर्कस् भने अपराध कर्मकै लागि धादिङको गोगनपानीमा समाजसेवीको रूपमा प्रस्तुत भएका थिए। उपहार, आर्थिकलगायतका सहयोग गर्ने भएकाले उनीमाथि कुकर्मको आशंकै भएन। जर्मन नागरिक किलिन्केले पनि पीडित बालकलाई पहिले साइकल किनिदिएका थिए। उनले अभिभावकलाई समेत नगद तथा जिन्सी उपहार दिएर प्रभावमा पार्न खोजेको अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, “पीडितका अभिभावकका निम्ति उनी भगवानसरह बनेका रहेछन्।”

नेपालमा विदेशी जो–कोहीलाई धनी र असल ठानेर सजिलै विश्वास गरिन्छ। यस्तो मानसिकताले अपराध बढाउन त मद्दत गरेको छ नै अनुसन्धान भइसकेको मुद्दालाई समेत टुङ्गोमा पुग्न दिएको छैन। विदेशी यौन दुराचारीहरू अदालतमा पीडित र अभिभावकलाई बयान फेर्न लगाएर पनि उम्कने गरेका छन्। प्रलोभन वा दबाबमा परेका कतिपय पीडित पक्ष नै अपराधीलाई उन्मुक्ति दिन उद्यत हुने गरेको बालबालिका क्षेत्रमा काम गरिरहेकाहरू बताउँछन्। 

यौन दुराचारीहरूले यसै पनि कम चेतनशील, कमजोर आर्थिक अवस्था भएका र बेरोजगारीको समस्या भोगिरहेका परिवारका बालबालिकालाई निशाना बनाउने गरेका छन्। बाल अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था चेन्ज, नेपालका निर्देशक प्रमेश प्रधान गोरा यौन दुराचारीहरूले अभिभावकलाई आर्थिक सहयोग, रोजगारीको आश्वासन, पढाइ खर्च उपलब्ध गराउनेलगायतका प्रलोभन र कतिपय अवस्थामा धम्की समेत दिएर प्रभावित पार्ने गरेको बताउँछन्।

४ पुस २०७१ मा जिल्ला अदालत ललितपुरले क्यानाडाका अर्नेस स्याम्बिक म्याकेन्टस् (६०) लाई सात वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनायो। पछि साविकको पुनरावेदन अदालत, पाटनले रु.३ लाख मात्र क्षतिपूर्ति तिरे पुग्ने फैसला गर्‍यो। यसमा पीडकले पुनरावेदन गरेर पीडितलाई बयान फेर्न लगाएको प्रष्टै छ। चेन्ज नेपालका प्रधान भन्छन्, “पहिला अपराधीको छाला काढ्छु भन्ने अभिभावकले नै पछि बयान फेरेको र पीडितलाई बोल्न नदिएका थुप्रै घटना छन्।”

उद्देश्य नै यौन अपराध
माथिका घटनाहरूमा अर्को समानता के छ भने दोषीहरू पटके यौन दुराचारी हुन्। मर्कस् अष्ट्रिया, किलिन्के जर्मनी र केन्नेथ अमेरिकामा बाल यौन दुराचारमा मुछिएका व्यक्ति हुन्। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार, उनीहरू यौन दुराचारकै लागि नेपाल आएका हुन्। पि–७४०१९०१ नम्बरको राहदानी बाहक मर्कस् पछिल्लो तीन वर्षमा चार पटक नेपाल आएको अध्यागमन विभागको अभिलेखले देखाउँछ।

अल्बर्ट फ्रेड किलिन्के

अपराधशास्त्री रजितभक्त प्रधानाङ्ग सहयोग वा उद्धारको बहानामा यौन शोषण गर्न नेपाल आउने विदेशीको संख्या बढेको बताउँछन् । उनका अनुसार थाइल्याण्ड, भियतनामलगायतका देशले यस्तो अपराध विरुद्ध कडा कानून ल्याएपछि दुराचारीहरूले नेपाललाई सहज गन्तव्य बनाउन थालेका हुन्। बाल यौन दुराचार र बलात्कारलाई फरक अपराध मानेको नेपालमा यौन दुराचारीहरूले उम्कने कानूनी छिद्र पनि भेट्टाउने प्रधानाङ्ग बताउँछन्। बाल यौन दुराचारीलाई बलात्कार र दुराचार दुवैमा कारबाही गर्नुपर्ने उनको सुझाव छ।

