डाक्टरहरु हडतालमा, देशभरका अस्पताल ठप्प
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थको सुरक्षा संवन्धि ऐनमा परिमार्जनका लागि मन्त्रिपरिषदले गरेको निर्णय फिर्ता र पहिलेका सहमति कार्यान्वयनको माग राख्दै देशभरका डाक्टरहरु हडतालमा छन् ।
डाक्टरहरुको हड्तालका कारणका देशका अधिकांश अस्पताल र स्वास्थ्य संस्था ठप्प भएका छन् । काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल लगायतका अस्पतालहरुमा बहिरंग सेवा ठप्प छ । उपचारका लागि आएका विरामीहरु यत्तिकै फर्कनुपरेको छ ।
नेपाल चिकित्सक संघको आह्वानमा अस्पतालमा सेवा ठप्प भएको हो । संघ र स्वास्थ्यमन्त्रालयबीच हिजो ५ असोज राति अबेरसम्म वार्ता भए पनि सफल भए हुन सकेन ।
गत सोमबारको मन्त्रिपरिषदले ‘चिकित्सकको चरम लापरवाहीका कारणले विरामीको मृत्यु वा अङ्गभङ्ग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यवसायिक विमा र क्षतिपूर्ति लगायतका आवश्यक विषयहरुलाई व्यवस्थित गर्न स्वास्थ्यमन्त्रालयलाई निर्देशन दिने’ निर्णय गरेको थियो ।
यसअघि संघले उक्त निर्णय फिर्ता लिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।
चिकित्सक संघका मागहरुः
१) २०७४ आश्विन २ गते बसेको मन्त्री परिषद्को बैठकले चिकित्सकहरुलाई मात्रै लक्षित गरी कानूनी राज्यको उपहास गर्दै गरिएको विवादास्पद निर्णयलाई अबिलम्ब सार्वजनिक रुपमा फिर्ता लिनु पर्ने ।
२) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथी हातपात गर्ने व्यक्ति वा समूहहरुलाई बिना धरौटी जेल चलानको प्रावधानको उक्त ऐन तथा नियमावलीमा थप गर्नु पर्ने ।
३) नेपाल चिकित्सक संघसँग नेपाल सरकारले विगतका गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन हुनु पर्ने ।