गरुडाका निर्वाचन अधिकृत फिर्ता बोलाइए, हिजोदेखि रोकिएको मतगणना रातिदेखि शुरु हुनसक्ने
रौतहटको गरुडा नगरपालिकाका निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले फिर्ता बोलाएको छ ।
गरुडाको वडा नम्बर ३ को वडाध्यक्षमा आफ्ना उम्मेदवार एक मतले पराजित भएपछि माओवादी केन्द्रले उक्त परिणाम आफूलाई मान्य नहुने भन्दै निर्वाचन अधिकृत परिवर्तनको माग राखेको थियो ।
माओवादी केन्द्रको अडानका कारण हिजो विहानदेखि गरुडाको मतगणना कार्य अवरुद्ध भएको छ । माओवादीले आफ्नो अडान नछाडेपछि आयोगले निर्वाचन आयोगले अधिकृत परिवर्तन गर्ने भएको हो ।
आयोगले निर्वाचन अधिकृत नविनकुमार जोशीलाई फिर्ता बोलाएको छ भने चाँडै नयाँ निर्वाचन अधिकृत पठाइने जनाएको छ । आजै राति अबेरसम्म नयाँ निर्वाचन अधिकृत आइपुगेपछि रातिदेखि नै मतगणना कार्य सुचारु हुने अपेक्षा गरिएको छ ।
वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार कृष्णकुमार सहनी ३०८ मत प्राप्त गरी निर्वाचन भएको र उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शैलदेवी सहनीले ३०७ मत प्राप्त गरेकी छन् । वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न भइसकेको छ ।
सञ्जय मित्र, रौतहट