कल्याणपुरमा कांग्रेस, नरहामा एमाले र मिर्चैयामा माओवादी केन्द्र
दोस्रो संविधानसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएको सिरहा क्षेत्र नं ५ मा पर्ने मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
मिर्चैया नगरपालिका प्रमुखमा माओवादी केन्द्र का श्रवणकुमार यादव ४ हजार ७३६ मत प्राप्त गरी निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम यादवले ३ हजार ९३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, सिरहाले जनाएको छ ।
यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रकै जिवछी देवीले ४ हजार ९३९ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निरसलादेवी साहले ३ हजार १४१ मत प्राप्त गरिन् ।
योसँगै माओवादी केन्द्र सिरहाका चार स्थानीय तहमा निर्वाचित भएको छ ।
सिरहाको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसक उम्मेदवार निर्वाचित भएका छन् ।
प्रमुखमा कांग्रेसका सूर्यनाथ मण्डल ४ हजार ८०८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका रामबाबु यादवले ४ हजार ६०६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा पनि कांग्रेसकै रोहणी कुमारी यादव ४ हजार ६६४ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाकै उम्मेदवार मसुदा खातुनले ४ हजार ४३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । योसँगै कांग्रेस सिरहाका दुई स्थानीय तहमा निर्वाचित भएको छ ।
यसैबीच, सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
त्यस्तै, नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामशरण यादव र उपाध्यक्षमा एमालेकै गुलावदेवी यादव निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा निर्वाचित रामशरण यादवले १ हजार ६५६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका रामसोगारत यादवले १ हजार ४७८ मत प्राप्त गरे ।
नरहा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित एमालेकै गुलावदेवीले १ हजार ८५५ मत प्राप्त गरिन् ।