मन्त्रिपरिषदको निर्णय फिर्ता नभए देशभरका अस्पताल ठप्प पार्ने चिकित्सक संघको चेतावनी
नेपाल चिकित्सक संघले ‘चिकित्सको लापरवाहीले विरामीको मृत्यु भएमा सम्बन्धित डाक्टरले नै क्षतिपूर्ति दिनुपर्ने’ व्यवस्था सहितको कानून बनाउन मन्त्रिपरिषदले दिएको निर्देशन फिर्ता नलिइए पर्सी ६ असोजदेखि देशभरका सम्पूर्ण अस्पताल ठप्प पार्ने चेतावनी दिएको छ ।
नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयमा आज बसेको संघको बृहत बैठकले मन्त्रिपरिषद्को २ असोजको बैठकले चिकित्सकहरुलाई लक्षित गरी गरेको निर्णय फिर्ता लिन आग्रह गरेको हो ।
उक्त निर्णय फिर्ता नलिए ‘आश्विन ६ गतेदेखि लागू हुने गरी देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथी हातपात गर्ने व्यक्ति वा समूहहरुलाइ ‘बिना धरौटी जेल चलान’ को प्रावधान थप गर्न पनि माग गरेको छ ।
त्यसैगरी संघसँग सरकारले विगतका गरेका सम्झौताहरु कार्यान्वयन गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा उपचारको क्रममा लापरवाही भई विरामीको मृत्यु भएको खण्डमा बैज्ञानिक अनुसन्धानबाट लापरवाही गरिएको ठहरिएमा, उक्त ऐनमा उल्लेखित समन्वय समितिले क्षतिपूर्ति भराईदिने कुरा स्पस्ट व्यवस्था हुँदा हुँदै पनि मन्त्रिपरिषदले गरेको हालको निर्णयले चिकित्सकहरुको मान मर्दन गर्ने र पेशेवर सामाजिक अपराधिहरुको मनोबल बढाउने संघले ठहर गरेको छ ।