बाराका दुई उपमहानगरको मत गणना सकिन एक साता लाग्ने
बारा जिल्लाका १६ स्थानीय तहमध्ये दुई उपमहानगरपालिकाको मतगणना सम्पन्न हुन अझै एक हप्ता लाग्ने देखिएको छ ।
३ असोज विहानदेखि शुरु भएको जीतपुर–सिमरा उपमहानगरको मतगणना ५ असोज साँझसम्म करिब २० प्रतिशत मात्रै सकिएको छ ।
यो उपमहानगरमा जम्मा ५६ हजार ६६० मतदाता रहेकोमा ४४ हजार ८१७ मत खसेको थियो । जसमध्ये आज, ५ असोज साँझसम्म ३४ हजार ९६४ मत मात्रै गणना गरिएको छ । यसहिसाबले सम्पूर्ण मत गन्न अझै एक साता लाग्ने छ ।
निर्वाचन अधिकृत भीमप्रसाद भुर्तेल भने शुरुका दिनमा ढिलो भए पनि अब कुनै बाधा नआए ४ देखि ५ दिनमा मतगणना सम्पन्न हुने बताउँछन् ।
उता जिल्लाको कलैया उपमहानगरमा ३ असोज दिउँसोबाट शुरु भएको मतगणना सम्पन्न हुन अझ धेरै समय लाग्ने देखिन्छ ।
यसअघि निर्वाचन आयोगले ५ दिनभित्र २ नम्बर प्रदेशका सबै स्थानीय तहको मतगणना सम्पन्न हुने दाबी गरे पनि उक्त अवधिमा मतगणना सम्पन्न हुन गाह्रो हुने मतगणनास्थलमा रहेका दलका प्रतिनिधिहरु बताउँछन् ।
यद्यपि बाराका अन्य नगरपालिका र गाउँपालिकामा भने अबको तीनदेखि चार दिनभित्र मतगणना सम्पन्न हुने अधिकृत भुर्तेलले बताए ।
अहिले प्रत्येक मतगणनास्थलमा ५ समूहमा मतगणना भईरहेको छ भने भोलि ५ असोजदेखि ६ समूह बनाई गणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले गणनाका क्रममा एउटै दलका धेरै प्रतिनिधि सहभागी हुने र उनीहरुबीचकै विवाद र अलमले समय धेरै लाग्ने गरेको जनाएको छ । निर्वाचन कार्यालयले समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई समेत मतगणना ‘अपडेट’ गराइरहेको छैन । निर्वाचन अधिकृतहरुका मोबाइल फोन स्वीच अफ गरिएका छन् भने ल्याडलाइन फोन उठाइएको छैन ।
उत्तरमा एमालेको अग्रता , दक्षिणमा त्रिपक्षीय प्रतिस्पर्धा
बाराको उत्तरी क्षेत्रमा स्थानीय तहमा एमाले अगाडि देखिएको छ भने दक्षिणमा ठूला तीन दलसँगै राजाप र संघीय समाजवादी प्रतिस्पर्धामा छन् ।
जीतपुर–सिमरा उपमहानगरमा एमालेले अग्रता लिएको छ भने उसलाई माओवादी केन्द्रले पछ्याइरहेको छ ।
यहाँ हालसम्म नेपाली कांग्रेस तेस्रो स्थानमा छ । गणना सम्पन्न भएकामध्ये वडा नं.२२ र २३ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् भने एउटामा एमाले र एउटामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
निजगढ नगरपालिकामा शुरुमा एमाले अगाडि देखिएको भए पनि अहिले कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेकोे निजगढमा मेयरमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले गठबन्धन गरेका हुन् ।
निजगढको वडा नं. १ , १२ र १३ नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने २ र ३ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
यसैगरी कलैया उपमहानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिईरहेको छ ।
हिजो अबेरबाट मतगणना शुरु गरिएको कलैयामा २ सय मतन्तरले नेकपा एमाले पछि छ । कांग्रेस तेस्रो स्थानमा छ ।
उता कोहल्बी नगरपालिकामा पनि एमाले नै अगाडि छ भने कांग्रेस दोस्रो स्थानमा छ ।
पचरौता नगरपालिकामा भने राजपा अगाडि छ ।
त्यसैगरी नेपाली कांग्रेसले अग्रता लिइरहेको महागढीमाई नगरपालिकाको १ नम्बर वडामा कांग्रेसको प्यानल नै निर्वाचित भएको छ भने, २ नम्बर वडामा माओवादी केन्द्रको प्यानल निर्वाचित भएको छ ।
पचरौता नगरपालिका, आदर्शकोतवाल गाउँपालिका, सुवर्ण गाउँपालिका, फेंटा गाउँपालिकामा पहिलो र दोस्रो कांग्रेस र एमाले छन् ।
बिश्रामपुर गाउँपालिका, परसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका र करैयामाई गाउँपालिकामा राजपा र संघीय फोरम अगाडि छन् ।
श्याम गुप्ता, बारा