इन्ड चाइल्ड प्रोस्टिट्युसन इन एशियन टुरिजमले २०१६ मा गरेको 'ग्लोबल स्टडी अन सेक्सुअल एक्सप्लोइटेसन अफ चिल्ड्रेन इन ट्राभल एण्ड टुरिजम' शीर्षकको अध्ययन प्रतिवेदनमा विगतमा पश्चिमा देशका र धनीहरूबाट मात्र बाल यौन शोषण हुने गरेकोमा अहिले बालबालिका जुनसुकै देशका जोसुकै अपराधीको निशानामा परेको उल्लेख छ। धार्मिक पर्यटक समेत यस्तो घृणित अपराधमा संलग्न हुने गरेको प्रतिवेदन बताउँछ। उक्त अध्ययनले नेपाल, कम्बोडिया, हाइटी, होण्डुरस, केन्यालगायतका बालबालिका अमेरिकी र क्यानेडियन पीडकको निशानामा पर्ने खतरा औंल्याएको छ।

नेपालमा एकदशक लामो माओवादी सशस्त्र द्वन्द्वले धरासायी बनाएको पर्यटन व्यवसायलाई उकास्ने नाममा गरिएको 'जायज/नाजायज' प्रवर्धनले पनि यस्तो आपराधिक मनोवृत्तिलाई हौस्याएको यस क्षेत्रका जानकारहरूको भनाइ छ। यौन दुराचारका आरोपीहरू पर्यटन केन्द्र ठमेलबाट पक्राउ पर्नुले पनि यो भनाइलाई बल दिन्छ। 'यौन पर्यटक' लाई खुशी पार्न केही व्यवसायीले बालबालिका प्रयोग गरेको हुनसक्ने नाम उल्लेख गर्न नचाहने एक पर्यटन व्यवसायी बताउँछन्।

केण्डलर मर्कस्

यौन दुराचारीहरूले बालबालिका खोज्न दलाल पनि परिचालन गरेको अमेरिकी नागरिक केन्नेथको मुद्दाले देखाउँछ। केन्नेथले यसका लागि काठमाडौं तारकेश्वर नगरपालिका–३, स्वयम्भूका बुद्ध पुतुवार (२२) लाई परिचालन गरेका थिए। केन्नेथका लागि १६ वर्षभन्दा कम उमेरका बालबालिका होटलमा पुर्‍याइदिएका पुतुवारले पनि चार वर्ष कैद सजाय पाएका छन्। बाल यौन दुराचारमा ४० वर्षभन्दा बढी उमेरका पर्यटक संलग्न भएको देखिन्छ।

चर्चित बेलायती म्यागजिन द इकोनोमिस्ट ले २००८, जनवरीमा माओवादी द्वन्द्वका कारण नेपालमा यौन व्यवसायीको संख्या बढेको र यौन पर्यटक आकर्षित भएको रिपोर्ट प्रकाशित गर्‍यो। दक्षिण एशियाका 'सेक्स ट्रेड' विद् जोन फ्रेडरिकलाई उद्धृत गर्दै पत्रिकाले यौन पर्यटनमा नेपाल थाइल्याण्डकै अवस्थामा पुगिसकेको उल्लेख गर्‍यो। यस्तो रिपोर्टले अप्राकृतिक मैथुनको चाहना राख्ने विदेशीको ध्यान नेपालतर्फ तान्यो नै।

बाल यौन दुराचारीका कारण सबैभन्दा बढी जोखिममा सडक बालबालिका परेको सीआईबीमा कार्यरत एसपी मीरा चौधरी बताउँछिन्। निम्न आय भएका र कम चेतनशील परिवारका बालबालिका पनि उत्तिकै जोखिममा रहेको बताउँदै भन्छिन्, “कानूनी कारबाहीको प्रक्रिया छँदैछ, अभिभावक सचेत भइदिने हो भने अपराधमा आधाभन्दा बढीले कमी आउँछ।”

प्रतिकृया दिनुहोस