दुर्घटना रोक्न चौपाया हटाउ अभियान
झापाका युवा सवारी साधनको ठक्करबाट सडकमा मरेका चौपाया हटाएर दुर्घटना घटाउने अभियानमा जुटेका छन् ।
२६ माघ २०७१ मा झापास्थित पूर्वपश्चिम राजमार्गको संगमचोक, सतासीधाम सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भयो। अनियन्त्रित बस सडकको उत्तरपट्टि पल्टँदा आठ जना घाइते भए। दुर्घटनामा चालकको असावधानीभन्दा बढी जिम्मेवार थियो– अर्को सवारीले किचेको पाडो। पाडोलाई छल्ने क्रममा दुर्घटना भएको थियो।
यो दुर्घटनाको बीभत्स दृश्य देखेका ट्याक्सी चालक गणेश गौतम (३४) लाई लाग्यो– सडकमा मरेको पाडोलाई कसैले छेउ लगाइदिएको भए मात्र पनि अकालमा दुई जनाको ज्यान जाने थिएन। “त्यही दिनदेखि सडकमा मरेका कुकुर, बिरालोलगायतका चौपाया देखे छेउ लगाइदिने, गाउँले र प्रहरीलाई खबर गर्न थालेको हुँ”, गौतम भन्छन्।
सडकमा दुर्घटना बढाउने एउटा कारण सडकमै मारिएका वा मारेर फालिएका जन्तु पनि हुन्। यो कुरा गौतमले अन्य चालक र चिनेजानेकालाई बुझाउन थाले। विस्तारै एउटा समूह बन्यो, अभियान नै थालियो। र, २६ वैशाख २०७२ मा गौतमकै अध्यक्षतामा संस्था नै जन्मियो, जीवन चक्र समाज, नेपाल। यसमा चालक र व्यवसायीसमेत १३ जना प्रत्यक्ष संलग्न छन्।
दमक–१ का गौतम ताप्लेजुङदेखि सिराहसम्म ट्याक्सी गुडाउँदै पुग्छन्। यसक्रममा उनले मरेका ८३ वटा जनावर सडकको छेउ लगाएका छन्। “यात्रुले केही समय पर्खन माने भने सडक किनारमा खाल्डो खनेर पुरिदिने पनि गरेको छु”, उनी भन्छन्।
अभियानमा सहभागी अर्का चालक बेनुराज प्रसाई (३०) ले पनि मरेका ४५ वटा जनावर छेउ लगाइसकेका छन्। सडकमा सवारी साधनको ठक्करबाट मरेको जनावरलाई पुनः अरू सवारीले किच्नु मानवीय कार्य नभएको बताउँदै उनी भन्छन्, “मरिसकेको जनावरलाई सडकबाट पाखा लगाउनुले दुर्घटना कम हुने मात्र हुँदैन, न्यूनतम मानवीय सभ्यता पनि झल्कन्छ।”
गौतमका भनाइमा, जिल्लाको ५० किलोमिटरको राजमार्ग खण्डमा दैनिक पाँचवटा जति चौपाया दुर्घटनामा मारिन्छन्। छाडा वा जंगली चौपाया सडकमा मारिएको र यसले दुर्घटना बढाएको बारे ट्राफिक प्रहरीले समेत खासै वास्ता राखेको देखिन्न।
संस्थाले चौपायाबाहेक दुर्घटना नियन्त्रणका लागि जेब्राक्रसबाट मात्र बाटो काट्न आग्रह गरिएका स्टिकर टाँस्ने, हेल्मेट राम्ररी लगाएर मात्र मोटरसाइकल चलाउने र रक्सीले मातेर सवारी नचलाउने आग्रहसहितका कार्यक्रमसमेत गरिरहेको छ।
समाजका सदस्य होटल व्यवसायी विमल शर्मा (३९) फलफूलका बोक्रा, पानीका बोतलजस्ता स–साना चीजले पनि पैदलयात्रु, साइकल र मोटरसाइकल चालकलाई दुर्घटनामा पारेको बताउँछन्। “सुन्दा सामान्य लाग्ने यस्तो खराब प्रवृत्तिप्रति बेलैमा सचेत हुनुपर्छ”, उनी भन्छन्।
गोपाल गडतौला, झापा