झापाको शिविरमा मजदूरीदेखि अमेरिकामा
९ वर्षअघि पुनर्वासमा अमेरिका जाँदै गर्दा सुरज अन्योलमा थिए । भुटानबाट खेदिएर नेपाल आएपछि शरणार्थी शिविरमा जीवन जसोतसो चलेकै थियो, उनका लागि अमेरिकाको यात्रा अँध्यारोमा हाम्फाले जत्तिकै हुनपुग्यो ।
सुरज बुढाथोकी (३७) ९ वर्षको उमेरमा भुटानबाट खेदिएको परिवारका सदस्य । १८ वर्ष नेपालको शिविरमा रहँदा उनले पढाई खर्च जुटाउन टिमाई खोला किनारमा गिट्टी कुट्नेदेखि स्थानीय केटाकेटीलाई पढाउनेसम्म काम गरे ।
दक्षिण भुटानको साम्ड्रुपजोंखर जिल्लाको साम्राङ ब्लक– २०२ मा उनको घर थियो । गोठमा दुधालु गाई बाँधिएका हुन्थे, आँगनको पल्लोछेउमा परेवाको खोपी थियो ।
एकदिन अचानक स्कुलमा प्रहरीको हुल आयो । विद्यार्थीहरु भागाभाग भए । त्यो दिनदेखि सुरज, उनका दाजु सुरेश र बहिनी शर्मिला कोही पनि स्कुल गएनन् । अघिल्लो दिनसम्म पढाई भएको स्कुल भोलिपल्टदेखि ब्यारेक बन्यो ।
त्यसको केही दिनमा त उनीहरुले देशै छोड्नु पर्यो ।
सुन्निएका गोडा, कलेंटी परेका ओठ लिएर बुढाथोकी परिवार तीन दिनपछि झापाको टिमाई पुग्यो । शुरुमा दश परिवारमात्र आएका थिए, विस्तारै शिबिरमा छाप्रा थपिँदै गए ।
शिविर छोडेको ९ वर्षपछि सुरज भर्खरै २९ भदौ दिँउसो टिमाई शिबिर आईपुगे । अहिले शिविर रहेको ठाँउ झाडी भइसकेको छ ।
“अभाव के हो, मलाई राम्रोसँग थाह छ” अमेरिकाको भरमाउण्टस्थित नर्विच विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर पढिरहेका बुढाथोकी भन्छन्, “भोलि त उज्यालो होला भन्ने आशमा भोकै सुतेका दिन विर्सिएको छैन ।”
स्नातकोत्तर अध्ययनका क्रममा उनले भुटानी शरणार्थी मामिलामै शोधपत्र तयार पार्दैछन् । “म को हुँ भन्ने प्रश्नले घिसारेर मलाई यहाँसम्म ल्याएको हो” भदौरे घाममा पसिनाले निथ्रुक्क भिजेका सुरजले भने, “आफ्नै देशबाट लखेटिने, छिमेकीले बास नदिने, तेस्रोले नस्वीकार्ने र अर्कै गोलार्द्धमा पुग्नुपर्ने नियती रहेछ हाम्रो !”
सोधका क्रममा भुटानमा आधा उमेर बिताएर नेपालमा शरणार्थी जीवन विताइरहेका भुटानीसँग अन्तरक्रिया गर्न उनी नेपाल आइपुगेका हुन् ।
शुरुमा अमेरिकाको न्युहेम्सायर पुगेका सुरज हाल विल्डिङ कम्युनिटी इन न्युहेम्सायर नामकोे सामुदायिक संस्थाका संस्थापक समेत हुन् ।
यो संस्थाले सरकारले नागरिकलाई दिने सेवासुविधाको स्थानीयस्तरमा व्यवस्थापनको काम गरिरहेको छ । सुरजले भुटानी शरणार्थीका समस्याबारे अमेरिकी संसद र सरकारसँग पैरवी समेत गरिरहेका हुन्छन् ।
भुटानी शरणार्थीबारे जान्न चाहने अमेरिकी विद्यार्थी र प्राध्यापकका लागि उनी स्रोत व्यक्ति समेत हुन् ।
म्यान्चेस्टर नगरपालिकले सुरजलाई सन् २०१७ को अक्टोवरसम्मको लागि उनलाई बोर्ड सदस्य चयन गरेको छ । यसको मतलव उनले नगरका मेयरले गरेका गतिविधिको निगरानी गर्नु हो ।
यसबाहेक दुईवर्षे कार्यकालको लागि सिनेट जिन शिहिनले उनलाई अमेरिकी काउन्सिल अफ योङ पोलिटिकल लिडर मनोनयन गरेकी छन् ।
भविष्यमा नेतृत्वको संभावना देखिएका ब्यक्तिलाई सिनेटहरुको मुल्यंकनको आधारमा अमेरिकामा काउन्सिल सदस्य चयन गर्ने गरिन्छ, जुन अमेरिकी विदेश मन्त्रालय अन्तरगतको कार्यक्रम हो ।
अमेरिकामा जस्तै सुविधा भए पनि सुरजको मनमा भने भुटानका घरगोठ र साँउअक्षर चिनेको स्कुल टाँसिएको छ । आफू अमेरिकामा भए पनि भुटानमा शान्ति र विकास होस् भन्ने चाहना राख्ने सुरज भन्छन, “हामी भुटानका दुश्मन हाइनौं, मेलमिलापको माध्यमबाट गतिशिल शान्ति स्थापनाको हिस्सा बन्ने चाहना हो हाम्रो, जन्मभूमिसँग हर हालतमा जोडिन चाहन्छौं ।”
गोपाल गडतौला, झापा