एकै दिन दुबै युवा टोली पराजित
यू-१८ साफ च्याम्पियनसीप र एएफसी यू–१६ छनौटअन्तर्गतका दुबै खेलमा नेपाली युवा टोली पराजित भएका छन् । यू–१८ साफ च्याम्पियनसीपमा भुटान र एएफसी यू-१६ छनौटमा इराकले नेपाललाई पराजित गरेको हो ।
४ असोजमा भुटानको थिम्पुमा सम्पन्न यू-१८ साफ च्याम्पियनसीपको पहिलो खेलमा भुटानले नेपाललाई १–० गोलले पराजित गरेको छ । भुटानका लागि खेलको ८७ औं मिनेटमा वार्गेन वाङचुकले गोल गरेका थिए । यो जितसँगै भुटानले ३ अंक पाएको छ ।
श्रीलंका र पाकिस्तान सहभागी नभएकाले च्याम्पियनसीपमा पाँच टिमले प्रतिस्पर्धा गरिरहेका छन् । अब नेपालले ६ असोजमा माल्दिभ्स, ९ असोजमा बंगलादेश र ११ असोजमा भारतसँग खेल्ने छ ।
यस्तै, काठमाडौंको हलचोक मैदानमा ४ असोजमै भएको एएफसी यू–१६ छनौट खेलमा साविक विजेता इराकले नेपाललाई १–० गोलले हराएको छ । इराकका लागि खेलको ६८ औं मिनेटमा घजी तालिबले गोल गरेका थिए ।
नेपालले अर्को खेल ६ असोजमा भारतसँग खेल्नेछ । समूह ‘डी’ मा नेपालसँगै इराक, भारत र प्यालेस्टाइन रहेका छन् ।