टिप्पणीबिहिवार, आश्विन ५, २०७४

थरको उल्झन

हिमालखबर

मेखराज परियार
नेपालजस्तो देशमा तत्कालीन शासकहरुले राखिदिएका थर बोकेरै समानता खोज्ने हो भने दुईसय वर्षमा पनि त्यो सम्भव हुँदैन ।

काठमाडौंको टोखा नगरपालिकामा पर्ने झोर प्राकृतिक सुन्दरता र धार्मिक–सांस्कृतिक महत्वको कारणले चर्चित छ। केही समयअघि कामविशेषले एकजना साथीसँग त्यहाँ जाने अवसर पाएँ। मेरा रसाइली साथीका अधिकारी थरका कलेजकालीन साथीको घर त्यहीं रहेछ। अधिकारीजीले हामीलाई पिंढीमा राखेर मकै–भटमास, दही, काँक्रो खुवाएर घुमाउरो पारामा जातीय विभेद गरिन्। 

कम्युनिष्ट पार्टीका सदस्य रहेका मल्ल–ठकुरी मित्रको घरमै जानुपर्ने भएपछि उनले अप्ठ्यारो मान्दै 'आफ्नो थर चाहिं दशनामी या कुनै क्षेत्री भन्न' आग्रह गरे। 'नत्र घरमा अप्ठ्यारो पर्ने' उनले जनाए। त्यस्तै, कार्यक्रम परेर ललितपुरको इमाडोल पुग्दा त्यहाँकी साथीले 'चियापसलमा कसैले जात सोधे गैर–दलितका थर भन्नुहोला, नत्र गिलास पखाल्न लगाउँछन्!' भनेकी थिइन्।

संविधान, ऐन–कानूनमा जे लेखिएको भए पनि जातीय आधारमा गरिने विभेदको पर्खाल यथावत् ठडिएकै छ। नेपाली समाजमा हुने जातीय विभेद, छुवाछूत, गालीगलौज, दमनदेखि हत्यासम्मका समाचार बाक्लै आइरहन्छन्। जातीय कुप्रथा अन्त्यका निम्ति सबै समुदाय लाग्नु जरूरी छ। अन्यथा देशले चाहेको स्थायी शान्ति र उन्नति सम्भव हुँदैन।

दलितबारे गलत बुझाइ
मानिसको जात मानिस नै हो, योभन्दा पृथक् पहिचान छैन। प्रकृति, संस्कृति र राजनीतिको प्रभावले मानिसको बनोटमा भिन्नता देखा परे– चुच्चो नाक, चेप्टो नाक, अग्लो वा होचो कद, गोरो वा कालो वर्ण, खैरो वा कालो कपाल, गडेका वा चिम्सा आँखा इत्यादि। उत्पत्तिका हिसाबले मानिस मंगोलियन, आर्यन, द्रविड, निग्रो आदि हुन्।

विभिन्न कालखण्ड र स्थानमा शासकहरूले आफूलाई उच्चकोटिको 'नश्ल' बताउँदै आए पनि मानवबीचका जातीय भिन्नता कृत्रिम हुन्। कोही मानवजाति न्यून, अछूत, दोस्रो दर्जाको भन्ने हुँदै होइन। मानवबीचको कृत्रिम विभेदी व्यवस्था विश्वभर थियो। राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, समृद्धि प्राप्त गरिसकेका देशमा यस्तो व्यवस्थाको अन्त्य भइसक्यो। हिन्दू वर्णाश्रम व्यवस्था भएका मुलुकहरूमा मात्र जातीय विभेद र उँच–नीचको पर्खाल बलियो छ।

हिन्दू वर्णाश्रम व्यवस्थाका शासकहरूले सम्पत्तिको हकबाट समेत बन्चित गराएकाले दलित एक वर्ग–समुदाय हो। ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र गरी चार जातमा विभाजन गरियो। हालको दलित शूद्रकै परिवर्तित नाम हो। यो शब्दका सर्जक भारतका संविधान निर्माता डा. भीमराव अम्बेडकर हुन्। तथापि, उनले संविधानमा दलित शब्द राखेनन्।

नेपालमा दलित भनेको खस–आर्य समुदायभित्रकै जातीय समूह हो भन्ने गलत बुझाइ छ। दलित समुदायको उत्पत्ति, वंश र पहिचानको सवालमा बौद्धिक समुदाय नै द्विविधामा छ। खासमा मनुस्मृतिबाट निर्देशित आर्य शासकहरूले बल र छलमा तल परेकाहरूलाई 'शूद्र दास' बनाए, सम्पत्तिबाट बन्चित पारे। २०२० सालमा मुलुकी ऐन आउनुअघिसम्म शूद्रलाई छुवाछूत नगरे कानूनी सजाय हुने व्यवस्था थियो। यहाँसम्म कि शूद्रले पुराण सुने/लेखे सिसा पगालेर कानमा हाल्ने, आँखा फोडिदिने र शिक्षा लिएको रहेछ भने शिरछेदन गरिदिने क्रूर राज्यको कानूनी अभ्यास भयो।

शासकहरूले बल र छलमा तल पारेकै कारण दलित समुदायलाई शूद्र (अछूत) बनाइयो। यसकारण भन्न सकिन्छ, अहिलेका दलित समुदायका विभिन्न थर उनीहरूको पहिचान होइन। हालका कथित दलितहरूको शारीरिक बनोट, कतिपय थर, गोत्र, संस्कार, बोली आदि आर्य समुदायसँग मिल्नुको कारण चाहिं युगौंयुगको अन्तरघूलन र रक्त सम्मिश्रण हो।

अहिले दलित आन्दोलनले उठाउँदै आएको दुईवटा महत्वपूर्ण मुद्दा हुन्– स्वाभिमान र अधिकार। तर, यसमा दलित समुदायको थर परिवर्तन र बसाइँसराइको विषय समेटिन सकेको छैन। दलितका दमाई, कामी, सार्की, गाइने, दुसाध, चमार, मुसहर इत्यादि थर नै पहिचानवादी होइनन्। तत्कालीन शासकले कतिपय थर त गलत अर्थ लाग्ने गरी राखिदिएका छन्। यिनै थर राखेर समानता खोज्ने हो भने २०० वर्षमा पनि सम्भव देखिंदैन।

एक्काइसौं शताब्दीमा पनि क्षेत्रीसँग बिहे गर्न ब्राह्मण तयार देखिंदैन भने दलितसँग कति वर्ष लाग्ला? त्यति मात्रै किन, कामीको छोराले दमाईकी छोरीसँग बिहेको स्वीकृति पाउने अवस्था छैन। तामाङको छोरालाई ज्वाईं बनाउन मगर तयार छैन, गुरुङको छोरालाई ज्वाईं बनाउन राई हुँदैन। अरूको त कुरै छाडौं, दलित–दलितबीच बिहेबारी चलाउन दलित नै तयार छैनन्।

आजको युगमा जो–कोही व्यक्ति स्वतन्त्रता, समानता र न्याय चाहन्छ। दलित समुदायले स्वाभिमानपूर्वक जिउने हो भने थर परिवर्तनलाई महत्व दिनुपर्छ। जातीय उँच–नीचलाई चाँडै सिध्याउने हो भने बाबुको थर सन्तानले बोक्नैपर्ने चलन त्याग्नुपर्छ।

प्रतिकृया दिनुहोस