'हाम्रो छाप्रोसम्म आइपुग्दैन दशैं'
सुर्खेत इत्राम खोला किनारमा रहेको सानो घरमा श्रीमान् र छोराछोरीसँगै उमंगका साथ दशै मनाउँथिन् मनरुपा थापाले ।
तर, तीन वर्षअघि आएको बाढीले घरखेत बगाएपछि उनले शरण लिइरहेको त्रिपालको छाप्रो मुनी दशैं आएको छैन । आज घटस्थापना, मनरुपाको छाप्रोमा दशैं पसेन ।
“जमरा राख्ने ठाउँ छैन, आफन्तहरु यो विजोग शिविरमा टीका थाप्न आउँदैनन्,” मनरुपा भन्छिन, “हामीलाई पनि जान मन लाग्दैन, यो त्रिपाल मुनी दशैं नआउने रहेछ ।”
२९ साउन २०७१ मा इत्राम खोलामा आएको बाढीले मनरुपा जस्तै ९७० परिवारको उठिबास भयो । त्यसयताका तीन वर्ष उनीहरुले पाल मुनी विताइरहेका छन् ।
शिविरको बास भएपछि खोलामा वालुवा चालेर गुजरा चलाउँदै आएका मनरुपाका परिवारलाई गत असार यता वालुवा निकासी बन्द भएपछि हातमुख जोर्न धौधौ छ ।
मनरुपाको जस्तै शिविरका धेरैलाई बिहान बेलुकाको गर्जो टार्न समस्या छ । शिविरकै सुशीला नेपालीले पनि तीन वर्षयता कुनै पर्व राम्ररी मनाएकी छैनन् ।
“चाडपर्व नआए हुन्थ्यो झैं लाग्छ,” उनी भन्छिन, “न तीज आउँछ न, दशैं–तीहार ।”
६१ वर्षीय कालीबहादुर शाही परिवार–आफन्तमाझ आफू जेठो भएकोले पहिले टीका थाप्न सबै आउने गरेको भए पनि शिविरको बास भएपछि आफन्त आउन छोडेको बताउँछन् । “आउन पनि कसरी यहाँ अक्षता–जमराको जोहो गर्न सकिंदैन के ख्वाउनु,” उनी भन्छन् ।
मध्यरातमा बाढीले घर बगाएपछि छोराछोरी च्यापेर निस्किएकी ४५ वर्षीया लक्ष्मी नेपालीका श्रीमान वितेको ६ वर्ष भैसक्यो । “बाढीसँगै बगेको भए यो दुख त सहनु पर्दैनथ्यो,” लक्ष्मी भन्छिन, “छोरछोरीलाई भरपेट खुवाउनकै समस्या छ ।”
युवाहरु भारततिर
आम्दानीको स्रोत नभएपछि बाढी पीडित परिवारका युवाहरु सबै जसो ज्यालादारी गर्न भारत पुगेका छन् । शिविरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन्छन् ।
काम खोज्न हिँडेको छोरा दशैं मान्न फर्किएका छैनन् । “न घर रह्यो न परिवार,” च्यातिएको त्रिपालतिर हेर्दै मैसरा नेपाली भन्छिन् ।
तीज लगतै भारत गएका श्रीमान दशैंमा नआउने भएपछि निर्मलालाई पनि दशैंले छोएको छैन ।
पुर्नस्थापनाको पर्खाइ
घटस्थापनाका दिन बिहानै शिविरमा भेटिएकी वसन्ती नेपाली बाढी आए लगत्तै सरकारले केही राहत बाँडे पनि त्यसपछिको पुनस्र्थापना भने पूरै बेवास्ता परेको बताउँछिन् ।
सरकारले जग्गा खरिदका लागि दिने भनेको रु ५० हजारको पहिलो किस्ता रकम पनि सबै परिवारले पाएका छैनन् । पाएकाले उक्त रकम निकै कम भएको र नुन तेल किन्दै सकिएको बताउँछन् ।
“शुरुमा पाएको ५० हजार ससुराको अन्तिम संस्कार र नुन तेलमै सकियो ।” मनसराले भनिन् ।
सात करोड फ्रिज
सुर्खेतका बाढीपीडितहरूका लागि आएको बजेटमध्ये सात करोड रकम फिर्ता भएको छ । सरकारले बाढीपीडितलाई पनि भूकम्पपीडित सरह राहत दिने निर्णय गरेपछि आर्थिक वर्ष २०७३÷०७४ मा पहिलो किस्ता रुवरुप रु १० करोड २३ लाख ५० हजार विनियोजन भएको थियो ।
उक्त रकममध्ये रु ७ करोड २४ लाख ५० हजार ‘फ्रिज’ भएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
राहत रकम लिने प्रक्रिया झन्झटिलो भएको भन्दै पीडितहरू राहतका लागि सम्पर्कमा नआउँदा बजेट फ्रिज भएको कार्यालयका लेखा अधिकृत परशुराम पराजुलीले बताए ।
उनका अनुसार २५४ परिवारलाई घर निमार्णका लागि पहिलो किस्ताबापत प्रतिपरिवार रु ५० हजारका दरले रु १ करोड ३ लाख र जग्गा खरिदका लागि ३९२ घरपरिवारलाई रु १ करोड ३ लाख गरी जम्मा रु २ करोड ९९ लाख वितरण गरिएको छ ।
राहतका लागि सिफारिस गरी पठाइएका ९७० घरपरिवार मध्ये १९२ परिवार सम्पर्कमा नआएको पराजुलीले बताए ।
तीन किस्तामा राहत रकम दिइने भएकाले सरकारले पूर्ण र आंशिक क्षति भएकाहरूका लागि फरक–फरक व्यवस्था गरेको थियो । पीडितहरूले आफूहरूलाई तीन किस्तामा नभई एकमुष्ट रूपमा नै रकम दिए जग्गा किन्न सकिने बताएका छन् ।
जिल्लामा तीन वर्षदेखि विभिन्न स्थानमा अस्थायी शिविर बनाएर बसिरहेका पीडित परिवारको संख्या ९७० छ ।
लक्ष्मी भण्डारी, सुर्खेत